बैतडी : जिल्लाको पञ्चेश्वर गाउँपालिका-३ थालीगडाका कृष्णदत्त तिवारीका खेत गएको ३ वर्षयता हिउँदमा बाँझै रहन्छन्। केही वर्ष पहिला पौष महिनामा गहुँले हरियाली देखिने खेत पछिल्लो समय खडेरीले सुख्खा देखिन थालेका छन्। तिवारीले भने, ‘समयमा हिउँदे वर्षा हुँदैन। खेत बाँझै छोडेको अहिले चौथो वर्ष भयो। सिंचाइको सुविधा छैन्। वर्षातको समयमा मात्रै खेती गर्छौं।’
पञ्चेश्वर गाउँपालिका- १ पालडीका धनबीर सार्की खेतबारीबाटै जिविकोपार्जन गरिरहेका थिए। खडेरीले खेत बाँझै छोड्नुपर्ने बाध्यता आइलागे पछि उनी रोजगारीको खोजीमा भारत छिरे। परिवार पाल्नका लागि अन्य विकल्प नभएपछि उनी भारत छिरेका हुन्।
पञ्चेश्वर गाउँपालिकाको-१ का सेरीका केशव घटालले पनि गएको ३ वर्ष यता हिउँदमा खेत बाँझै छोड्न थालेका छन्। उनले भने, ‘हिउँदमा वर्षा नै हुँदैन। वर्षा नभएका कारण हामीले खेत बाँझै छोड्नु परेको हो।’
पञ्चेश्वर गाउँपालिकाको-१,२,३,४ र ६ हिउँदको समय अधिकांश खेत बाँझै रहेका गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। उनले भने, ‘उच्च ठाउँमा सिंचाइको अभाव छ। आकाशे पानीको भरमा खेती हुने ठाउँमा हिउँदेबाली लगाउन छोडिएको छ। यसले गर्दा खाद्यान्न संकट समेत चुलिएको छ।’
पञ्चेश्वरजस्तै शिवनाथ गाउँपालिकाका अधिकांश खेत बाँझै रहेको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए। उनले भने, ‘पछिल्लो ३ वर्ष यता समयमा हिउँदे वर्षा नहुँदा किसानले हिउँदेबाली लगाउन छोडेका छन्। यसले किसानको जिविकोपार्जनमा समस्या ल्याएको छ। बजारबाटै किनेर खानुपर्ने बाध्यता आइलागेको छ।’
जिल्लाको दशरथचन्द नगरपालिका १० तिरखडेनीमा खडेरीका कारण प्रत्येक हिउँदमा खेत बाँझै छोड्नुपरेको छ। महाकाली नदीको छेउमै रहेका जमीन समेत सिंचाइको अभावमा बाँझै रहेको स्थानीय रामसिंह बुडालले बताए। उनले भने,’खडेरीका कारण खेत बाँझै छन्। परिवार कसरी पाल्ने भन्न चिन्ता छ।’