निकुञ्जमा खटिएको सेनालाई आक्षेप नलगाऔँ : उपरथी खड्का

काठमाडौँ । नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले नेपाली सेनाले निकुञ्ज तथा आरक्ष क्षेत्रका दूरदराजमा बसेर राज्यले दिएको जिम्मेवारी पूरा गरिरहेकोले सेनाका कामप्रति आक्षेप नलगाउन चेतावनी दिएका छन् ।

३७ औँ वार्डेन सम्मेलनको अवधिमा निकुञ्ज प्रशासनबाट निकुञ्जका कार्यरत सेनाले संरक्षणमा प्रभावकारी काम गर्न नसकेको टिप्पणी भएपछि वार्डेन सम्मेलनको दोस्रो दिन आयोजित समापन समारोहमा उपरथी खड्काले आफ्नो तर्फको गल्ती ढाकछोप गर्न नेपाली सेनालाई औला नठड्याउने चेतावनी दिएका छन् ।

सम्मेलनको पहिलो दिन बिहीवार चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले नेपाली सेनाले निकुञ्जको सुरक्षाको गरिरहेको काम प्रति असन्तुष्टि व्यक्त गरेपछि नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक समेत रहनु भएका सहायक रथी खड्काले संरक्षण क्षेत्रमा देखिएका समस्यालाई अरुको टाउकोमा हालेर आफू पन्छिने प्रवृतिलाई तत्काल रोक्न पनि आग्रह गरे ।

उनले भने, संरक्षणको काम एक्लै मैले मात्र गर्न सक्छु भन्ठानेको कसैले छ भने त्यो गैर जिम्मेवार सोचाई हुने छ । त्यो एकांकी हुनेछ । निकुञ्ज, नेपाली सेना, स्थानीय समुदाय संरक्षणको एउटै डुँगामा छौँ । अब यहाँ कसैले मैले मात्र गर्न सक्छु भन्छ भने त्यो नसोचे हुन्छ । यस्तो गैर जिम्मेवार टिप्पणी र भनाई नराख्ने मैले यहाँ भन्न चाहन्छु ।

बिहीवारको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले व्यक्त गरेका भनाई प्रति इंगित गर्दै उपरथी खड्काले भने, हामी सबै कानूनद्धारा स्थापित संस्था हौँ । सबैको काम र अस्तित्व बराबर छ भन्ने कुरा बुझ्नु भए हुन्छ । हामी सबै इक्वेल पाटर्नर हौँ । हामी राज्यको रुल अफ ल ले निर्देशित छौँ । यहाँ व्यक्तिले ब्याख्या गर्ने र अपब्याख्या गर्ने होइन । यस्तो अपब्याख्या गर्ने छुट कसैलाई छैन । यो कुरालाई मनन गर्न अति आवश्यक छ ।

उनले भने, नेपाली सेनाका कर्मचारीहरुले तराईको ४२ डिग्री तापक्रममा सुविधा नभएका कोठामा बस्दै बाढी डुवानको समस्या झेल्दै र हिउँ पर्ने अनकन्टार ठाउँमा बसेर काम गरिरहेका छन् । यसको उच्च कदर गर्न जरुरी छ ।

सहायक रथी खड्काले भने, मल्टि एजेन्सीमा काम गर्दा केही अप्ठ्यारा भएका हुन सक्छन् । सोचाई र बुझाईमा फरक हुन सक्लान् । त्यति हुँदा हुँदै पनि समस्यालाई समाधान गर्ने मर्यादित बाटोहरु छन् । प्लिज यसलाई फलो गरौँ सबैले । आफू बचेर अर्काे निकायलाई आक्षेप नलगाऔँ । जुन निकायले आज हामीलाई नेपाल र नेपाली भनेर चिनाउने काम गरेको छ । त्यस्तो निकायलाई आक्षेप लगाउने दुस्साहस कसैले नगर्दा हुन्छ ।

निर्देशालयका निर्देशक सहायक रथी खड्काले भने, यो दुई दिने सम्मेलनमा केही इस्युहरु अमानवीय र अभद्र तरिकाले आए । व्यक्तिको लहडमा भनाई आउने होइन, संस्थागत भनाई आउनु पर्छ । तथापी आगामी दिनमा सहज रुपमा काम गर्नु पर्छ ।


डा. खराल : संयमित बनौँ

दुई दिने वार्डेन सम्मेलन समापन समारोहको अन्तिम बक्ताका रुपमा रहेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.दिपककुमार खरालले सहायक रथी खड्काको भनाई आत्मसात गर्दै भने, नेपाली सेना, निकुञ्ज लगायतका संरक्षण साझेदारहरुको भूमिका राज्यको कानूनले स्पष्ट पारेको छ । काम गर्दा केही असमझदारी र असन्तुष्टी रहेका छन् भने तिनलाई संयमित भएर आआफ्नो निकायमा राखेर समाधान निकाल्न सकिन्छ । सबैले त्यतातर्फ सोच्न जरुरी छ । फिल्डमा चित्त नबुझेका कुराहरु आआफ्नो माथिल्लो निकायमा राखौँ र समाधानका लागि बाटो प्रशस्त गरौँ ।

दोहोरी चल्यो सम्मेलनमा

बिहीवार सुरु भएको सम्मेलनमा सदा झैँ निकुञ्ज प्रशासन, नेपाली सेना, मध्यवर्ती क्षेत्र व्यवस्थापन र संरक्षण साझेदार संस्थाका करिब एक सय भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

निकुञ्जहरुको प्रस्तुती दिने क्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले संरक्षणका कार्यमा नेपाली सेनाबाट सन्तोषजनक काम हुन नसकेको, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको भूमिका पनि अपेक्षाकृत नभएको र संरक्षण साझेदार संस्थाहरु आफ्नो स्वार्थमा काम गर्ने गरेको आरोप लगाएका थिए । त्यसपछि सम्मेलनमा सहभागि नेपाली सेनाका बरिष्ठ अधिकारीहरुले बरालका कुराको प्रतिबाद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here