काठमाण्डौं ः गुल्मीको चन्द्रकोट गाउँपालिकाले बाँदरलाई नियन्त्रणमा लिनका लागि खोर निर्माण गरेको छ ।
किसानले लगाएको अन्नबाली बाँदरले सखाप पारिदिन थालेपछि बाँदरलाई नियन्त्रण गर्नका लागि खोर निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
बाँदर खोरमा पसेपछि डराउन सक्ने र अन्य बाँदर डरले नआउने सम्भावना भएकाले यस्तो अभियान सुरु गरिएको उहाँले बताउनुभयो । बाँदरलाई खोरमा राखेपछि प्रजननमा वृद्धि नहुने भएकाले बाँदरको सङ्ख्या नियन्त्रणमा आउने तर्क गाउँपालिकाका अध्यक्ष युवराज केशीले गर्नुभयो ।
बाँदरलाई मार्ने कानुन नभएकाले गाउँपालिकाले खोरमा थुन्ने र आहाराको व्यवस्था गर्नु नै उत्तम विकल्प भएको उहाँको भनाइ छ ।
किसानहरूले लगाएको अन्नबाली जङ्गली जनावरहरू र बाँदरले नष्ट गरिदिएपछि किसानको अन्नबाली संरक्षण गर्नका लागि पालिकाले सबै किसिमका उपाय अपनाउन थालेको छ ।
बाँदरकै कारण बसाइँसराइको दर पनि बढ्दै गएको बताउँदै गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले खोरको उपलब्धि कति हुन्छ भन्ने कुरा परीक्षणमै रहेको बताउनुभयो । यदि यो सफल भए पालिकाभर अभियानकै रूपमै चलाइने खरेलको दाबी छ ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर–३, हर्राचौरमा एक लाख रुपियाँको बजेटबाट अहिले पाँच वटा खोर निर्माण गरिएका छन् ।
यता धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बाँदर मार्न पाउनुपर्ने कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय सरकारले किसानको समस्यालाई हेरेर समस्या समाधान गर्नका लागि बाँदर मार्न पाउनुपर्ने कानुन निर्माण गर्नुपर्ने बताउनुभयो ।