चितवनमा वन्यजन्तु आक्रमणबाट १२ को मृत्यु

काठमाडौँ । संसारमै दुर्लभ मानिएका वन्यजन्तुको राम्रो बासस्थान मानिन्छ, चितवन राष्ट्रिय निकुञ्ज । शून्य शिकार वर्ष मनाएर सरकारले एकसिँगे गैँडा संरक्षणमा उत्कृष्ट काम गरेको बताएको छ ।

निकुञ्जमा वन्यजन्तुको उपस्थिति बढ्दै जाँदा संरक्षित क्षेत्र भित्र पानीको स्रोत, घाँसे मैदानको व्यवस्थापन हुन नसक्दा वन्यजन्तुहरु मध्यवर्ती र बस्तीतिर आउन थालेका छन् । जसले गर्दा मानव वन्यजन्तु द्धन्द्धका घटना दिनप्रतिदिन वृद्धि भइरहेका छन् ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु भएको थियो ।

घिमिरेका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र हात्तीको आक्रमणबाट छको मृत्यु भएको हो । तीमध्ये १० मध्यवर्ती क्षेत्रमा र दुई निकुञ्ज क्षेत्रमा भएका घटना हुन् ।
मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट आक्रमण भएमा क्षतिपूर्ति दिने व्यवस्था रहेको छ भने निकुञ्जभित्रै भएका घटनाको क्षतिपूर्ति दिइँदैन ।

निकुञ्जका अनुसार चालू आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ३० घाइते भएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा ३१ घाइते भएका थिए ।

सरकारले निकुञ्ज बाहिर वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको परिवारलाई रु १० लाख र घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्दै आएको छ । त्यसैगरी बालीनाली क्षति भएमा अधिकतम रु १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था छ ।

घिमिरेका अनुसार विगत वर्षको समेत गरी चालू आर्थिक वर्षमा रु एक करोड २८ लाख क्षतिपूर्ति रकम वितरण गरिसकिएको छ । मृत्यु भएकाको एक महीनाभित्रमा क्षतिपूर्ति दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । विगतका वर्षमा क्षतिपूर्ति पाउन छ महीनाभन्दा बढी समय लाग्ने गर्दथ्यो ।

मध्यवर्तीका बासिन्दा घाँस, दाउरा, खर, निगुरोलगायतका वस्तु लिन जङ्गल जाने गर्दछन् भने नदीमा माछा मार्न जाने गर्दछन् । सोही क्रममा एक्कासी जम्काभेट हुँदा वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् ।

वन्यजन्तु निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा आउने क्रम बढ्नु र स्थानीय पनि जङ्गल जाने क्रम बढ्नुले आक्रमणको घटना बढी भएको घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here