ठाकुरद्धारा । दुर्लभ वन्यजन्तु एकसिँगे गैँडाको राष्ट्रिय गणना बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबारबाट सुरु भएको छ ।
नेपालमा एक सिँगे गैँडा पर्सा, चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने गरेका छन् । गैँडाको राष्ट्रिय गणनाको शुभारम्भ यही चैत ९ गते चितवन पर्सा कलष्टरबाट गरिएको थियो । गैँडा पाइने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यही १९ गतेबाट गणना सुरु गरिने भएको छ ।
बर्दियाको डल्ला क्षेत्रबाट १० वटा हात्ती प्रयोग गरी गणना सुरु गरिएको हो । बुधवारको गणना शुभारम्भ कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट हरिभद्र आचार्य, निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठ, निकुञ्जको सुरक्षा खटिएको देबीदत्त गणका प्रमुख सेनानी दिनेश कार्की, मध्यवर्ती क्षेत्र व्यवस्था समितिका अध्यक्ष नेत्र आचार्यले १० वटा हात्तीलाई १० वटा केरा खुवाएका थिए ।
निकुञ्जको कर्णाली नदी तटीय क्षेत्रलाई बिभिन्न पाँच वटा ब्लकमा बिभाजन गरी गणना सुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।
गैँडा गणनाका लागि एउटा हात्तीसँग माउते, गणक र सहायक गणक गरी तीन जना रहेका छन् । बर्दियाको गणनामा १० वटा हात्ती र ६० जना प्राविधिक जनशक्तिको सहभागिता रहने भएको छ ।
गणनाको पहिलो दिन बुधवार डल्ला क्षेत्रका मध्यवर्ती क्षेत्र तथा खाता करिडोरमा गणना गरेर सकिने योजना निकुञ्जले बनाएको छ । कर्णाली नदी नटीय क्षेत्रका पाँच वटा ब्लकमा गणना गर्न छ दिनको समय छुट्याइएको र बबई क्षेत्रमा पाँच दिनमा गणना गरिसक्ने प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।
गणनामा निकुञ्जलाई संरक्षण साझेदार संस्थाहरु राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल, डब्लुडब्लुएफ लगायतका संस्थाहरुले प्राविधिक तथा आर्थिक सहयोग गरेका छन् ।
यसैबीच मंगलबार गणनामा सहभागी हुने जनशक्तिलाई प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सहायक संरक्षण अधिकृत, रेञ्जर, गेमस्काउट, माउते तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा विभागका इकोलोजिष्ट हरिभद्र आचार्य, प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठ, विभागका संक्षण अधिकृत बिष्णु थपलिया, कोषका बर्दिया प्रमुख डा. रबिन कडरिया लगायतले प्रशिक्षण दिएका थिए ।