ध्रुबे हात्तीको मुखबाट ज्यान जोगिएकाको कथा

काठमाडौँ । सदाझैँ शुक्रवारको दिन पनि चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा गणनाको योजना बन्यो । निकुञ्जमा ३० वटा हात्तीलाई लहरै लगाएर गणनाको शुभारम्भ भयो ।

निकुञ्जको गैँडा खासा भन्ने क्षेत्रमा गणना हुँदै थियो । यो क्षेत्र निकुञ्जको पश्चिमी क्षेत्र हो । जुन क्षेत्रमा ज्यानमारा ध्रुबे हात्ती घुमफिर गरिरहेको सूचना रेडियो कलरको माध्यामले निकुञ्ज प्रशासनले थाहा पाइरहेको थियो । त्यसैले ध्रुबेको बहादुरी चर्चिकलालाई छल्दै गैँडा गणनाको टोलीले काम गरिरहेको थियो ।

शुक्रवार दिउँसोको खाना खाइसके पछि सम्भावित खतरालाई ध्यानमा राखेर गणनाका लागि खटिएका ३० वटा हात्तीको समुह भन्दा पछाडी खटिएको नेपाली सेनाको टोलीले ध्रुबेलाई टाढा धपाइरहेको थियो । युवा उमेरको ध्रुबको जोसलाई विगतमा नियन्त्रणमा लिन नेपाली सेनालाई निकै कठिन भएको अनुभवले ध्रुबेलाई धपाउन दुई÷ तीन घण्टाको अवधिमा पाँच ÷ छ पटक हवाई फायर समेत गरियो ।

गणनाको कार्य चुरे नजिकै हुँदै थियो । छेउछाउमा अलि बलिया, जंगली हात्ती आउँदा पनि सकभर नडराउने, नत्रसिने खालका हात्तीलाई राखेर बीच भागमा अलि उमेर ढल्केका, कमजोर तथा डराउने खालका हात्तीलाई राख्ने गरिन्छ । छेउछाउका हात्तीको सहारमा बीचका हात्तीलाई हिडाउने गरिदै आएको थियो ।

शुक्रवार गणनाका कामका खटिएका गैँडाहरुमा ३० नम्वर दिइएको थियो सिताष्माकलीलाई । जुन पर्सा राष्ट्रिय निकुञ्जबाट गणना अवधिका लागि काजमा ल्याइएको पोथी हात्ती हो । जसमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कन्सल्टेन्ट अफिसर बिनोद श्रेष्ठले नेतृत्व गरिरहेका थिए । शुक्रवार एउटा माउतेलाई साथमा लिएर बिनोदले चुरेको छेउतिर नेतृत्व गरिरहेका थिए ।

हात्ती आक्रमणमा परेका बिनोद श्रेष्ठ

पछाडी नेपाली सेनाको टोलीले ध्रुबे हात्तीलाई गणनामा खटिएका हात्तीलाई नतर्साउन पाओस भनेर गस्ती गरिरहेको थियो । एक्कासी ठूलो झाडी आयो, काडाँ भएको रुख विरुवा बाक्लो जंगल । नेपाली सेनाको टोलीले ध्रुबेलाई पछ्याइरहेको भएपनि ऊ गणनामा प्रयोग भइरहेका हात्तीको गन्ध सुध्दै चुरेबाट आउने खोल्सीको घुमाउरो बाटोबाट पस्यो । त्यो कुरा नेपाली सेनाको टोलीले पनि पत्ता लगाउन सकेन । न त गणनामा संलग्न कर्मचारी र माउतेले नै ।

३० नम्वरको सिताष्माकलीको १० मिटरको नजिकै रहेको ३१ नम्वरको हात्तीमा रहेका डा.आशिस गुरुङले नेपालकथासँग शनिवार बिहाना भने, म ३१ नम्बरको हात्तीमा थिए । बिनोद ३० नम्बरको हात्तीमाथि थियो । ३० नम्वर हात्ती कोषको प्रकृतिकली हो । प्रकृतिकली भन्दा सिताष्माकली नडराउने, भाग्ने सक्ने र बलियो भएकाले छेउतिर राखिएको थियो ।

जब बाक्लो झाडी छलेर घाँस भएको ठाउँमा आएपछि डा. गुरुङले बिनोदसँग अब लाइन मिलाएर हिड्नका लागि आग्रह गरे । अनि बिनोद र गुरुङले नेतृत्व गरेको दुईटै हात्ती हिड्न नपाउँदै चुरेबाट आएको खोल्सीको घुमाउने ठाउँबाट चम्केर धु्रबे हात्तीतिर दौडिदै आयो । अनि ३० र ३१ नम्वरका दुबै हात्ती कराउँदै डरले उफ्रिए, माउते कता ? अनि बिनोद कता ? म पनि हात्तीबाट जंगलमा खसेको थाहै भएन, डा. गुरुङले नेपालकथासँग भने ।

गुरुङका अनुसार ध्रुबेको आवाज सुन्दा नसुन्दै बिनोद चढेको हात्ती उफ्रिदै अन्धाधुन्ध झाडीमा दौडिन थाल्यो । अनि नजिकै भएका सबै हात्ती कराउन उफ्रिन थाले । ३० र ३१ नम्बर दुबै हात्ती चढेका गणक र माउते चार जना झाडीभित्र खसे । गुरुङले त्यो क्षण सम्झदै भने, म झण्डैले घाँस भएको ठाउँमा लड्न पुगेछु । मलाई गम्भीर चोट लागेन । बिनोद रुखको हाँगामा खसेर पुनः झाडीबाट भूईमा खस्दा निकै चोट लाग्दा कराएको मात्र सुनियो । सायद त्यतिबेला हामी कसैको पनि होस थिएन । विगतमा धेरै मानिस मारिसकेको ध्रुबेको अगाडी ज्यान जोगिएला भन्ने आशा पनि थिएन ।

ध्रुबे हात्तीलाई लखेट्दै हिड्यो । पछाडीबाट नेपाली सेनाले फायर खोलेर पनि होला । त्यहाँ नजिकै भएका सबै हात्तीको भाग दौड चल्यो । जंगलको बिच भागमा दर्जनौ हात्ती कराउँदा मन निकै त्रसित त हुनै नै भयो । आफु बाँचे पनि कसलाई मार्यो, कसलाई कुल्चियो भन्ने अत्तोपत्तो थिएन ।

डा. गुरुङले भने, मैले बिनोद कराइरहेको सुनेर हत्तपत्त उठेर बिनोदलाई हेर्न पुगे । माउते अलि पर झाडीमा कता हो कता ? उसलाई झाडीबाट निकालेर बगरमा लगियो । उसलाई निकै चोट लागेका कुरा थाहा भयो । अनि हामीले गणनाको टीमलाई बालायौँ र कोषको कार्यालय सौराहा र निकुञ्ज कार्यालयमा खवर गर्यौँ । मैले कोषका प्रमुख डा. बाबुराम लामिछानेलाई बिनोदको गम्भीर अवस्था बारे सबै कुरा भने । तत्काल मध्यबिन्दु अस्पतालमा उपचारका लागि लैजाने कुरा भयो र हामी सबै घाइतेले त्यही उपचार गर्यौँ । बिनोदको हात, खुट्टा चल्न छाडेको भन्ने भएपछि तत्काल सेनाको हलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँ लगियो । अरुको अवस्था चिन्ताजनक नभएकाले हामीले यतै उपचार गराइरहेका छौँ ।

किन ध्रुबे आक्रमणमा आयो ?

चितवन राष्ट्रिय निकुञ्जभित्र अहिले रोनाल्डो र ध्रुबे दुबै हात्ती रहेका छन् । कसरा क्षेत्रमा गणना गर्दा भेटिएको रोनाल्डोले किन हात्तीमाथि आक्रमण गरेन ? तर ध्रुबे किन हात्तीतर्फ तम्सेर आयो होला ? भन्ने नेपालकथाको जिज्ञासामा गुरुङले भने, रोनाल्डो ठूलो छ, बढी उमेरको पनि छ । उसलाई कसैको डर छैन होला । तर ध्रुबे सानो उमेरको र अलि बढी खतरनाक स्वभावको छ । आफ्नो क्षेत्रमा यति ठूलो हात्तीको झुण्ड किन आयो होला भन्ने रिसले पनि हुन सक्छ । उसले पहिलो दिनदेखि नै गणनाका हात्तीको पिछा गरिरहेको थियो । नेपाली सेनाको टोलीले नधपाएको भए अघिल्लो दिनमा पनि दुर्घटना हुन सक्थ्यो ।

हात्तीमा विद्यावारिधी प्राप्त डा. नरेन्द्रमान बाबु प्रधानको बुझाईमा सबै जंगली हात्तीको स्वभाव अलि बदमास खालको हुन्छ । त्यसमा पनि ध्रुबेले त विगतमा दर्जन भन्दा बढी मानिसको ज्यान समेत लिइसकेकोले यो बदमास नै हो भन्ने प्रमाणित भइसकेको छ ।

डा. नरेन्द्रमान बाबु प्रधान
हात्ती बिज्ञ

डा. प्रधानले नेपालकथासँग भने, सन् २००८ मा पनि नानापाटेकर भन्ने जंगली हात्तीले जंगलमा हात्तीलाई तर्साउने काम गरेको हो । सन् २०११ मा सुकेभारमा पनि यही ध्रुबेले गणना गर्ने काममा ठूलो बाधा पुर्याएको थियो । त्यस बेला जंगली हात्तीलाई टाढा नभगाउँदासम्म काम रोकिएको थियो । जब काममा बाधा नपार्ने गरी टाढा भगाइसकेपछि मात्र काम सुरु गरिएको थियो । जंगलमा लामो समय बिताउनु पर्ने कामका लागि समस्या भएर आएको कुरालाई क्लियर गरेर मात्र कामको थालनी गर्नुपर्ने हुन्छ ।

सन् २०११ मा पनि ध्रुबे चार/पाँच दिनसम्म हात्तीको पिछा लागेको थियो । यो पटक पनि शुक्रवार बिहानै देखि हात्तीको पिछा लागेको ध्रुबेले दिउसो तर्फ यस्तो दुर्घटना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here