जन्मको आधारमा नागरिकता वितरण


काठमाण्डौ: जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मका आधारमा नागरिकता वितरण शुरु गरेपछि कार्यालयमा नागरिकता लिने सेवाग्राहीको अत्यधिक भिड बढेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार यहाँ वंशजको नागरिकता लिनका लागि दैनिक पाँचसयसम्म मानिस पुग्न थालेपछि एक दिनमा सयजनाको मात्र आवेदन लिन थालेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले असार १० गतेबाट जन्मको आधारमा नागरिकता वितरण शुरु गरिएकोमा हालसम्म ४२३ जनालाई नागरिकता वितरण गरिसकिएको बताउनुभयो ।
उहाँले नागरिकता लिनका लागि आउने व्यक्ति धेरै हुन थालेपछि व्यवस्थापन गर्न र नागरिकता दिन अहिलेको जनशक्तिले नपुग्ने जनाउँदै थप जनशक्ति माग गरिएको बताउनुभयो ।
प्रजिअ आचार्यका अनुसार अहिले एक दिनमा सय जनालाई मात्र नागरिकता वितरण गर्न सकिएको छ । जनशक्तिको अभावले गर्दा सबैलाई नागरिकता दिन नसकिने भएकाले सहजताका लागि अनलाइन टोकन प्रणाली शुरु गरिएको छ ।
टोकन प्रणाली शुरु गरिएपछि सेवाग्राहीलाई सहज भएकोे दिनदिनै प्रशासन धाउनुपर्ने बाध्यता हटेको सेवाग्राहीले बताएका छन् ।
जिल्ला प्रशासनका अनुसार बाँकेमा मात्रै १० हजार बढीले टोलीबाट जन्मको आधारमा नागरिकता लिएका थिए । जिल्लाभरीमा करिब २५ हजार सन्तानलाई वंशजको नाताले नागरिकता वितरण गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here