भक्तपुर । भक्तपुर नगरपालिकाले आजदेखि शैक्षिक ऋण वितरण शुरु गरेको छ ।
नगरपालिकाले नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजदरमा रु पाँच लाखसम्मको शैक्षिक ऋण दिन थालेको हो ।
नगरपालिकाले आज आयोजना गरेको शैक्षिक ऋण वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रतिविद्यार्थी रु पाँच लाखसम्म ६ प्रतिशतको सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था गरिएको बताउनुभयो ।
नगरपालिकाले चिकित्सा क्षेत्रमा उच्च जनशक्तिको अभावलाई ध्यानमा राखी दुई जनालाई एमबिबिएस पढ्न छात्रवृत्ति दिने निर्णय गरिएको उहाँले बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित क्याम्पसमा देशभरका विद्यार्थीले सहुलियत दरमा गुणस्तरीय शिक्षा प्राप्त गरिरहेको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख रजनी जोशीले इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषा विषय पढ्ने विद्यार्थीलाई आकर्षित गर्न नगरपालिकाले छात्रवृत्ति प्रदान गर्दै आएको बताउनुभयो ।