रसुवा । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको छ । बालिका हत्या गर्ने नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहान विद्यालय गएकी सुमिना साँझसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यले खोजी सुरु गरेको थियो । परिवारका सदस्यको निवेदनका आधारमा प्रहरीले खोजी गर्दा कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा मंगलबार बालिकाको शव भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी इन्द्र सुवेदीका अनुसार पक्राउ परेकी सपनाले सुमिनाको हत्या गरेको स्वीकार गरिसकेकी छन् । सपनाले बालिकाको कानको मुद्रा निकालेपछि बालिकाले आमासँग भन्दिन्छु भनेपछि डोरीले घाँटी कसेर हत्या गरेको प्रहरी सामु स्वीकार गरेकी छिन् ।