काठमाडौँ । जागिर सुरु गरेको तीन दशक पछि वन मन्त्रालयका सहसचिव शिव वाग्ले र सिन्धु ढुङ्गानाले विभागमा नेतृत्व समाल्ने गरी नयाँ जिम्मेवारी पाएका छन् । यी दुबै जनाले पहिलो पटक विभागको नेतृत्व पाएका हुन् ।
जागिरे जीवनको उत्तरार्धमा वन तथा वातावरण मन्त्रालयका वरिष्ठ सहसचिव शिव वाग्लेले वन तथा भूसंरक्षण विभागको महानिर्देशक र सिन्धु ढुङ्गानाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी पाएका हुन् । शुक्रबार दुबै जनाले सो पदका लागि काम गर्ने जिम्मेवारी र अधिकार सहितको पत्र प्राप्त गरिसकेका छन् ।
वाग्लेले २०५० साल माघ १५ गते अस्थायी जागिर सुरु गरेका थिए । उनले २०५१ साल माघ ५ गते तत्कालिन श्री ५ को सरकारको अधिकृत हुने अवसर पाएका थिए । बिएस्सी साइन्सबाट आएको वाग्लेले रेञ्जर पदमा जागिर खानु परेन, उनले बिएस्सी फरेष्ट्री पास गरेर अधिकृतमा जागिर सुरु गरेका थिए । २०२४ साल मंसिर १ गते जन्मकुण्डली भएका वाग्ले २०७१ माघ २९ गते सहसचिवमा बढुवा भएका हुन् । २०८२ साल मंसिर १ गते अवकाश पाउने वाग्ले लामो समयको प्रतिक्षा पछि विभागको उच्च पदमा पुग्न सफल भएका व्यक्ति हुन् ।
तीन वर्षसम्म विभागको उपमहानिर्देशक भएर बसेका वाग्लेलाई महानिर्देशक हुन झण्डै अरु पाँच वर्ष लाग्यो । खासै बिबादमा आउन नरुचाउने वाग्लेलाई कानूनी धरातल नछाड्ने व्यक्तिको रुपमा लिने गरिन्छ । कानून पल्टाउने व्यक्तिको सूचीमा उनको नाम माथिल्लो तहमा पर्ने गर्छ । तत्कालिन अवस्थामा सुदूरपश्चिम र मध्यमाञ्चलको क्षेत्रीय वन निर्देशक भइसकेका वाग्लेले संघीयताको कार्यान्वयन हुने क्रममा दुई वर्षभन्दा बढी बागमति प्रदेशका वन सचिव पदमा रहेका काम गरेका छन् ।
निकुञ्ज विभागको महानिर्देशकको जिम्मेवारी पाएका ढुङ्गानाले २०४३ सालमा रिसर्चमा रेञ्जर पदबाट जागिर सुरु गरेका थिए । आईएस्सी फरेष्ट्रीबाटै जल्दाबल्दा देखिएका ढुङ्गानाले २०५३ सालमा जनरल फरेष्ट्रीमा अधिकृतमा जागिर खाए । तर्क र तथ्यसँग बढी खेल्न रुचाउने ढुङ्गानालाई खरो र कडा स्वभावको व्यक्तिको रुपमा चिन्ने गरिन्छ । २०६६ सालमा उपसचिव भएका ढुङ्गाना २०७२ साल चैत ६ गते सहसचिवमा पदोन्नती भएका थिए ।
२०२३ साल पुस ११ गते जन्ममिति भएका ढुङ्गाना २०८१ साल पुस ११ गते अनिवार्य अवकाशमा जाने छन् । सिंहदरबारको राजनीतिक सत्ता परिवर्तनले बबरमहलसम्म खासै चिसो तातो लागेन भने ढुङ्गानाले निकुञ्ज विभागबाट अवकाश पाउने सम्भावना रहेको छ ।
वाग्लेको तस्विर : थन्किएका फायल के हुन्छन् ?
थाइल्याण्डको एआईटीबाट नेचुरल रिसोर्स म्यानेजमेन्टमा स्नाकोत्तर गरेका वाग्लेले जागिर त धेरै जिल्लामा खाए । उनीसँग बिएस्सी अमृत साइन्समा पढेका र पछि पोखरामा बिएस्सी पढ्दाका धेरै साथीहरु वनमा छिरेका थिए । तुलनात्मक रुपमा जागिरको यो अवधिसम्म काम गर्ने दौराममा वाग्लेको कसैभन्दा होचो कद भएन, काममा उनले जहिले पनि आफूलाई अब्बल नै सावित गरे । जता गए, जुन हाकिमसँग काम गरे, मज्जाले काम देखाए । जता हाकिम भए, जुनियरलाई सिनियर हुने विद्या पढाएर फर्किए । शिवको यो शैली धेरै वन कर्मचारीले मन पराए ।
मोरङमा सहायक वन अधिकृत भएर काम गर्दा वाग्लेले तीर्थराज जोशी र गणेश रायसँग काम गर्ने अवसर पाए । दुबै जना हाकिमका लागि वाग्ले लाए, अह्राएको काम गर्ने इमान्दार फरेष्टर थिए । अहिले पनि वाग्लेको काम गराई राय र जोशीले सम्झिने गरेका छन् ।
कपिलवस्तुमा शेखर यादव र बर्दियामा रामप्रित मौरे अन्तर्गत रहेर काम गरेका वाग्लले विशेष गरी वन अतिक्रमणको जिम्मेवारी बहन गरे । यादव र मौरेले लिएको अतिक्रमण हटाउ अभियानको उनी सारथी बने । उनले मिहिनेत गरेर हटाएको अतिक्रमित क्षेत्र अहिले हरियाली वन बनेको छ ।
उपसचिव भएपछि फेरी कपिलवस्तुमा डिएफओ भएर जाँदा उनले आफुले हटाएको अतिक्रमण क्षेत्र हेरे, फेरी एकपटक वृक्षरोपण गरे, घेराबार लगाए । उनी रुपन्देहीमा हाकिम भएर जाँदा वनको दीगो व्यवस्थापनका काम गरे भने बाजुरा जिल्लामा जाँदा उनले त्यहाँका राजनीतिक दल, स्थानीय बासिन्दाको मन जित्न सफल भए ।
संघीयता कार्यान्वयनका बेला प्रदेश सचिवमा जान अधिकांश हाकिमहरुले नाक खुम्च्याइरहेका बेला वाग्ले बागमति प्रदेशका सचिवमा निर्धक्कसँग बसे । प्रदेश सचिवमा छ महिना नबस्दै सरुवा माग्न मन्त्रालय धाउने सहकर्मीका भीडमा वाग्ले दुई वर्ष भन्दा बढी बागमति प्रदेशमा बसेर प्रदेश संरचना निर्माणका सुरुवाती दिनका हप्की र खप्की सबै सहे । प्रदेश संरचनाको निर्माण खडा गरेर मन्त्रालय फर्के । मन्त्रालयमा योजना महाशाखा प्रमुख भएर काम गरे ।
मन्त्रालयमा बस्दा उनले केही नीतिगत कामका लागि सक्रिय भएर काम गरे । वन मन्त्रालय अन्तर्गतका अधिकृतहरुले राखेको मागको सम्बोधनका लागि लामो समय अड्किएर बसेको सहायक पद हटाउने कुरामा उनले नेतृत्व लिए । मन्त्रीपरिषदले वन मन्त्रालय अन्तर्गतका अधिकृतलाई अधिकृत र उपसचिवलाई वरिष्ठ अधिकृतको पद कायम गर्ने निर्णय बिहीबार मात्र गरेको छ । अब वन अधिकृत, वरिष्ठ वन अधिकृत, संरक्षण अधिकृत, वरिष्ठ संरक्षण अधिकृत पद कायम हुने भएको छ । यो निर्णय गराउनमा उनले सहसचिवको तहबाट खेल्ने सबै भूमिका खेले ।
उनले वन नियमावली, वन्यजन्तु मैत्री पूर्वाधार निर्माण निर्देशिका, फेवाताल जलाधार संरक्षण क्षेत्र घोषणा गर्ने काममा मन्त्रालयमा बसेर काम गरे । दीगो वन व्यवस्थापनका लागि राष्ट्रिय मापदण्डको निर्माण, नेपाल वन प्राविधिक परिषदको अध्ययन समितिमा बसेर मस्यौदा तयारी, वृहत जलाधार व्यवस्थापन रणनीति निर्माणमा पनि योगदान दिए ।
सहायक वन अधिकृत भएर सेवा प्रवेश गरेका वाग्लेले नेपालकथासँग बिहीबार साँझ भने, ‘‘मैले सहायक वन अधिकृतको पदमा बसेर सेवा गरेको हुँ । लामो समय काम गरेको मेरो घर (वन विभाग) को महानिर्देशक बन्ने अवसर पाएको छु । वनकर्मीका लागि भावी दिनमा शिर झुकाउने काम गर्ने छैन । सके राम्रो गर्छु, नराम्रो चाँही गर्नेछैन ।’’
लामो समय विभागमा बसेर काम गरेको हुँदा वाग्लेलाई अहिले विभागको काम गर्न असहज हुने स्थिति भने देखिदैन । तर वन क्षेत्रलाई सित्तैमा दोहन गर्ने केही लोभीपापीका फायलहरुको दवावलाई उनले कसरी व्यवस्थापन गर्छन भन्ने कुरा सबैको चासोको विषय छ । अघिल्ला महानिर्देशक देवेशमणी त्रिपाठीले फत्ते गर्ने बचन दिएर पनि पूरा गर्न नसकेका फायलको बिटो वाग्लेको टेबलमा आउँदा उनको कलम कतातिर चल्ने हो त्यो भने हेर्न बाँकी छ । त्रिपाठी पथमा हिड्ने कि वाग्ले पथलाई कायम राख्ने भन्ने चुनौती उनका अगाडि देखिएका छन् । कानूनका दफा पल्टाएर काम गर्ने छवि बनाएका वाग्लेलाई यो उमेरमा आएको जिम्मेवारीसँगै विद्यमान कानूनको पालना गर्ने कि माथिको दवाव अनुसार काम गर्ने मध्य कुन रोज्ने भन्ने दुईवटा विकल्प स्पष्ट अगाडि सोझिएका छन् ।
सिन्धुको तस्विर : सम्पदाको दोहन कि संरक्षण
विद्यार्थी जीवनमा कलेजका आँगनमा राजनीतिक भाषणबाजीमा अब्बल सिन्धु ढुङ्गानाले रेञ्जरमा जागिर खाएपछि उनलाई यो रेञ्जर अलि डेञ्जर छ है भन्ने गर्थे । ढुङ्गानाले रिसर्चमा जागिर खाएको भएर समुदायसँग खासै ठोक्क्निु त परेन तैपनि जहाँ जान्थे अलि खरो बोल्ने उनको बानी हुन्थ्यो, उनका समकक्षीहरु सिन्धुका बारेमा भन्ने गर्छन् ।
अधिकृत भएपछि उनले लामो समय तालिम केन्द्रमा बिताए । पश्चिमाञ्चल विकास क्षेत्रको तालिम केन्द्र पोखरा र मध्यमाञ्चलको तालिम केन्द्र गोदावरीमा अधिकांश समय बिताएका ढुङ्गानाले उपसचिव हुँदा दोलखामा छ महिना मात्र डिएफओको अनुभव समाल्ने अवसर पाए ।
सहसचिव भएपछि कैलालीमा चार महिना २२ दिन बसेका उनले चार वटा राम्रा काम गरे । पहिलो काम कतिपय ठाउँको अतिक्रमण हटाए, कतिपय स्थानमा हटाउने तयारी गरे, दोस्रो काम वृक्षरोपण गरिएको क्षेत्रको व्यवस्थापन गरे र नयाँ वृक्षरोपण गर्ने क्षेत्रको वैज्ञानिक ढंगले पहिचान गरे । तेस्रो काम वन कार्यालयको जिल्लास्थित अन्य सरोकारवाला निकायसँगको सम्बन्ध सुधार गरे र चौथो दीगो वन व्यवस्थापनका लागि समुदायलाई सचेत र सक्रिय पार्ने अभियान सञ्चालन गरे । त्रिभुवन विश्वविद्यालयबाट बिए, एमपीए समेत अध्ययन गरेको ढुङ्गानाले यूनिभर्सिटी अफ मेलवर्नबाट एमएस्सी र सोसियल प्रोडक्सन अफ इकोसिष्टम सर्भिसेजमा अष्ट्रेलियाबाट पिएचडी गरेका छन् ।
केपी शर्मा ओली प्रधानमन्त्री, वन मन्त्रीमा शक्तिबहादुर बस्नेत र वन मन्त्रालयका सचिवमा डा. विश्वनाथ ओली हुँदा सहसचिवको जिम्मेवारीमा मन्त्रालयको महत्वपूर्ण खम्बा भएर काम गरे । त्यतिबेला ढुङ्गानाले चाहेको विभागको नेतृत्व समाल्न सक्ने अवस्था थियो तर उनले हाल दिवंगत भएका डा. रामप्रसाद लम्साललाई वन विभागमा नेतृत्व दिनु पर्छ भनेर लबिङ गरे । निकुञ्ज विभागमा पठाउने तयारी मन्त्री बस्नेतले गरेपनि सचिव ओलीको सहयोगी भएर मन्त्रालयमा बस्ने निर्णय लिए ।
डा. ओलीको सहयोगी भएर आफ्नो अवसर गुमाउन तत्पर भएका उनको स्वभाव बुझ्ने धेरैले यो निर्णयलाई आत्मघाती निर्णय पनि भन्ने गरेका छन् । मौका आउँदा कुनु र घुर्नु हुँदैन भन्ने कुरा सिन्धुले नबुझेका त होइनन् । तर यथार्थ के हो भने अहिले पनि सरकारमा बाम शक्ति नभएको भए आउदो वर्ष सेवानिवृत हुन थालेका ढुङ्गाना लामो समयसम्म सहसचिव भएर पनि कुनै पनि विभागको नेतृत्व नलिइकनै घर जाने अवस्थामा पुग्ने सम्भावना प्रवल थियो ।
वन विभागमा सिनियर सहसचिव वाग्लेलाई दिदा आफू अरु ठाउँमा जान सक्ने धारणा वर्तमान मन्त्री र सचिवलाई राखेका सिन्धुले निकुञ्जको नेतृत्व पाए । फिल्डस्तरको खासै अनुभव त उनीसँग छैन । तर उनी मन्त्रालयमा लामो समय बसेकोले नीतिगत सुधारमा भने उनको योग्यतालाई कम आँकलन गर्न सकिदैन । मन्त्रालयमा बस्दा १५ औँ योजना निर्माणमा उनले महत्वपूर्ण भूमिका खेले । यो योजनाले वन क्षेत्रलाई आर्थिक क्षेत्रको एक महत्वपूर्ण आधार हो भन्ने कुरा स्वीकार गरेको छ । यसका लागि उनले लामै बहसका थालनी गरेका थिए ।
ओली प्रधानमन्त्री हुँदा उनको व्यक्तिगत पहुँच धेरथोर जति भएपनि बालुवाटरसँग थियो नै । त्यतिबेला सरकारले निर्माण गरेका १८ वटा गेम चेञ्जर प्रोजेक्टमा समृद्धिका लागि वन भन्ने कार्यक्रमलाई राख्न लबिङ गरे । त्यसमा त्यतिबेलाको नेतृत्व सफल भयो । मन्त्रालयमा चल्ताफुर्ता सहसचिव भएर उनले काम गर्दा राष्ट्रिय वन नीति २०७५ र राष्ट्रिय रेड नीति २०७४ आयो, ती निर्माणका हरेक छलफल र बैठकमा उनी उपस्थित भएको देखिन्थे ।
बजेट निर्माणका क्रममा वन मन्त्रालयको प्राथमिकताको कुरालाई अर्थ मन्त्रालयले नबुझ्दा दर्जनौ पटक झोक्किएका, कड्किएका र रिसाएका सिन्धुलाई तत्कालिन अर्थसचिव र बजेट महाशाखाको सहसचिवले मान्छे कडा भनेर टिप्पणी गरेका थिए । अर्थ मन्त्रालयमा उनले गरेको कडा प्रतिवादमा तत्कालिन वन सचिव डा. विश्वनाथ ओलीले मध्यस्तता गर्नुपर्ने अवस्था समेत सिर्जना हुने गथ्र्याे ।
डा. सिन्धुलाई वन संरक्षणमा उदारबादी व्यक्ति भनेर टिप्पणी गरिन्छ । संरक्षणका विषयमा अलि कडा हुनु पर्ने पदमा उदार स्वभावको व्यक्तिको पदस्थापना हुँदा निकुञ्जको भविष्य के हुने भन्ने चर्चा चलिरहेको छ । कतिपयले त उनलाई सामुदायिक वनका एजेण्डामा बहस गर्ने गरेको समेत आरोप लगाउने गरेका छन् ।
नेपालकथाले शुक्रबार साँझ यही विषयमा जिज्ञासा राख्दा निकुञ्ज विभागका नवनियुक्त महानिर्देशक ढुङ्गानाले भने, ‘‘निकुञ्जमा बफरजोनका केही समस्या छन् । कोर एरिया त कोर एरिया नै भइहाल्यो । त्यो पाटोमा म केही भन्दिन तर बफरजोन र कोर एरियामा फरक छुट्टिनु नै पर्छ । कोर एरिया जस्तै बफरजोनमा केही गर्न पाइदैन भन्ने होइन, स्थानीय समुदायलाई अझ संरक्षण गर्ने सवालमा सक्रिय गराउन बफरजोनमा केही काम गर्न सकिन्छ भन्ने मेरो सोच छ ।
त्यसो भने यहाँले निकुञ्जको कोर टिमबाट सहयोग पाउन सक्नुहोला त भन्ने नेपालकथाको जिज्ञासामा उनले भने, ‘‘मेरो यो कुरामा विभागका कर्मचारी साथीहरुले आतंकित हुनु पर्ने अवस्था आउँदैन । बफरजोनमा समुदायबाट आएका मागलाई केही रुपमा सम्बोधन गर्न सकिन्छ नि त भन्ने मेरो धारणा हो । जनतासँग मिलेरै संरक्षणमा जानुपर्छ, त्यसो हुँदा मैले विभागको नेतृत्व सही ढंगले गर्न सक्छु । विभागको साथीहरुले मलाई सहयोग गर्नुहुन्छ ।’’
विभागको नेतृत्व समालेपछि संरक्षणमा उदारबादी ढुङ्गाना र परम्परागत संरक्षणको शुत्र समातेका विभागका कर्मचारीबीच आम्ने साम्ने हुने निश्चित छ । निकुञ्जको कुनै पनि पातपतिङ्गर समात्नु हुन्न भन्ने मत विभागभित्र हावी छ र विद्यमान कानूनले पनि त्यही कुरो स्वीकार गरेको छ । तर त्यसो गरेर अब चल्दैन भन्ने धारणा राख्ने गरेका ढुङ्गानाले कसरी कानूनको कार्यान्वायन र कर्मचारी परिचालन गर्ने हुन ? त्यो नै भोलिका दिनको महत्वपूर्ण प्रश्न बनेको छ ।
विभाग अन्तर्गत अहिले पनि बफरजोनको ढुंगा, गिट्टी, बालुवा बेच्ने कर्मचारी छन् । विभागको भण्डारबाट सुराकी प्रयोजन लागि लगेको गैँडाको खाग दिनदहाडै लुटिएका बहाना बनाएर तस्करसँग साठगाँठ गर्ने व्यक्ति छन् । कारवाही स्वरुप एक पटक सरुवा भएको निकुञ्जबाट फेरी त्यही निकुञ्जमा जान पाउ भनेर निवेदन हाल्ने अधिकारी छन् । दुई वर्ष बसेर आफ्नो धन्दा नसक्ने ‘अनफिनिस्ड वर्क’ फण्डा बोकेको बर्दिधारी विभागभित्रै छन् ।
आफू हाकिम हुँदा रेञ्जर, सहायक संरक्षण अधिकृत र लेखा प्रमुख समेत बोकेर जाने अनुहार पनि त्यही विभागभित्र छन् । संरक्षण साझेदार संस्थाका रकममा विदेश सयर गर्ने र कार्यक्रमको डुब्लिकेशन गरी एकातिरको सिंगो रकम झवाम पार्ने अनुहार समेत रहेको विभागमा नयाँ नेतृत्व समाल्न पुगेका सिन्धुको आगामी दिनको बाटो नदी (सिन्धु) जस्तै नागबेली बन्ने हो कि सिधा बग्ने हो ? त्यो भने हेर्न बाँकी छ ।