ढुङ्गा, गिट्टी,बालुवा काण्ड : मन्त्रालयले गम्भिर रुपमा लियो

काठमाडौँ । यस पटकको ३७ औँ वार्डेन सम्मेलनमा चर्चाको विषय बनेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा काण्डलाई वन तथा वातावरण मन्त्रालयले गम्भिर रुपमा लिएको छ

वार्डेन सम्मेलनमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अभिव्यक्ति र नेपाली सेनाका जर्नेल हिमांशु खड्काका भनाईलाई मन्त्रालयले अध्ययनको विषय बनाएको छ ।

मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले भने, यो विषय निकै गम्भिर ढंगले उठ्यो । यो विषयलाई मन्त्रालयले पनि त्यसैगरी गम्भिर ढंगले अध्ययन गरिरहेको छ ।

विषय छरपष्ट हुने गरी बाहिर आएकोले केही न केही समस्या भन्ने देखियो । यो विषयमा मन्त्रालयले आवश्यक काम गर्छ । त्यसको सुरुवात भइसकेको छ, सचिव डा. कँडेलले भने ।

यो घटनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले समेत अध्ययनको दायरामा ल्याएको छ । विभागका महानिर्देशक डा. दिपककुमार खरालका अनुसार सम्मेलनमै गहन विषयको उठान भएकोले यो विषयलाई तत्काल सम्बोधन गर्न विभागले अग्रसरता लिने भएको छ ।

डा. खरालले भने, कमी कमजोरी भएको पक्कै देखियो । तर कसको हातबाट कति र कुन स्केलको कमि कमजोरी भएको छ । यस विषयमा तत्कालै विभागले अग्रसरता लिनेछ ।

डा. खरालले भने, निकुञ्जमा ओभरअल जिम्मेवारी संरक्षण अधिकृतको नै हुन्छ । जिम्मेवारी बोक्नेले संयमित पनि हुनुपर्छ । समस्या छन् भने समाधान गर्ने माध्याम र ठाउँहरु थिए । बोल्ने उपयुक्त ठाउँ हो होइन भन्ने ख्याल गर्न जरुरी हुन्छ । जतिसुकै ठूलो समस्या भएपनि हल हुन्छ । विभागले त्यसका लागि आवश्यक पहलकदमी लिन्छ ।

उनले अगाडि भने, निकुञ्जमा समन्वय, समझदारी र सहअस्तित्वमा बसेर काम गर्न सक्नुपर्छ । नसक्नेले ठाउँ छाड्नुपर्छ । सक्ने मान्छे गएर काम गर्छन् । विभागले नेपाली सेनाको उच्च नेतृत्वसँग पनि आवश्यक छलफल गर्छ ।

वार्र्डेन सम्मेलनमा आफ्नो प्रस्तुति सँगै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जमा सुरक्षार्थ खटिने नेपाली सेना प्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

केही दिनअघि सौराहामा बाघको घटनालाई लिएर भएको तोडफोड काण्डमा निकुञ्ज प्रशासनले नेपाली सेनाको सहयोग माग्दा सेनाले अपेक्षित सहयोग नगरेको कारण प्रमुख संरक्षण अधिकृत बरालले सेना प्रति असन्तुष्टि व्यक्त गरेको कुरा बाहिर आएको छ ।

अर्काेतिर सेनाको उपल्लो स्तरका कमाण्डरबाट निकुञ्जको प्रमुख संरक्षण अधिकृतलाई मध्यवर्तीको ढुङ्गा, गिट्टी, बालुवाको कारोवारीसँग जोडेर आएको अभिव्यक्ति मामुली र चानचुने कुरा नभएको टिप्पणी मन्त्रालयमा चल्न थालेको छ ।

मन्त्रालयका एक बरिष्ठ अधिकारीले भने, संरक्षणको नेतृत्व लिएका निकुञ्जका कर्मचारी ढुङ्गा, गिट्टी, बालुवाका कारोवारीसँग जोडिनु गम्भीर र जटिल विषय बन्यो । अरु निकुञ्जमा काम गर्ने इमान्दार कर्मचारीलाई समेत काम गर्न असहज हुने हो कि भन्ने चिन्ताको विषय भयो । यसको अर्काे पाटो नेपाली सेनाले गरेको सबै कामहरु पनि राम्रै छन् भन्न सकिने अवस्था भने छैन ।

उनले भने, यो घटनाले आफै नाङ्गो हुने काम भयो । चितवन धेरै टाढा छैन । त्यहाँ भएका सबै गतिबिधि बारे दुरविनबाट विभाग र मन्त्रालयले पनि नियालि रहेको छ ।

उता जंगी अड्डाले पनि हचुवाको भरमा यो कुराको उठान नगरेको दावी गरेको छ । निकुञ्जका कर्मचारीको सबै गतिविधि नजिकबाट नियालेर र केलाएर अभिव्यक्ति सार्वजनिक गरिएको जंगी अड्डाको भनाई बाहिर आएको छ ।

जंगी अड्डा स्रोतका अनुसार नेपाली सेनाले आफ्ना भनाई पुष्टि गर्ने प्रशस्त आधार र प्रमाणहरु आफूसँग रहेको वन तथा वातावरण मन्त्रालयसँग अनौपचारिक कुराकानीमा भनिसकेको बताइएको छ । समय र मौका परे सबै कुरा सार्वजनिक गर्न सकिन्छ भन्ने सेनाको धारणा छ ।

लामो समयसम्म निकुञ्जमा सुरक्षाको जिम्मा लिएर अवकाश प्राप्त एक जर्नेलले नेपालकथासँग भने, सेनाले हचुवाको भरमा बोल्दैन । सेना सकभर बोल्दै, बोल्दैन । बोल्नै परे हचुवाको भर बोल्ने कुरो हुँदैन ।

उनले भने, पोल खोल्ने ठाउँ उपयुक्र्त भएन । सारा जगतलाई हसाउने गरी जुन कुरा बाहिर आयो । यो हिलो छ्यापाछ्यापको स्थिति दुर्भाग्यपूर्ण हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here