डोटीका युवा नेता पुष्करको शव भेटियो

डोटी । गएको जेठ १३ गते सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता हुनुभएका युवा सङ्घका नेता पुष्कर सिंहको शव २६ दिनपछि आज बिहान फेला परेको छ ।

आदर्श गाउँपालिका–५ निवासी नेता सिंह आफ्नै गाउँलेको मलामी गएको समयमा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता हुनुभएको थियो । पैँतालिस वर्षीय सिंह बेपत्ता भए पछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेकपाकका नेता तथा कार्यकर्ता र स्थानीयवासी उहाँको खोजीमा लागे पनि फेला पर्न सकेका थिएन् ।

शुक्रबार बिहान शिखर नगरपालिकामा–१ कालागाढ नजिक रहेको सालमुनि मन्दिर छेउमा सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता लालबहादुर धामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सालमुनी मन्दिर नजिक शव बगिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि हामीलाई खबर गरेपछि हाम्रो टोली शव भएको ठाउँमा पुगिसकेको छ, मृतक सिंहका घरपरिवारसँग खबर गर्दैछौँ ।” अहिले प्रहरी, नेकपाका नेता तथा स्थानीयवासीहरु शव फेला परेको स्थानमा पुगिसकेका छन् ।

परिवारिक सल्लाह पश्चात सिंहको अन्त्यष्टि गरिने विषयमा सल्लाह भईरहेको नेकपाका जिल्ला अध्यक्ष भक्तबहादुर मल्लले जानकारी दिनुभयो । त्यस्तै नेता सिंह बेपत्ता हुनुभन्दा एक हप्ताअघि सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता हुुनुभएकी शिखर नगरपालिका–४ बस्ने १६ वर्षीया धर्माकुमारी महराको भने अहिलेसम्म शव फेला परेको छैन । उहाँको शव खोजीका लागि स्थानीय प्रहरी प्रशासन अहिलेसम्म लागि परेपनि फेला पार्न नसकेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here