काँडेतार लगाएर मात्र निकुञ्ज जोगिँदैन

ठाकुरद्वारा । वन तथा वातावरण मन्त्री गिता चौधरीले निकुञ्ज वरीपरी काँडेतार लगाएर मात्र वन्यजन्तुको संरक्षण हुन नसक्ने कुरा बताएकी छन् ।

हिजोको दिनमा लठ्ठी र सिट्टीको भरमा वन, वन्यजन्तु जोगिए । अब लठ्ठी र सिट्टीले मात्र संरक्षण हुन सक्दैन । संरक्षणका काममा आधुनिक प्रविधिको प्रयोग गर्नुपर्छ ।


बर्दिया राष्ट्रिय निकुञ्जको स्वर्ण जयन्ती महोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री चौधरीले निकुञ्ज काँडेतार लगाएर मात्र नजोगिने बताएकी हुन् । उनले भनिन्, स्थानीय समुदायको उत्तिकै सहभागिता र सक्रियता भएन भने न निकुञ्ज बच्छ, न वनजंगल नै जोगिन्छ । निकुञ्ज जोगाउनु छ भने स्थानीय समुदायको साथ र सहयोग आवश्यक छ ।


कार्यक्रममा उनले भनिन्, आज बर्दिया राष्ट्रिय निकुञ्जले ५० औ वर्ष पार गरेको कुरा सुन्दा गर्व र खुसी लाग्यो तर चुनौती पनि उत्तिकै थपिएको कुरा पनि यहाँ सुनिए । अहिले देखिएको चुनौतीलाई सम्बोधन गर्न सकेमात्रै बर्दियाका लागि ठूलो उपलब्धी हुनेछ ।


मन्त्री चौधरीले भनिन्, हिजोको दिनमा लठ्ठी र सिट्टीको भरमा वन, वन्यजन्तु जोगिए । अब लठ्ठी र सिट्टीले मात्र संरक्षण हुन सक्दैन । संरक्षणका काममा आधुनिक प्रविधिको प्रयोग गर्नुपर्छ । उनले संरक्षणमा युवाको सहभागिता र आधुनिक प्रविधिको उपयोग उत्तिकै अपरिहार्य भएको कुरामा जोड दिइन् ।


कार्यक्रममा बर्दिया जिल्लाका संघीय सांसद ठाकुरसिंह थारुले राष्ट्रिय निकुञ्जका कारण बर्दिया राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको बताए । उनले भने, बर्दिया राष्ट्रिय निकुञ्जलाई यहाँका बासिन्दाको जनजीविकासँग जोड्न जरुरी छ ।
अर्का सांसद श्रीधर पोखरेलले विकास र संरक्षणलाई एकसाथ लैजानुपर्ने बताए । पोखरेलले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा ध्यान दिन सरकारसँग आग्रह गरे ।


कार्यक्रममा ठाकुबाबा, राजापुर, बारबर्दिया, बासगढी नगरपालिकाका प्रमुखहरुले बर्दियामा मानव वन्यजन्तुबिचको द्वन्द्वको समस्यालाई समाधान गर्न संघीय सरकारले विशेष योजना सार्वजनिक गर्न माग गरे ।


निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्यले पछिल्ला दिनमा बाघ र चितुवाको आक्रमणबाट मानवीय क्षति धेरै हुन थालेकोले बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलाई वन्यजन्तुबाट संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने धारणा व्यक्त गरे ।


उनले भने, बर्दिया राष्ट्रिय निकुञ्ज हाम्रो गौरव हो तर निकुञ्जका वन्यजन्तुका कारण हामी धेरै परिवार पीडा, दुख्ख व्यहोर्न बाध्य भयौँ । अब यो समस्याको समाधान विशेष ढंगले गरिनुपर्छ ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले स्थानीय तहमा देखिएका समस्या समाधानका लागि विभागले नीतिगत सुधार र संशोधन गर्न पहल गरिरहेको जानकारी दिए ।


डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले बर्दिया राष्ट्रिय निकुञ्ज यो क्षेत्रका लागि बरदान भएको धारणा सार्वजनिक गरे । उनले भने, “ बर्दिया राष्ट्रिय निकुञ्ज घोषणा भएपछि यहाँ पर्यटकीय गतिविधि बढेको, जग्गा महङ्गिएको, आर्थिक गतिविधि चलायमान भएका छन् । बर्दियालाई बर्दियाको रुपमा चिनाउने काम निकुञ्जले गरेको छ ।”


स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रममा संरक्षणमा योगदान दिनुहुने संरक्षणकर्मी, सञ्चारकर्मी, अध्ययन अध्येता, संरक्षण साझेदार संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरियो ।


बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार स्वर्ण महोत्सवका अवसरमा सांस्कृतिक, खेलकुद प्रतियोगिता लगायतका बिभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गरी स्थानीय युवालाई संरक्षण प्रति चासो र आकर्षण जगाउने काम भएको छ । स्वर्ण महोत्सव समारोहमा मन्त्री चौधरीद्वारा प्रकाशित स्वर्ण स्मारिकाको लोकार्पण गरियो । स्वर्ण महोत्सवमा निकुञ्ज विभागको पूर्व महानिर्देशकहरु, नेपाल सरकारका पूर्व सचिवहरु, स्थानीय समुदाय, वन्यजन्तु पीडित परिवारको उल्लेख्य सहभागिता रहेको थियो ।

इतिहासमा बर्दिया राष्ट्रिय निकुञ्ज

विसं २०२६ सालमा शाही शिकार सुरक्षित वनको रुपमा शसस्त्र सुरक्षा गार्ड खटाएर यहाँको वनजंगल र वन्यजन्तुको संरक्षणको काम भएको थियो । पछि २०३२ सालमा शाही कर्णाली वन्यजन्तु आरक्षको रुपमा ३४८ वर्गकिलोमिटर वनजंगलको क्षेत्र संरक्षण हुँदै आएको हो ।


२०३९ सालमा शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र २०४१ सालमा साविकको ३४८ वर्गकिलोमिटरमा बबई उपत्यका, चेपाङ र बाँके जिल्लाको चिसापानी क्षेत्रलाई समेटेर ९६८ वर्गकिलोमिटर बनाइएको हो । २०४५ सालमा आरक्षलाई शाही बर्दिया राष्ट्रिय निकुञ्ज घोषणा गरियो भने २०६३ सालमा बर्दिया राष्ट्रिय निकुञ्ज नामाकरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here