लुम्बिनी प्रदेशभरी ११ प्रतिशत मात्र रोपाईँ

काठमाण्डौ : मनसुन सुरु भएपनि पर्याप्त वर्षा भइनसकेकाले किसानले रोपाई गर्न सकेका छैनन् । आधा असार महिना सकिदा लुम्बिनी प्रदेशमा जम्मा ११ प्रतिशत मात्र रोपाई भएको छ ।
यो वर्षको धान दिवस प्रदेशका विभिन्न ठाउँमा धान दिवस मनाईए पनि धेरै ठाउँमा किसानका खेत सुख्खा छन् । असार १५ गते शुक्रबारसम्म जम्मा ११ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । यसपटक वर्षामा कमी आएकाले रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ ।
सिचाइँ पुगेको भए आधा रोपाइँ भइसक्ने प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासिनी बताउनुभयो । मरासिनीका अनुसार गत वर्ष यही अवधिमा झण्डै ३२.७१ प्रतिशत रोपाइँ भएको थियो ।
नवलपरासीदेखि बर्दियासम्मको तराई क्षेत्रको मुख्यखेती धान खेती हो । यस प्रदेशको खेतीयोग्य तीन लाख ११ हजार ४२ हेक्टरमध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टरमा मात्रै रोपाइँ भएको छ ।
प्रवक्ता मरासिनीका अनुसार क्षेत्रफलका हिसाबले प्रदेशमा सबैभन्दा धेरै कपिलवस्तु र सबैभन्दा कम रुकुमपूर्वमा धान खेती गरिन्छ । कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ भने रुकुमपूर्वमा १ हजार ४१९ हेक्टरमा धान लगाइन्छ । अहिलेसम्म कपिलवस्तुमा ४ हजार २०४ हेक्टर अर्थात् धान खेती हुने क्षेत्रफलको छ प्रतिशतमामात्रै रोपाइँ भएको छ भने रुकुमपूर्वमा ८५८ हेक्टर अर्थात् ६०.५ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । रूपन्देहीमा आठ प्रतिशत रोपाइँ सकिएको छ । रूपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा रोपाइँ भएको छ ।
यो प्रदेशको धान उत्पादन हुने मुख्य जिल्ला दाङमा आठ प्रतिशत र बर्दियामा १० प्रतिशत रोपाइँ सकिएको छ । दाङमा कुल धान रोपाइँ हुने ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये ४ हजार २९० हेक्टरमा रोपाइँ भइसकेको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टरमध्ये ४ हजार ९०३ हेक्टर अर्थात् १० प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । पश्चिम नवलपरासीमा धान रोपाइँ हुने २० हजार ५०० हेक्टरमध्ये २ हजार ४६० हेक्टर अर्थात् १२ प्रतिशतमा मात्रै रोपाइँ भएको छ ।
प्रदेशका पहाडी जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुने गुल्मीमा ८.५ प्रतिशतमा रोपाइँ सकिएको छ । गुल्मीमा ८ हजार ६७० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ भने अहिलेसम्म ७३७ हेक्टरमा मात्रै रोपाइँ सकिएको छ ।
पाल्पामा ८२१ हेक्टर अर्थात् १० प्रतिशत रोपाइँ सकिएको छ । पाल्पामा यस वर्ष ८ हजार २१० हेक्टरमा रोपाइँ हुने प्रवक्ता मरासिनीले बताउनुभयो । प्यूठानमा ८० प्रतिशत रोपाइँ सकिएको छ भने अर्घाखाँचीमा १० प्रतिशत मात्रै रोपाइँ भएको छ ।
अर्घाखाँचीमा ८०५ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । अर्घाखाँचीमा ८ हजार ५० हेक्टरमा धान खेती हुने उहाँको भनाइ छ । उता रोल्पामा ४५ प्रतिशत रोपाइँ सकिएको छ । रोल्पामा धान खेती हुने ४ हजार ६३८ हेक्टरमध्ये २ हजार ११० हेक्टरमा रोपाइँ सकिएको छ ।


अधिकांश खेत बाँझै
असार १५ गतेसम्म बाँकेमा भने अधिकाँश खेत बाँझै रहेका छन् । कृषि ज्ञान केन्द्र बाँकेले असार १५ सम्म जिल्लाका आठवटै स्थानीय तहमा गरि करीब १५ प्रतिशत धान रोपाई भएको जनाएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद खानले अझै पनि केही किसानले धानको विउ राख्न बाँकी रहेको जानकारी गराएको बताउनुभयो ।
केन्द्रका अनुसार सिँचाईको सुविधा भएका डुडुवा, बैजनाथ र राप्ती–सोनारी गाउापालिकामा बढी धान खेती भएको छ । पानीको अभावमा घरमा खानेपानीको धारा, मोटर तथा पम्पसेटको प्रयोग गरि जेठमै बीउ राखेका किसानहरु यो समयमा पानी नपर्दा बीउ बुढो हुने चिन्तामा परेका छन् ।
बाँकेमा जिल्लाभर ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । बाँकेमा सिक्टा सिँचाई आयोजनाको मुल नहर निर्माण भएपनि शाखा नहरको काम समयमै सम्पन्न नभएका कारण किसानले प्रर्याप्त लाभ लिन सकेका छैनन् ।


आकाशे पानी कुर्दै किसान
किसानले धान रोपाइँका लागि पानी कुरिरहेका छन् तर अझैँ पर्याप्त पानी पर्न सकेको छैन । पानी नपरेपछि पाल्पाको अधिकांश भूभागमा धान रोपाइँ हुन सकेको छैन । गत वर्ष यही समयमा पाल्पाका अधिकांश स्थानमा रोपाइँ सुरु भइसकेको थियो । यो वर्ष पर्याप्त वर्षात् हुन नसक्दा रोपाइँ सुरु हुन नसकेको किसानले बताएका छन् ।
मनसुन सुरु भएपनि पाल्पामा हालसम्म पर्याप्त पानी परेको छैन । केही दिनअघिदेखि पानी पर्न थालेको छ । तर अझैँ ढुक्कले रोपाइँ गर्ने अवस्था आएको छैन । पानी नपर्दा रोपाइँ गर्न नसकेको तानसेन–९, किसान बुद्ध बस्यालले बताउनुभयो । गत वर्ष यही समयमा माडी फाँटमा ५० प्रतिशत रोपाइँ भइसकेको थियो ।
पाल्पाको माडी, रामपुर, अर्गली, कचल, पूर्वखोला, झडेवा फाँट गत वर्ष रोपाइँ सुरु भइसकेको थियो । यो वर्ष अधिकांश स्थानमा रोपाइँ नै सुरु हुन नसकेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो ।
समयमै धान रोप्न नपाउँदा धान उत्पादन समेत घट्ने सक्ने भन्दै किसान चिन्तित बनेका छन् । माडी रुप्सेका किसान दामोदर घर्तीले भन्नुभयो, ‘गत वर्ष यही समयमा धान रोपेर हरियो भइसक्थ्यो, यो वर्ष व्याडका लागि पनि पानी पुगेको छैन ।’ रोपाइँ हुने नहुने अझै निश्चित छैन ।
पाल्पामा नौँ हजार ६०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । त्यमध्ये हालसम्म ३० प्रतिशत भूभागमा धान रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । ब्याड राखेको समयलाई आधार मान्ने हो भने यो वर्ष रोपाइँ १५ दिन ढिला भइसकेको माडीका किसानको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here