प्रदीपले माया गरेकालाई वन मन्त्री महतोद्वारा पेल्न सुरु

काठमाडौँ । पार्टीभित्र ज्यादै रस्साकस्सीका बीच वन तथा वातावरण मन्त्री नियुक्त भएका वीरेन्द्रप्रसाद महतोले कर्मचारी सरुवामा आफ्नै पार्टीका पूर्व मन्त्री प्रदीप यादवले माया गरेका कर्मचारीलाई पेल्न सुरु गरेका छन् ।

महतोलाई मन्त्रीमा नियुक्त गर्दा पार्टीभित्र खरो बिरोधमा उत्रिएका प्रदीप यादवलाई थमथमाउन पार्टी अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको सचेतकको जिम्मेवारी दिएपनि त्यसको असर अहिले वन मन्त्रालयको सरुवामा परेको छ । अघिल्लो पटक पनि रामसहाय प्रसाद यादवलाई वन मन्त्रीमा नियुक्त गर्दा प्रदीप यादवले वीरगञ्जमा बिरोध जुलुस निकाल्नुका साथै जनता समाजबादीको पार्टी कार्यालयमा तोडफोड समेत गरेका थिए । अहिले महतोको वन मन्त्री नियुक्तिमा पूर्वमन्त्री यादवले हरेक मञ्चमा बिरोध गर्दै आइरहेका छन् र मन्त्री नियुक्ति प्रति पार्टीभित्र असन्तुष्टीको तह बढ्दै गएको छ ।

पार्टीको हरेक पटकको बैठकमा महतोको मन्त्रीमा नियुक्तिलाई गम्भीर विषय बनाउँदै आएका प्रदीप यादव वन मन्त्री भएका बेला उनको नजिक रहेको व्यक्तिलाई पेल्ने रणनीति वर्तमान मन्त्री महतोले बनाएका छन् । मन्त्रीमा नियुक्त भएर आएपछि महतोले पूर्व वन मन्त्री प्रदीप यादवको पालामा कसले कुन ठाउँमा नियुक्ति तथा पदस्थापन पाए, त्यसको सूची तयार पार्न लगाएका थिए ।

प्रदीप यादवले नियुक्ति गरेका कर्मचारीहरु यथास्थानमा रहँदा आफूले गरेको काम कारवाहीको सबै सूचना प्रदीपले पाउने र उसले पार्टीभित्र र बाहिर त्यसको बिरोध गर्दै आफूलाई कमजोर बनाउन सक्ने निष्कर्षमा वर्तमान मन्त्री महतो पुगेका छन् । मन्त्री नियुक्तिको विषयमा पार्टीभित्र थप संकट पर्न सक्ने डरले मन्त्रालयबाट सम्पादन भए, गरेको क्रियाकलापको सूचनाबाट प्रदीपलाई रोक्न सरुवामा नयाँ रणनीति अवलम्बन गरेका छन् । आर्थिक चलखेल हुँदा महतोलाई उपेन्द्र यादवले मन्त्रीमा सिफारिस गरेको भन्दै अघिल्लो महिना बसेको पार्टी सञ्चालन समितिको बैठकमा चर्काे आलोचना भएको थियो । सो बैठकमा यो विषयको उठान प्रदीप यादवले नै गरेको थिए ।

अघिल्लो पटक प्रदीपले किनारा लगाएका र काखी च्यापेको व्यक्तिको सूची तयार भएपछि हालका मन्त्री महतोले पार्टीभित्र देखिएको चरम असन्तुष्टि र बिरोधको बदला कर्मचारीमाथि फेर्न थालेका छन् । राष्ट्रपति चुरेमा सदस्य सचिव पदमा रहेका डा. महेश्वर ढकाललाई तत्कालिन मन्त्री प्रदीप यादवले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा ल्याएका थिए ।

पूर्व मन्त्री प्रदीपले माया गरेको व्यक्तिको सूचीमा मन्त्री महतोको सचिवालयले डा. ढकाललाई एक नम्बर राखेको छ । पूर्व मन्त्री यादव र ढकालको सुमधुर सम्बन्ध थाहा पाएको दिनदेखि अनेकौँ निहुँ खोज्न थालेका मन्त्री महतोले बर्दियाको एक कार्यक्रममा त निकुञ्जका कर्मचारी गैँडाको खाग बेच्ने, चोरी शिकारीसँग मिलेर बाघको छाला बेच्ने जस्तो आरोप सार्वजनिक कार्यक्रममा लगाएका थिए । उनले तीन मिनेट होइन, तीन सेकेण्डभित्र कारबाही गर्ने घोषणा समेत गरेका थिए । पूर्व मन्त्री यादवको विश्वासपात्र भएको व्यक्तिको रुपमा निकुञ्ज विभागका उपमहानिर्देशक अजय कार्कीलाई पनि मन्त्री महतोको सचिवालयले राखेको छ ।

निकुञ्ज विभागका महानिर्देशक डा. ढकाल हाल जापानमा छन् । उनी जापानमा रहँदा उनको सरुवा चुरे उत्थानशिल आयोजनामा भएको छ । निकुञ्जको महानिर्देशकमा नियुक्त भएपछि हालको अवधिमा ढकाल पाँच÷छ पटक विदेश भ्रमणमा गईसकेका छन् । त्यो विदेश भ्रमणको सूची पनि मन्त्री महतोको टेबलमा राखिएको छ । संरक्षण साझेदार संस्थाको सहयोगमा निकुञ्जभित्र सिर्जनात्मक र रचनात्मक कामको थालनी गरेका ढकाललाई नेपालभित्रै फिल्ड जाँदा दैनिक भ्रमणभत्ता नभएको र सवारी साधनमा तेल खर्च नदिने व्यवस्था भएको आयोजनाको प्रमुख बनाइएको छ ।

सो आयोजनाको डिजाइन गर्दा आयोजनाको कामका लागि बैठक बस्दा समेत यथेष्ट बैठकभत्ताको व्यवस्थापन गरिएको छैन । आयोजना प्रमुख भएपनि सरकारी तलब बाहेकको अरु कुनै सुविधा आयोजनाले नदिने व्यवस्था रहेको छ । आयोजनाको लागि सवारी साधन हालसम्म खरिद भएको छैन । फिल्ड जानु पर्दा भाडाको गाडी लगेर जानु पर्ने अवस्था भएको आयोजनामा मन्त्री महतोले डा. ढकालको सरुवा गरेका छन् । सो आयोजनामा डा. राजेन्द्र केशी र पछिल्लो चरणमा गण्डकी प्रदेशबाट सरुवा भएर आएका अर्का सहसचिव बद्री ढुङ्गानाले बस्न नमानेको ठाउँ हो । यस पटकको सरुवामा ढुङ्गानाको मागको सम्बोधन गर्दै उनलाई मन्त्रालय लगिएको छ भने ढुङ्गानाले छोडेको ठाउँमा ढकालको सरुवा भएको छ ।

त्यसैगरी पूर्व मन्त्री प्रदीप यादवले बढी विश्वास गरेका मेघनाथ काफ्लेलाई राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिको सदस्य सचिवमा सरुवा गरिएको छ । काफ्ले जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख भएर हालसम्म आठ पटक बिभिन्न देशको भ्रमण गरिसकेका छन् । काफ्ले हालै मात्र जर्मनमा झण्डै एक महिनाको सरकारी भ्रमण गरेर फर्केका थिए ।
राज्यमन्त्री र सहायक मन्त्री सरहको सेवा सुविधा लिने तर कामका हिसाबले झिँगा समेत नमार्ने चुरेको समितिसँग दैनिक किचलो व्यहोर्नु पर्ने ठाउँमा काफ्लेलाई सरुवा गरिएको छ । चुरे समितिका पदाधिकारीको गाडी, तेल र भ्रमण खर्चको व्यवस्थापनमा दिन कटाउने ठाउँमा उनलाई पूर्वमन्त्री प्रदीप यादवको पालादेखि लाभको ठाउँमा बसेको भन्दै वर्तमान मन्त्री महतोले पेलेरै पठाएका छन् ।

पूर्व मन्त्री प्रदीप यादवले तत्कालिन वन तथा भूसंरक्षण विभागको महानिर्देशकबाट उपमहानिर्देशक पदमा सरुवा गरेर पीडित भएको सूचीमा परेका डा. राजेन्द्र केशीलाई चुरे उत्थानशिल आयोजनाको प्रमुखबाट वनस्पतिको महानिर्देशक बनाएका छन् । दैनिक भ्रमणभत्ता समेत नभएको आयोजनाबाट डा. केशीलाई मन्त्रालयको पूरानो र कामको हिसावले निकै महत्वपूर्ण वनस्पति विभागको महानिर्देशक पदमा सरुवा गरेर प्रदीप यादवले दिएको पीडामा मलम लगाइदिएका छन् ।

प्रदीप यादवले निकुञ्ज विभागबाट हटाएर रेड कार्यान्वयन केन्द्रमा पु¥याएका डा. रामचन्द्र कँडेललाई निकुञ्ज विभागको महानिर्देशक बनाउने विषयले पनि बालुवाटार र देउवा निवासमा लामो छलफल त भयो । कँडेललाई निकुञ्ज विभागमा लैजान कर्मचारीको लामो र गहन लबिङ पनि भयो तर राजनीति भागबण्डा मिलाउन सिन्धु ढुङ्गानालाई महानिर्देशक बनाउनु पर्ने बाध्यतामा परेका मन्त्री महतोले कँडेललाई मन्त्रालयको आफ्नो कोर टिममा लगेका छन् । प्रदीपले पेलेका कँडेललाई मन्त्रालयमा मागेको महाशाखामा दिने गरी सरुवा गरिएको बुझिएको छ ।

प्रदीपले धाप मारेको मान्छे रुपमा चिनिएका देवेशमणी त्रिपाठीलाई सेवा निवृत हुनै लाग्दा मन्त्री महतोले मन्त्रालयमा बोलाएर डाठेका थिए । तत्कालिन विभागको महानिर्देशकको हैसियतले त्रिपाठीले वन विभागबाट अघि बढाएका केही फायलको कामकारबाहीमा मन्त्री महतोले विश्वास नगरेर ती फायल अध्ययन गर्ने जिम्मा शाखा अधिकृत राम एकवाल दासलाई दिएका थिए । सेवा निवृत हुन थालेको सहसचिवले बोकेर लगेको फायलमाथि मन्त्री महतोले अविश्वास गर्दै थप अध्ययन गरेर प्रतिवेदन पेश गर्न शाखा अधिकृत दासलाई खटाएको घटनाले मन्त्रालयमा व्यापकता पाएको थियो । मन्त्रीको व्यवहार देखेर बाध्य हुँदै तत्कालिन महानिर्देशक त्रिपाठी सेवा निवृत हुनु भन्दा एक हप्ता अघि नै बिभाग आउन छाडेका थिए ।

स्मरणीय के छ भने वन विभागको महानिर्देशकबाट डा. राजेन्द्र केशीलाई हटाएर, मन्त्रालयका वरिष्ठ सहसचिव शिव वाग्लेलाई रोकेर सुदूरपश्चिम प्रदेशको सचिवबाट विभागको महानिर्देशक बनेका त्रिपाठी अन्तिम अवस्थामा मन्त्रीसँगको टकरावले विभाग आउन नसक्ने अवस्था भएपछि सेवा निवृत हुनु अघि बिभाग नआउने प्रचलनको आफूले सुरुवात गर्न खोजेको तर्क प्रस्तुत गरेका थिए । यद्धपी विभागमा असारको ७ गतेबाट आउन छाडेको त्रिपाठी असार १० गते चितवनको टिकौलीको शसस्त्र वन रक्षक तालिम केन्द्रमा भएको एक कार्यक्रमका अतिथी बनेका थिए । त्रिपाठीले असार १२ गते अनिवार्य अवकाश पाएका थिए ।

हतारमा सरुवा भयो
मन्त्री महतोले साउनको दोस्रो हप्तासम्ममा सहसचिवको सरुवा गर्ने योजना बनाएका थिए । मन्त्रीको सचिवालयका अनुसार पहिलो हप्ता कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन र अन्य बाँकी रहेका कामहरु सम्पन्न गरिसकेपछि विभागीय प्रमुखहरुको सरुवा गर्ने योजना बनेको थियो । तर सञ्चारमाध्यममा मन्त्रीको कार्यक्षमतामाथि प्रश्न खडा हुने गरी कर्मचारी व्यवस्थापन गर्न नसकेको कुरा आएपछि छिटो सरुवाको काम अघि बढेको हो । मन्त्रीको कार्यशैलीका विषयमा नेपालकथाले यस अघि बुधबार समाचार प्रकाशित गरेको थियो ।


सचिवालय स्रोतका अनुसार राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशकका प्रवल दावेदार डा. रामचन्द्र कँडेललाई विभाग भन्दा मन्त्रालयमा आएर सहयोग गर्न आग्रह गरे अनुसार सरुवा भएको छ । मन्त्रालयमा रहेका सहसचिव जीवनाथ पौडेललाई मन्त्रालयमा बसेर काम गर्न पनि सकिने र पछि रोजेको प्रदेशमा पठाउने गरी हाललाई यथावत राखिएको थाहा भएको छ ।
सुदूरपश्चिम प्रदेश सचिवमा रहेका बेदकुमार ढकाललाई निकुञ्ज विभागमा ल्याउने तयारी भएको छ भने मधेश प्रदेशमा संघबाट कसैलाई पनि नपठाउने छलफल भएको बुझिएको छ ।

लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सचिव यो पटक सकभर नचल्ने भएका छन् भने आगामी कात्तिक १७ गते सेवानिवृत हुन थालेका बागमति प्रदेश सचिव यज्ञनाथ दाहालको अड्डासार नहुने भएको छ । हालै मात्र गएका कर्णाली प्रदेशका सचिव र दुई पटक वनस्पति विभागको महानिर्देशक भएका कोशी प्रदेशका सचिव सञ्जिव राईलाई पनि फिर्ता नबोलाउने गरी तयारी भएको मन्त्रीको सचिवालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here