लगानी सम्मेलनमा ६४ करोडदेखि साढे तीन खर्बका ६६ परियोजना प्रश्ताव

काठमाडौँ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प अगाडि सारेको सरकारले आयोजना गरेको लगानी सम्मेलनमा साना देखि ठूला लगानी गर्न सकिने दर्जनौँ परियोजनालाई नेपालले अघि सार्ने भएको छ ।

ठूला आयोजनामा विदेशी लगानी भित्र्याउने र समृद्ध राष्ट्र निर्माणको आधारशिला तयार पार्ने लक्ष्यका साथ सरकारले सो सम्मेलन आयोजना गरेको हो । सम्मेलन यही चैत १५ र १६ गते हुने भएको छ ।

४० देशका ६०० भन्दाबढी लगानीकर्तालाई नेपाल भित्र्याएर लगानीको वातावरण बनेको जानकारी दिने मात्रै सम्मेलनको उद्देश्य नभइ ६६ आयोजनाका सूचीसमेत प्रस्तुत गरेर लगानीका लागि आर्कषित गर्ने अभिप्राय सरकारको छ । सम्मेलनमा रु ६४ करोडदेखि रु तीन खर्ब ५० अर्बसम्मका परियोजना प्रस्तुत गरिनेछ ।

सम्मेलनमा ऊर्जा, भौतिक पूर्वाधार, कृषि , सूचना प्रविधि, ओद्योगिक, शिक्षा र स्वास्थ्य, पर्यटनलगायत क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । मुलुकको समृद्धिको प्रमुख आधारको रुपमा रहेको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी आठ ठूला परियोजना पनि छनोट गरिएको छ । त्यसमा नलगाड जलविद्युत् आयोजना, एआर–६, सुनकोशी दोस्रो र तेस्रो, तमोर जलाशयुक्त आयोजना, पश्चिम सेती, तल्लो अरुण, पश्चिम सेती र एसआर–६ संयुक्तलाई प्रमुख आयोजनाको रुपमा राखिएको छ । बोर्डका अनुसार रु ३१ खर्ब बराबरको परियोजनाको सूची गतआइतबार मात्रै टुङ्गो लगाइएको हो ।

सम्मेलनको संयोजन गरिरहेको लगानी बोर्डले हाल निर्माणाधीन अवस्थामा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको पछिल्लो अवस्थाबारे सम्मेलनमा जानकारी गराउने भएको छ । यस्तै निर्माण गरिने तयारीमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना पनि अर्को आकर्षणको विषय बन्ने भएको छ ।

अघिल्ला सम्मेलनमा आयोजनाको अवस्थाका बारेमा जानकारी नदिइ केवल सैद्धान्तिक रुपमा मात्रै प्रस्तुत गर्ने गरिएकामा यस पटकको सम्मेलनमा भने लगानीकर्तालाई परियोजनाको सम्पूर्ण जानकारी र अवस्थाबारे समेत अवगत गराइनेछ । यसपटकको सम्मेलन परियोजनाको विविधता पनि भएकाले विगतका सम्मेलन भन्दा फरक रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको भनाइ छ ।

सम्मेलन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here