दार्चुला । जिल्लाको उत्तरी त्रिदेशीय सीमा क्षेत्रमा बस्ने प्रहरी चुहिने भवनमा बस्न बाध्य छन् । गत साता नेपाली सेनाको हेलिकोप्टरमार्फत व्यासको सीतापुल पु¥याइएका प्रहरी चुहिने भवनमा बस्न बाध्य छन् ।
सीतापुलको प्रहरी चौकीलाई भेडा राख्ने गोठ बनाइएको छ । प्रहरी गत मङ्सिरमा दुम्लीङ झरेको मौका छोपी स्थानीयले चौकीमा भेडा राखेको पाइएको हो । भेडाको गोबरले भरिएको चौकीभित्र अहिले प्रहरीको बास छ । सीतापुल प्रहरी चौकीमा कार्यरत प्रहरी जीर्ण भवनमा बस्न बाध्य भएका छन् ।
सामरिक महत्व बोकेको व्यास गाउँपालिकाको–१ छाङ्गरुस्थित सीतापुलका प्रहरी त्यही चुहिने भवनमा त्रिपाल लगाएर बस्ने तयारी गरिएको चौकीका इन्चार्ज लोकेन्द्रसिह पुजाराले बताउनुभयो । भारतसँग सीमा जोडिएका सीतापुल नजिकै नेपाल प्रहरीको चौकी छ । चौकी बाहिर बोर्ड पनि छैन । भत्किन लागेको घर निर्माणमा कसैले चासो नदिँदा जोखिम मोलेरै प्रहरीले ड्युटी गर्नुपरेको यहाँ कार्यरत प्रहरीको गुनासो छ ।
“झरी शुरु हुन थाल्यो, चुहिने भवनका लागि प्लास्टिक खरिद गरेर ल्याएका छौँ”, उहाँले भन्नुभयो, “एकातिर भवन जीर्ण छ, चुहिन्छ, अर्कोतिर भित्र सबै गोबर छ, टालटुल गरेर बस्ने बनाउँदै छौँ ।” सीमा क्षेत्रमा खटिने प्रहरी जीर्ण भवनमा त्रासैत्रासमा रात बिताउँदै आएका हुन् । हरेक हिसाबले सीतापुल प्रहरी चौकी जोखिममा रहेको छ ।
यस्तै व्यासकै सीमा प्रहरी चौकी तिङ्कर झन जीर्ण छ । भवनको छाना पुरै उडाएको छ । प्रहरी बस्ने भवनको छाना नै छैन । त्यही जीर्ण छाना नभएको चौकीमा प्रहरी सरेका छन् । छाङ्गरुबाट आधा प्रहरी तिङ्कर सरेका छन् । चौकीमा खानेपानीको समेत अभाव छ । बर्खा लाग्ने बित्तिकै उर्लेर आउने तिङ्कर खोलाको चिन्ता, पानी पर्दा भवन नै भत्किने जोखिममा प्रहरी बसेका छन् । अहिले यार्सागुम्बाका कारण यस क्षेत्रमा चहलपहल बढेको छ ।
भौगोलिक विकटताका कारण सबै ठाउँमा प्रहरीको सुरक्षा दिन सकिने अवस्था छैन । तिङ्कर प्रहरी चौकी तिब्बतसँग सीमा जोडिएको क्षेत्र हो । हाल छाङ्गरुको सीतापुलमा सात तथा तिङ्करमा १२ जना प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो ।