जाजरकोट । प्रकृति र जडीबुटीको हवका रुपमा स्थापित डोल्पामा पर्यटक भित्र्याउन सहजताका लागि हवाई मार्ग थप गर्न लागिएको छ । अहिले उडान हुदै आएको नेपालगञ्ज र सुर्खेतबाट मात्र पर्यटक डोल्पा आउन समस्या भएको भन्दै अब पोखराबाट डोल्पा आउनका लागि मार्ग थप्न लागिएको हो ।
पोखराबाट नेपालगञ्ज हुँदै डोल्पा आउँदा रुट लामो भएका कारण पर्यटकको यात्रामा समस्या भएको भन्दै सहजता लागि पोखराको रुट प्रयोग गर्न पहल थालिएको पूर्वमन्त्री एवं सांसद सत्य पहाडीले बताउनुभयो । अहिले नेपालगञ्जबाट जाजरकोट हुँदै स्थलमार्गबाट डोल्पा आउन सकिने भए पनि बीचबीचमा यात्रा गर्दा सास्ती भोग्नुपरेकाले पर्यटकले डोल्पा आउन कम इच्छा देखाएको उहाँले बताउनुभयो ।
डोल्पामा गते आर्थिक वर्षमा मात्र दुई हजार ८६० पर्यटकले डोल्पाको भ्रमण गरेका छन् । त्योभन्दा आन्तरिक पर्यटकको सङ्ख्या अत्यन्तै कम रहेको छ । विदेशीले मात्र डोल्पाको बढी भ्रमण गर्ने गरेका अभिलेखमा उल्लेख छ । डोल्पाको पर्यटन क्षेत्रलाई थप विकास गरी शे–फोक्सुण्डो ताल, उपल्लो डोल्पाको क्रिष्टल हिमाल, आदिम कालका गुम्बालगायतको संरक्षण गरी जिल्लालाई पर्यटन मार्गका रुपमा स्थापित गर्न सकिने नेपाल कम्युनिष्ट पाटी(नेकपा) डोल्पाका इञ्चार्ज हङ्सबहादुर शाहीले बताउनुभयो ।

आगामी भदौ २४ देखि २८ गतेसम्म हुन लागेको डोल्पो महोत्सव तथा क्रिष्टल माउन्टेनको कार्यक्रमलाई सफल बनाउन स्थानीय सरकारसमेत सक्रिय भएर लाग्नुपर्ने नेकपा कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले बताउनुभयो । उहाँले डोल्पामा त्रिपुरासुन्दरी, शे–फोक्सुण्डो, शे–गुम्बा, धो–त्राव बस्ती (अग्लो बस्ती) मरिम्ला नाका, ठागे पाटन, मागमारा पाटन, रुप पाटन, गुम्बातारा स्थित गुम्बाहरु, भिजेर, कु–गाउँ संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै समुन्द्री सतहबाट १५२५ मिटरदेखि सात हजार ६२५ मिटरको उचाइमा रहेका डोल्पाको खस तथा मष्टो संस्कृति, तराली संस्कृित, डोल्पो संस्कृति, बुद्ध धर्म, खस भाषा, काइके भाषा (विश्वमा कत्तै नवोलिने भाषा), डोल्पो भाषा (पाइकेभाषा), शे–गोम्पा, पुथा हिमाल, कान्जिरोवा, धवलागिरि, मुकोट डाँफेसेल, नोर्वुगाङ्ग, शे–शिखर, चुरेन हिमाल, फोक्सुण्डो झरनासमेत रहेका छन् ।
त्यस्तै धार्मिक स्थलमा शे–रिवो, कुलापासाङ, बुद्धरिवो, पावरी लगायतका हजारौँ वर्ष पुराना धार्मिक स्मारक शे–गुम्वा, साम्लिङ्गबोन, रिवोभुम्बा, गगर लाभ्राङ्ग, बोनछोवा, याङ्गजेर प्रचारप्रसार गर्नु मुख्य मुद्दा बनेको छ । यार्सागुम्बा लगायतका बहुमूल्य जडीबुटी डोल्पाका मुख्य आम्दानीका स्रोत हुन् । मनोरम तथा धार्मिकस्थलको पर्यटन प्रर्वद्धन गरी पर्यटक भित्र्याउन सके डोल्पाको विकासमा थप टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताउनुभयो ।





































