आलिताल महोत्सव शुरु

आलिताल । डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने आलितालमा महोत्सव शुरु भएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ ।

आलिताल गाउँपालिकामा पहिलो पटक ‘आलिताल पर्यटन, सांस्कृतिक तथा खेलकूद महोत्सव २०७६’ भन्ने मूल नारासहित महोत्सव शुरु गरिएको हो । सुन्दर यस ताललाई चुरेका डाँडाले घेरेको छ । समुद्री सतहबाट करीब ८०० मिटर उचाइ महाभारत पर्वत शृङ्खलाको फेदमा रहेको ताल एक हजार १७५ मिटर लम्बाइ तथा करीब ४०० मिटर चौडाइ रहेको छ ।

गाउँपालिकाले सुदूपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका सबैभन्दा ठूलो तालका रुपमा रहेको आलितालमा पहिलो पटक महोत्सवको आयोजना गरेको हो । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले पहाडी डाँडामा रहेको यो ताललाई पर्यटीय गन्तव्य बनाई प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको आलिताललाई देश–विदेशमा चिनाउने तथा यस क्षेत्रको आर्थिक उन्नतिमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक लोकेश महराले जानकारी दिनुभयो । स्थानीय कला, संस्कृति, वेशभूषालगायत कृषि तथा पशुजन्य उत्पादन र स्थानीय खानाका परिकार प्रदर्शनीमा रहेका छन् ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारबाट गायन, नृत्य तथा विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम तथा ‘गाउँपालिका अध्यक्ष कप’ खुला भलिबल र गाउँपालिकास्तरीय महिला भलिबल प्रतियोगितासमेत आयोजना गरिएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here