काठमाडौँ । विगतमा दुई वर्ष बिभिन्न कारणले स्थगित भएको गैँडाको राष्ट्रिय गणना यो वर्ष संरक्षण साझेदार संस्थाको सहयोग र सहभागितामा सञ्चालन हुने भएको छ । सन् २०१९ मा पर्याप्त बजेट नभएर र गत वर्ष बजेट भएर पनि कोरोना सङ्क्रमणका कारण गणनाको काम हुन सकेको थिएन ।
सन् २०१९ मा तत्कालिन विभागको नेतृत्वले संरक्षण साझेदार संस्थाको भर परेर मात्र एक सिँगे गैँडाको राष्ट्रिय गणना गर्न नहुने निष्कर्ष निकालेकोले गैँडाको राष्ट्रिय गणना हुन सकेको थिएन । यो वर्ष भने हुने गणनामा थोरै मात्रामा भएपनि संरक्षण साझेदार संस्थाको आर्थिक सहयोग हुने भएको छ । ८० लाख रुपियाँ सरकारले छुट्याएको रकममा संरक्षण साझेदार संस्थाहरुले ३० लाख रुपियाँ आर्थिक सहयोग गर्ने भएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार राष्ट्रिय गैँडा गणना यस वर्ष चैत ९ गतेदेखि थालिने भएको छ । नेपालमा पर्सा, चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक सिँगे गैँडा पाइने गरेको छ । सन् २०१५ मा गरिएको गणनामा नेपालमा कुल ६४५ गैँडा रेकर्ड गरिएका थिए ।
गैँडा गणनामा कसले सहयोग गर्दैछन् ?
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग नजिक रहेर काम गरेका संरक्षण साझेदार संस्थाहरु राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएन्सी), विश्व वन्यजन्तु कोष नेपाल (डब्लुडब्लुएफ नेपाल ) र जुलोजिकल सोसाइटी अफ लण्दन ( जेडएसएल) ले गैँडा गणनामा आवश्यक सहयोग गर्ने भएका छन् ।
तराईका बिभिन्न संरक्षण क्षेत्रभित्र संरक्षणका काममा सहयोग गरिरहेको यी संस्थाहरुले विभागको आवश्यकता अनुसार आफुले सहयोग गर्ने भएका बताएका छन् ।

शिवराज भट्ट
संरक्षण कार्यक्रम प्रमुख, डब्लुडब्लुएफ नेपाल
डब्लुडब्लुएफले विगत लामो समयदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग नजिकको सहयोगीको रुपमा काम गरिरहेको छ । विभागका प्रमुख कामहरुमा हामीले सहयोग गर्ने हो । गैँडाको गणना पनि विभागको प्रमुख काम भएकाले विभागको आवश्यकता अनुसार हामीले सहयोग र समन्वयमा काम गर्ने भनेका छौँ । हामीले विभागसँगका बिभिन्न बैठकमा विभागलाई आर्थिक तथा प्राविधिक क्षेत्रमा सहयोग गर्ने भनेका छौँ र केही गरि पनि रहेका छौँ । गैँडा गणना नितान्त प्राविधिक विषयमा भएकाले डब्लुडब्लुएफसँग भएका विज्ञ दक्ष
जनशक्तिलाई पनि मोबिलाइज गर्ने भएका छौँ । विभागको आवश्यकता अनुसार यस कार्यलाई सफल पार्न डब्लुडब्लुएफले आवश्यक तयारी पनि गरिरहेको छ ।

डा. हेमसागर बराल
राष्ट्रिय प्रतिनिधि, जेडएसएल
राष्ट्रिय महत्व राख्ने खालका काममा हामीले विभागलाई सक्दो सहयोग गर्ने हो । विभागले बोलाएका बैठक तथा छलफलमा उपस्थित भई आवश्यक सल्लाह तथा परामर्श दिने काम त निरन्तर हामीले गर्दै आएका छौँ । गैँडा गणनाका लागि विभागले भने अनुसारको आर्थिक तथा प्राविधिक सहयोग हामीले गर्ने भएका छौँ । हामीले गैँडा पाइने संरक्षित क्षेत्रभित्र पनि काम गरिरहेको अनुभवले आर्थिक, प्राविधिक सहयोगका लागि जेडएसएल जहिले पनि तयारी अवस्थामा बसेको छ । सरकारका कार्यक्रममा हामी जहिले पनि सहयोगी भएर काम गर्ने गरेका छौँ ।

डा. नरेश सुबेदी
गैँडा विज्ञ, एनटीएनसी
विभागको कार्ययोजना अनुसार हाम्रो टोली तयारीका साथ लागि रहेको छ । केही दिनभित्रै चितवनमा फिल्डस्तरका प्राविधिक टोलीलाई तालिम दिइने भएको छ । त्यसका लागि विभाग र एनटीएनसीका प्राविधिकले काम गर्ने भएका छन् । गैँडा गणनाका लागि आवश्यक पर्ने जीपीएस्, बाइनाकुलर, क्यामरा लगायतका उपकरणहरु खरिद भइसकेका छन् । हामीले विभागलाई आर्थिक तथा प्राविधिक दुबै खालका सहयोग गर्ने भएका छौँ ।
गैँडाको संख्या बढ्ला कि घट्ला ?
सन् २०१५ मा भएको गैँडा गणनामा चितवनमा सबैभन्दा बढी गैँडा रेकर्ड भएका थिए । नेपालमा कुल ६४५ गैँडा मध्य चितवनमा मात्र ६०५ गैँडा रेकर्ड भएका थिए ।

सन् २०१५ यता दुई वर्ष लगातारको बाढीले चितवनमा गैँडालाई नै बढी क्षति पुर्याएको छ । प्राकृतिक कारणले गैँडाको मृत्यु पनि निकै धेरै भएको छ । यस्तो अवस्थामा चितवनमा गैँडाको संख्या बढ्ला वा घट्ला भन्ने नेपालकथाको जिज्ञासामा गैँडा विज्ञ डा. नरेश सुबेदीले भने, अहिले नै यसै होला भन्न त कठिन छ । पछिल्ला केही वर्ष यता चितवनमा गैँडाको मर्ने दर र बाढी तथा डुवानले गरेको असर त पर्ने नै देखिन्छ । तथापी घट्ने भन्ने त कल्पना नगरौँ तर संख्या धेरै बढ्न सक्ने स्थिति पनि देखिदैन ।
हरेक वर्ष गरिने अनुगमनका कार्यले त चितवनमा गैँडा कम देखिने गरेको पाइएको छ नि ? भन्ने प्रश्नमा डा. सुबेदीले भने, अनुगमन गर्दाको अनुभवले संख्यालाई एकिन गर्न त सकिदैन तर पनि अनुगमनले केही अनुमान गर्न त सकिन्छ होला । त्यसैले त हामीले गणना गर्न थालेका हौँ ।


























