गुलरिया । बर्दिया जिल्लाका बिभिन्न सामुदायिक वनमा दिगो वन व्यवस्थापन गरी यो वर्ष कम्तिमा २० करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ ।
डिभिजन वन कार्यालय बर्दियाका अनुसार अघिल्लो वर्ष दिगो वन व्यवस्थापन गरेर सामुदायिक वन उपभोक्ता समुहले सोह्र करोड रुपियाँ आम्दानी गरेका थिए भने प्रदेश सरकारले झण्ढै चार करोड राजस्व संकलन गरेको थियो । यो वर्ष समुहहरुले कम्तिमा २० करोड रुपियाँ आम्दानी गर्ने अपेक्षा गरिएको छ भने प्रदेश सरकारलाई कम्तिमा पाँच करोड रुपियाँ राजस्व जाने स्थिति देखिएको छ ।
दिगो वन व्यवस्थापनका माध्यामबाट उत्पादन भएको काठलाई पहिलो प्राथमिकता दिएर स्थानीय उपभोक्तालाई बजार मूल्य भन्दा निकै सस्तोमा बिक्री वितरण गरिएको छ । आफूलाई आवश्यक भएको काठ सस्तोमा उपभोक्ताले पाउँदा चोरी हुने काम पूर्णरुपमा नियन्त्रण भएको छ ।

बर्दिया जिल्लामा दिगो वन व्यवस्थापन सुरु भएको यो दोस्रो वर्ष हो । पहिलो वर्ष ८८ वटा सामुदायिक वनमा दिगो वन व्यवस्थापनको कार्यक्रम लागु गरिएको थियो । गत वर्ष व्यवस्थित र वैज्ञानिक ढंगले थोत्रा, सुकेका, सडेगलेका रुखहरुको छनौट गरी माउ रुख राखेर ८८ वटा सामुदायिक वनमा १४ हजार रुखहरु कटान गरिएको थियो । ती रुखबाट पाँच लाख दुई हजार क्युफिट काठ उत्पादन भएको कुरा डिभिजन वन कार्यालय बर्दियाले जानकारी दिएको छ । यो वर्ष पुराना, बुढा, धोत्रा गरी १६ हजार रुख कटान हुने भएका छन् ।

हालसम्म जिल्लामा २५६ वटा सामुदायिक हस्तान्तरण भएका छन् । हस्तान्तरण भएको मध्य अघिल्लो वर्ष ८८ वटा र यो वर्ष थप २२ वटा गरी कुल ११० वटा सामुदायिक वनमा दिगो वन व्यवस्थापनका काम भइरहेका छन् ।
बरिष्ठ डिभिजनल वन अधिकृत विजयराज सुवेदीका अनुसार समुहहरुले गरेको आम्दानीको ४० प्रतिशत हुन आउने रकम वन, वनस्पति, वन्यजन्तु तथा समग्रमा जैविक विविधता संरक्षणमा खर्च गरेका छन् । कुल आम्दानीको ३० प्रतिशत रकम समुदायभित्रको गरिवी निवारण, महिला सशक्तिकरणका कार्यक्रममा गर्ने गरेका छन् भने बाँकी ३० प्रतिशत रकम समुदायको हितका भौतिक पूर्वाधार, सामुहिक हितकारी काममा खर्च गर्ने योजना बनाइने गरेको कुरा सुवेदीले जानकारी दिएका छन् ।
सुवेदीले भने, “समुहहरुले संरक्षणका कार्यक्रम डिभिजन वन कार्यालयबाट स्वीकृत गरेर मात्र खर्च गर्ने गरेका छन् । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तारबार लगाउने, वृक्षरोपण गर्ने, हुर्काउने, अग्नी नियन्त्रण रेखा निर्माण गर्ने, अग्नी नियन्त्रणका उपकरण खरिद गर्ने, अग्नी नियन्त्रण टोली निर्माण गरी तालिम दिने, वनजंगलभित्र पोखरी निर्माण गर्ने, ट्रेन्च खन्ने, घाटगद्दी निर्माण गर्ने लगायतका कामहरु गर्ने गरेका छन् । यो रकमबाट संरक्षणको काम प्रभावकारी रुपमा भइरहेको छ ।”
बर्दियाका सामुदायिक वनहरुले दिगो वन व्यवस्थापनबाट भएको आम्दानीले रुखवृक्ष नभएको क्षेत्रको पहिचान गरी व्यापक रुपमा वृक्षरोपणका काम समेत गरेका छन् । हरेक सामुदायिक वनले वन हेरालुको व्यवस्था गरेकोले काठ, दाउरा, घाँसपातको चोरी निकासी तथा चोरी शिकार नियन्त्रणमा आइरहेको कुरा डिभिजनल वन कार्यालय बर्दियाका सूचना अधिकारी शिव केशीले बताए ।

केशीका अनुसार दिगो वन व्यवस्थापन सुरु गरेका सामुदायिक वनमा झाडी सरसफाई लगायतका कामहरु भएपश्चात वनको स्वास्थ्य अवस्थामा सुधार आएको छ । केशीले भने, “पछिल्ला दिनमा उपभोक्ता वन संरक्षणप्रति बढी सजग भएका छन् । खुख्खा तथा गर्मी मौसममा लाग्ने वन डढेलो नियन्त्रण गर्न समुदायले प्रभावकारी रुपमा काम गरिरहेका छन् । समुहहरुले स्रोतको सदुपयोग संरक्षणसँग सम्बन्धित काममा गरेका छन् ।”
लुम्बिनी प्रदेशले वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन प्रणाली मापदण्ड २०७९ लागु गरेपछि यो प्रदेशका जिल्लाहरुमा दिगो वन व्यवस्थापनका कामहरु सञ्चालन भइरहेका छन् । रेड कार्यान्वयन केन्द्र मार्फत सञ्चालनमा आएका समृद्धिका लागि वन परियोजनाले सामुदायिक वनका कार्ययोजना निर्माण गर्न सहयोग गरिरहेको छ । सोही कार्ययोजना अनुसार सामुदायिक वनहरुले संरक्षण कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

बर्दियामा गत वर्ष ९० वटा सामुदायिक वनका कार्ययोजना निर्माण गरिएका कुरा डिभिजन वन कार्यालयले जनाएको छ । यो वर्ष थप ३० वटा सामुदायिक वनको कार्ययोजना निर्माण गरिएको छ । बरिष्ठ डिभिजनल वन अधिकृत सुवेदीका अनुसार जिल्लामा विगतमा ससानो क्षेत्रफलालाई पनि सामुदायिक वनका रुपमा हस्तान्तरण गरिएको रहेछ । ससानो सामुदायिक वनमा दिगो वन व्यवस्थापनका ढाँचामा काम गर्न गाह्रो भएकाले अहिले ससाना क्षेत्रफल भएका सामुदायिक वनलाई एकीकृत (मर्ज) गर्ने काम भइरहेको छ ।
सुवेदीले भने, “दिगो वन व्यवस्थापका कार्यक्रमहरु सञ्चालन गर्न कम्तिमा एक सय हेक्टर वन क्षेत्र आवश्यक पर्छ । त्यसैले ससाना क्षेत्रफल ओगटेका सामुदायिक वनलाई मर्ज गरेर कम्तिमा एक सय हेक्टर क्षेत्रफल बनाउने काम भइरहेको छ ।”

काठमा गुणस्तर छैन
बर्दिया जिल्लामा वनजंगल बाहिरी आवरणमा हेर्दा निकै आकर्षक मानिएता पनि काठको गुणस्तर निकै कमजोर पाइएको छ । सुवेदीका अनुसार झाडी बुट्यानको क्षेत्रफल निकै बढी छ, पुरानो सालको जंगल कम छ । साल, सिसौँ लगायका महत्वपूर्ण जातको जंगल भएपनि निकै पातलो र भएका रुखहरु पनि बुढा, धोत्रा रहेका छन् ।
पहिले टिसिएनले काठ कटानी गरेको धेरै क्षेत्रफल यो जिल्लामा रहेको छ । ती क्षेत्रमा टिक जातका वृक्षरोपण गरिएको कमसल खालका वनक्षेत्र धेरै रहेको सुवेदीले जानकारी दिए । उनले भने, पहिले सर्पट कटान गरिएको रहेछ । अधिकांश ठाउँमा सालको जंगलसँगै टिकको जंगल भेटिन्छ ।

सबै काठ बिक्री
गत साल दिगो वन व्यवस्थापन कार्यक्रम मार्फत उत्पादन भएको दुई लाख क्यूफिट काठ स्थानीय उपभोक्तालाई वितरण गरिएको छ भने बाँकी सबै काठ प्रतिष्पर्धाका आधार बिक्री वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
बरिष्ठ वन अधिकृत सुवेदीले भने, “दिगो वन व्यवस्थापनका माध्यामबाट उत्पादन भएको काठलाई पहिलो प्राथमिकता दिएर स्थानीय उपभोक्तालाई बजार मूल्य भन्दा निकै सस्तोमा बिक्री वितरण गरिएको छ । आफूलाई आवश्यक भएको काठ सस्तोमा उपभोक्ताले पाउँदा चोरी हुने काम पूर्णरुपमा नियन्त्रण भएको छ ।”
जंगलमा सडेर ढल्न थालेका, हैसियत बिग्रेका रुखको सदूपयोगबाट प्रदेश सरकारले करोडौँ रुपियाँ राजस्व पाएको छ भने हैसियत बिग्रेको वन क्षेत्रमा नयाँ वृक्षरोपण गर्दा वनजंगलको स्वास्थ्यमा सुधार देखिएको छ ।

































