ऊर्जा मन्त्रीलाई चुप लाग्नुस् भनेपछि …

काठमाडौँ । जल तथा ऊर्जा आयोगले सोमवार संघीयतामा पानीको बाँडफाट विषयमा राजधानीको होटल हिमालयमा एउटा कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सभामुख कृष्णबहादुर महरा, अतिथिमा ऊर्जा मन्त्री वर्षमान पुन, संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदी र अष्ट्रेलियाका पूर्व जलस्रोत मन्त्री कार्लेन मेबाल्ड अतिथि बक्ताको रुपमा उपस्थित थिए ।


अष्ट्रेलियाका पूर्व जलस्रोत मन्त्री कार्लेन मेबाल्डले आफ्नो देशको अनुभव सहभागी सबैले बुझ्ने गरी प्रस्तुत गरे । आयोगका सहसचिव डा. ऋषिराम शर्माले नेपालको हालको प्रादेशिक जलस्रोतको उपलब्धता र संवैधानिक व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरे ।


बक्ताको पालोमा सबैले बोलिसकेपछि ऊर्जा मन्त्री वर्षमान पुनले सभ्य तथा सरल भाषामा जलस्रोतको बाँडफाट गर्नुपर्ने र उत्तरगंगा जस्ता जलाशययुक्त आयोजना निर्माण गर्नुपर्ने बिचार राख्न नपाउँदै कार्यक्रममा सहभागी एक महिला सांसद मन्त्री पुनलाई उत्तरगंगाको विषयमा धेरै नबोल्न र अब चुप लाग्न भन्दै एक्कासी झोक्किएको आवाज आयो ।

मन्त्री पुनलाई उत्तरगंगाको बारेमा बढी नबोल्न र चुप लाग्न भन्ने गण्डकी अञ्चलबाट नेपाली कांग्रेसबाट संघीय संसदमा प्रतिनिधित्व महिला सांसद हुन् । उनले कार्यक्रममा भनिन्, मन्त्री भएर उत्तरगंगाको बारेमा अब जथाभाबी नबोल्नुहोस् । उत्तरगंगा मन्त्रीको होइन, त्यो गण्डकी प्रदेशका मानिसको हो । त्यो अरु प्रदेशका मानिसको होइन । त्यसको निर्णय गण्डकी प्रदेशका मानिसले गर्ने हो, तपाईले होइन । आउँदा दिनमा यस बारे धेरै र जे पायो त्यही योजनाको सपना नदेखाउन मैले भनेको छु । यसमा तपाई सचेत हुनुहोला अब ।

ती सांसदको यस्तो अभिव्यक्ति पछि कार्यक्रममा एकाएक स्तब्ध भयो । उहाँले उत्तरगंगाको पानी अन्यत्र डाइभर्ट गर्न नपाइने, त्यसो गरेमा गण्डकी प्रदेशका जनताले ऊर्जा मन्त्रीलाई नछाड्ने भनेपछि कार्यक्रमको वातावरण झन अर्कैतिर मोडियो ।


कार्यक्रममा केही सांसदले कालीगण्डकीको पानी तिनाऊमा लैजाने कुराको पनि बिरोध गरे । कार्यक्रममा अष्ट्रेलियाका पूर्व जलस्रोत मन्त्री कार्लेन मेबाल्डले करिब १०० वर्ष अघि अष्ट्रेलियाले निकै उतार चढाव बीच हाल व्यवस्थापन गर्न सकेको अनुभव सुनाए ।

उनले अष्ट्रेलियाको अनुभवबाट नेपालले केही सिक्नुपर्ने र जलस्रोतको बाँडफाँटमा संघ, प्रदेश र स्थानीय तहबीच झकडा र बैमनस्यता हुने वातावरण सिर्जना नहुने वातावरण बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here