काठमाडौँ । वन तथा वातावरण मन्त्रालयमा प्रवेश गरेको समयका आधारमा वन मन्त्री डा. बीरेन्द्रप्रसाद महतो भन्दा वन सचिव डा. रेवतीरमण पौडेल जेठा थिए । पौडेल २०७९ माघ २० गते कामु सचिवमा हाजिर भएका थिए भने मन्त्री महतो २०८० साल जेठ १० गते पदवहाली गरेका थिए । सहसचिवमा लामो समयको अनुभव समालेका पौडलेको सचिव पदमा पहिलो पोष्टिङ थियो भने व्यक्तिगत कम्पनी चलाइरहेका महतोको पनि पहिलो पटक मन्त्रीको अवसर थियो ।
मन्त्री महतोले आफ्नो हनिमुन अवधि (सय दिन) पार गरेकै दिन र सचिवले मन्त्रालयमा आएर काम सुरु गरेको माघ देखि दिनगन्ति गर्दा ठिक सात महिना पुरा भएको छ । सात महिना पुगेकै दिन सचिव पौडेलले सोमबार रमाना लिएका छन् । तत्कालिन वन सचिव पेमनाराण कँडेल २०७९ मङसिर ११ गते सेवानिवृत भएपछि लामो समय निमित्तका भरमा मन्त्रालय चल्यो । सचिव नियुक्तिका विषयलाई लिएर अदालतमा मुद्धा परेपछि करिब डेढ महिनापछि कामु सचिवका रुपमा पौडेल कृषि विभागको महानिर्देशकबाट वन मन्त्रालयको सचिवमा भित्रिएका थिए ।
पौडेलको आगमन पनि सहज र सरल तरिकाले भएको होइन, माघ १६ गतेको मन्त्रिपरिषदको निर्णय भनिएका कामु सचिव मुकरर गरिएको चिठ्ठी पौडेलले १८ गते पाएर उनी २० गते मात्रै वन मन्त्रालयमा हाजिर भएका थिए । वन मन्त्रालयका बरिष्ठ सहसचिव यमप्रसाद पोखरेललाई कामु सचिव बनाउने निर्णय भएको भन्दै प्रधानमन्त्री कार्यालयबाट बधाई समेत आएको र पोखरेलले बधाई लिइसकेको पनि बताइएको थियो तर पछि पोखरेल नभएर चिठ्ठी पाउनेमा पौडेल थिए ।
मन्त्री आएपछि टसलै टसल
जेठ १० गते मन्त्री महतोले सपथ लिए । सपथ लिएकै दिन मन्त्री महतोले सम्बोधन गर्ने क्रममा वन मन्त्रालयका कामकारवाही ठिक नभएको गुनाशो शब्द सुनेका सचिव पौडेलले भदौ १६ गते सम्म कुनै दिन पनि कर्मचारीले सहयोग गरेको बचन मन्त्रीको मुखबाट सुन्न पाएनन् । तथापी उनी बसेकै थिए, उनको चाहाना नजिकै आएको जलवायु परिवर्तन सम्बन्धीको विश्व सम्मेलन कोपमा सहभागी हुनेसम्मको थियो ।
जेठमा मन्त्रीमा नियुक्त भएका मन्त्री महतोले बजेटमा निर्माणमा खासै चलखेल गर्न पाएनन् । मन्त्री भएर पनि बजेट निर्माण गर्न नपाएको असन्तुष्टी मन्त्री महतोले बेला बेला पोख्ने गरेका छन् । यो अवधिमा मन्त्री महतो र सचिव पौडेलबीच दुरी बढाउने दर्जनौँ घटना यसरी विकसित भएका देखिन्छन् ।
मन्त्री महतोले आफ्नो जिल्लालाई केन्द्रित गरेर रकमान्तर गर्नका लागि पठाएको फायलको काम अर्थ मन्त्रालयबाट स्वीकृत नहुने सन्देश लिएर असार ६ गते जब सचिव पौडेल मन्त्रीको कोठमा छिरे । त्यति बेला मन्त्री महतोले आफ्ना पार्टीका कार्यकर्ताहरु वरीपरी राखेर अर्थ मन्त्रालयले साढे आठ करोड रुपैयाँ रकमान्तर गरिदिने र तत्काल कार्यकर्ता परिचालन गरेर काम सम्पन्न गर्नुपर्ने गफ छाँटिरहेको थिए । त्यहाँ चलिरहेको गफको बिपरित सचिव पौडेलले अर्थ मन्त्रालयको सन्देश सुनाए । असार लागिसकेकोले नयाँ काम गर्न रकमान्तर गर्न नसकिने कुरा अर्थ मन्त्रालयले गरेको सचिवले भन्न नपाउँदै मन्त्री महतो सचिव पौडेल माथि जाइ लागे ।
आफ्ना कार्यकर्ताका बीचमा मन्त्री महतो तथानाम शब्द बोल्न थाले । अर्थ मन्त्रालयका कर्मचारीको रिस वन मन्त्रालयका कर्मचारीको नाम लिएर तथानाम बोले मन्त्रीले । ‘वनका सब कर्मचारी घुस्याहा, टन्न पैसा कमाएर बसेका छन्, हामीले राजनीति गर्नुपर्छ, कार्जेकर्तालाई कार्यक्रम दिनुपर्छ । यस्तो कुरा घुस्याहा कर्मचारीले कहाँ बुझ्न सक्छन्’ भनेर मन्त्री बरबराउन थालेपछि निशब्द भएका सचिव पौडेल ‘एक छिन पछि आउन्छु मन्त्री ज्यू’ भन्दै बाहिरिए । त्यो दिनको घटना सचिवले आफ्ना सहसचिवहरुलाई सार्वजनिक गरे र निकै चित्त दुखाए ।
वन्यजन्तु चोरी शिकार नियन्त्रण सम्बन्धी बर्दियामा एक कार्यक्रम थियो । कार्यक्रममा मन्त्रीले बोल्ने भाषण मन्त्रालयले तयार पारेको थियो । मन्त्रीलाई सो भाषण काठमाडौँमा दिइएको थियो तर बर्दियामा मन्त्रालयले तयार गरेको भाषण भन्दा निकै पर पुगेर कर्मचारी नै खाग तस्करीमा लागेका, शिकारीसँग साँठगाँठ हुने गरेको र तीन सेकेण्डमा कारवाही गर्छु भन्ने समेत मन्त्रीले बोले । कार्यक्रममा मन्त्रालय बाहेक नेपाली सेना, प्रहरी, गाउँपालिका र नगरपालिका, मध्यवर्ती क्षेत्र लगायतका निकाय र फरक व्यक्तिहरुको उपस्थिति थियो । सो घटनापछि पनि मन्त्रालयका बरिष्ठ कर्मचारीले सचिवलाई घेरेर आपत्ती जनाए । मन्त्रीलाई सम्झाउन आग्रह गरे ।
काठमाडौँ फर्र्किएपछि सचिव पनि कस्सिएर मन्त्रीको कोठामा पुगे । उनले मन्त्रीसँग कर्मचारीको कमजोरी भए कारवाही गरौँ तर सार्वजनिक सभा समारोहमा कर्मचारीको मनोबल गिराउने काम नगरौँ भन्दा मन्त्री उल्टो झोक्किए । मन्त्री महतोले सचिव पौडेललाई कर्मचारीको पक्षमा नबोल्न भने । डोनरका हरेक गोष्ठी, सेमिनारका डिनर, पार्टीमा रमाउने, मन्त्रालय र विभागमा काम गराउन खोज्दा कहिल्यै नभेटिने, फट्याई गर्ने कर्मचारीको पक्षमा तपाई नबोल्नुहोस भनेर हप्काए । फेरी सचिव चुप भएर बस्नुपर्यो ।
प्रदेशका वन मन्त्री, वन सचिवहरुलाई बोलाएर मन्त्रालयको हलमा एक कार्यक्रमको आयोजना गरियो । त्यहाँ पनि मन्त्री महतोले लमजुङको वन अधिकृत र गण्डकी प्रदेशका वन सचिवलाई औलो ठड्याएर गुनाशो व्यक्त गरे । सबै प्रदेशका सचिवलाई राखेर अर्काे सचिवलाई तल गिराउने शब्द बोल्दा कर्मचारीले राम्रो मानेका छैनन् भनेर सचिवले साँझ मन्त्री महतो समक्ष ब्रिफिङ गरे । मन्त्री महतोले फेरी सचिव पौडेललाई डिएफओ भनेको कुन देशको राजा हो ? त्यसले अरुलाई कारवाही गर्छ भने त्यो डिएफोलाई हामीले कारवाही गर्नु सक्नुपर्छ । त्यहाँकोे वन सचिव के हेरेर बसेको छ ? त्यसलाई भोली नै फिर्ता बोलाउनुहोस् भनेर सचिव पौडेलेको फेरी मन्त्रीको सातो खाए ।
झयाउ खुला गर्नुपर्ने माग राख्दै व्यापारीले मन्त्रीलाई घेरे । वन मन्त्रालयले यस अघि झयाउ संकलन किन रोकेको भन्ने जवाफ मन्त्रीले सचिव पौडेलसँग मागे । सचिव पौडेलले वन विभागसँग बुझेर जवाफ दिने बताए । भोलिपल्ट फेरी मन्त्रीले सोधे, त्यही झयाउको विषय । सचिवले आजै वन विभागको डिजी देवेशमणी त्रिपाठीलाई बोलाएर सबै कुरा बुझ्ने जवाफ दिए । त्यति बेलाको मन्त्रीको आक्रोश सम्झिदै मन्त्रालयका एक अधिकारी भन्छन्, ‘‘मन्त्रीले त्यो दिन साँच्चै अनपढ जस्तै व्यवहार गरे । त्यस्तो शब्द पनि बोल्छ होला भन्ने कल्पना गर्न सकिदैन । सचिव ज्यू बिचरा नै हुन् । केही बोल्नु भएन ।’’
‘‘झयाउका बारेमा सचिवले जवाफ दिनु अघि नै व्यापारी र डिजी त्रिपाठीले मन्त्री महतोलाई सबै पाठ, तिथिमिति पढाई, घोकाई सकेका रहेछन् । झयाउको इतिहास बुझेर सचिवलाई गाली गरेको रहेछ । तत्कालिन वनको डिजी देवेशमणीले मन्त्रीसँग एउटा कुरा र सचिवसँग अर्काे कुरा गरी खेल्न खोजेको रहेछन् जस्तो लाग्यो’’, ती सहसचिवले नेपालकथासँग भने ।
दिउसो १२ बजेतिर केबलकार व्यवसायी चन्द्र ढकालको चिल्लो गाडी वन मन्त्रालय अगाडि रोकियो । छिनभरमै वन विभागदेखि लिएर सरोकार राख्ने सबै सहसचिव बोलाइए । ढकालको पाथीभरा केबलकारका बाँकी बक्यौता काम एकै दिनमा सक्काउने निर्देशन मन्त्रीको थियो । वन विभागद्वारा सो बैठकमा पाथीभराका बारेमा प्रस्तुती भयो । पाथीभरा केबलकारको फायलका बारेमा मन्त्रीले जे निर्देशन दिए, दुई हप्तासम्म पनि मन्त्रीको निर्देशन अनुसार फाष्ट ट्रयाकमा काम हुन सकेन, तर पनि निर्दिष्ट प्रक्रियामा काम सचिवले अघि बढाए, त्यसमा पनि मन्त्री सन्तुष्ट देखिएनन् । व्यवसायी ढकाल जतिदिन मन्त्री कहाँ धाउँछन्, त्यति दिन नै सचिवले थर्कमान हुनुपर्ने परिस्थिति सिर्जना भयो । सो फायलका काम हाल वन विभागले डिभिजन वन कार्यालय ताप्लेजुङ पठाएर काम अगाडि बढाइरहेको छ ।
सहसचिवको सरुवामा सचिवको केही रिर्जवेशन थियो तर मन्त्रीको अगाडि उनको केही लागेन । विशेष गरी मन्त्रालयमा बसेर गोष्ठी, सेमिनार मात्र धाउने केही महाशाखा प्रमुखको काम प्रति स्वयम् सचिव पौडल सन्तुष्ट थिएनन् । त्यस्ता महाशाखा प्रमुखलाई विभाग होइन, फेरी पनि प्रदेश पठाएर मन्त्रालयमा राम्रो टिम बनाउने सचिवले चाहाना राखेका थिए तर मन्त्रीले सचिवको कुरो सुनेनन् ।
हरेक मन्त्री परिवर्तन हुने वित्तिकै निकुञ्जभित्र बन्द भएका होटल खोल्नु पर्छ भन्ने एजेण्डा लिएर दलाल, एजेन्टहरु सलबलाउने गर्छन् । व्यापारिक घरानाका महतो मन्त्री भएपछि झन काम गर्न सहज हुने अनुमान ती एजेन्टको छ । होटल खुलाउने विषयमा पनि मन्त्री र सचिवको मतभेद भयो । विगतमा बन्द गर्नुपर्ने कारणको व्यापक अध्ययन नगरी काम अगाडि बढाउन नसक्ने अडानमा सचिव रहे । मन्त्रीले जहिले पनि निकुञ्जलाई के देखाउने मात्र हो र ? त्यहाँ भित्र त होटल, केबलकार लिएर पर्यटन व्यवसाय फस्टाउन दिने हो भन्दै आएका छन् ।
मन्त्री महतोले एक दिन मन्त्रालयका सहसचिवहरुको बैठकमा तपाईहरुले हरेक दिनको गृहकार्य त्यही दिन सक्नुहोस्, फसे म फस्छु, काम गर्नुहुन्न भने मैले कारवाही गर्नुपर्ने हुन्छ सम्मको बाणी प्रकट गरे । दुई दिन चितवन बसेर फर्केका सचिव पौडेललाई चितवनमा टाइगर टप्स होटल राख्ने फायल तत्काल अघि बढाउन निर्देशन दिँदै मन्त्रीले फसे म फस्ने भएकाले काम नरोक्न सचिवलाई निर्देशन दिए । सचिव पौडेलले अहिले सम्मका ठूलठूला काण्डमा नेता कोही नफसेको तर कर्मचारी जेल गएको नजिरलाई हेरेर आफुले मातहतका कर्मचारीलाई फायल उठाउन भन्न नसक्ने जवाफ दिएका थिए ।
पर्सा राष्ट्रिय निकुञ्जमा काजमा पठाइएका प्रमुख संरक्षण अधिकृत अशोक रामलाई असार नसकिँदै फिर्ता बोलाई अर्काे उपसचिव पठाउन मन्त्रीले निर्देशन दिए । सचिवले विभागसँग सल्लाह गर्नुपर्ने र वर्षको अन्तिम महिनामा फिर्ता बोलाउँदा कार्यप्रगतिमा पनि असर पर्ने बताए । पर्सामा अशोक रामले क्रसर उद्योगलाई कडिकडाई गर्न थालेपछि क्रसर उद्योगीहरु, नेपाली कांँग्रेसका प्रदेश संसदीय दलका नेता तथा एमालेका संघीय सांसदको टोलीले अशोक रामलाई तत्काल हटाउन लबिङ गरिरहेका थिए । पर्सामा प्रमुख संरक्षण पदमा आफ्नो अनुकुलका उपसचिव लैजान क्रसर व्यापारी सक्रिय रहेको र सो काममा विभागका केही उपसचिव लागिरहेको सूचना पाएका सचिव पौडेलले मन्त्रीलाई तत्काल अशोक रामलाई फिर्ता नबोलाउने बरु नियमित सरुवामा अर्काेलाई पठाउने जवाफ दिएपछि मन्त्री महतो फेरी क्रुद्ध भए ।
मन्त्री महतोले कर्मचारी भन्दा बाहिरी व्यापारीको कुरा सुन्ने गर्छन् । मध्यवर्तीभित्रको प्राकृतिक स्रोतमा आँखा परेका केही व्यापारीहरुले सिफारिस गरेको व्यक्तिलाई तत्कालै बाँके राष्ट्रिय निकुञ्जमा हाकिम बनाएर त्यहाँका श्याम साहलाई सार्न चाहेका थिए मन्त्रीले । बाँकेमा सरुवा गर्नका लागि मन्त्री महतोले मन्त्रालयका प्रशासन महाशाखासँग सल्लाह पनि गरे तर सचिव र सामान्य प्रशासन मन्त्रालयको कन्सर्न बिना सरुवा गर्न नसकिने प्रशासन महाशाखाले बताएपछि विभागका एक उपसचिवलाई रातारात बाँकेको प्रमुख संरक्षण अधिकृत बनाउने मन्त्रीको योजना पनि अधुरो छ ।
मन्त्री महतोको कार्यकक्षमा दिनदिनै धाइरहेको क्रसर व्यवसायीहरुले पर्सा र बाँके राष्ट्रिय निकुञ्जमा आफ्नो अनुकुलको प्रमुख संरक्षण अधिकृत लिन लबिङ गरिरहेका छन् । पर्सामा क्रसर उद्योगलाई कडाई गरिएपनि बाँकेमा भने निकुञ्ज प्रमुखले आँखा चिम्लेर मध्यवर्ती क्षेत्रबाट रातदिन ढुङ्गा, गिट्टी, बालुवा हाल पनि उठ्ने गरेको छ ।
विभागका महानिर्देशक सिन्धु ढुङ्गानाले गत हप्ता नै सरुवाको लिष्ट मन्त्रीको टेबलमा पुरयाएको हल्लाले निकुञ्जमा खैलाबैला मच्चिइसकेको थियो । सचिवले असोज पछि मात्र मन्त्रालयले सरुवा गर्ने समयमा निकुञ्जभरीका सरुवा गर्ने अडान राखे । सचिवको यो अडानले पनि मन्त्रीसँग दुरी बढाउँदै लग्यो ।
मन्त्री महतोको लगानी धेरैजसो जलविद्युत् आयोजनामा छ । उनले आफू संगल्न भएका केही योजनाको काम फत्ते पारेपनि विशेष गरी लमजुङ र गोरखामा पाइप लाइनमा रहेका जलविद्युत् आयोजनालाई छिटै काम अघि बढाउन चाहेका छन् । तर सचिवले प्रक्रिया अनुसार नै काम गर्नुपर्ने र कर्मचारीलाई विश्वास गर्नुपर्ने बताएपछि उनले सचिव पौडेलको विकल्प खोजिरहेका थिए । उता कृषि विकास मन्त्रालयमा पशु हेर्ने गरेको सचिव दिपक खरालले पनि लामो समयदेखि वनमा आउन खोजिरहेका बेला सरुवाले मूर्त रुप लिएको हो ।
पौडेल सरुवाको कुरामा डा. आरजु देउवा संसदको कृषि, सहकारी तथा तथा प्राकृतिक स्रोत समितिको सभापति भएपछि झन तातो लागेको बताइन्छ । पौडेलका कामप्रति देउवा निवाससम्म पुग्ने व्यवसायीहरु पनि सन्तुष्ट थिएनन् । पौडेललाई बढुवा गर्ने देखि लिएर वन मन्त्रालयमा टिकाउने काममा प्रधानमन्त्री प्रचण्डको ठूलो हात रहेको बेला सत्ता साझेदारको प्रमुख निवासबाटै बिकल्प खोज्न गरिएको माग पूरा भएको पनि समाचार शुत्रले बताएको छ ।
नेपाली कांग्रेसमा वन वातावरण क्षेत्रलाई नजिकबाट नियाल्ने एक सांसदले नेपालकथासँग सोमबार राती भने, ‘हाम्रा व्यवसायीका काम पनि सचिवले रोके, मन्त्रीसँग पनि त्यति राम्रो इन्भारमेन्ट बनाउन सकेनन् । वन सचिवको सरुवा मन्त्रीले चाहेर मात्र भएको होइन । पार्टीलाई सहयोग गर्ने धेरै साथीहरुको काम रोकिन थालेपछि तत्काल विकल्प खोज्ने कुरामा पार्टीको नेतृत्वले नै प्रधानमन्त्रीसँग आग्रह गरेको हो । अहिलेकै अवस्थामा हाम्रो नेतृत्वको आग्रहलाई प्रधानमन्त्रीले नमानेर सुख्ख पनि छैन नि ।’’
मन्त्रीले भने श्रीमान सचिव ज्यू
सोमबार साढे दुई बजे वन मन्त्रालयको हलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । मन्त्री वानेश्वरस्थित संसद सचिवालयबाट सोझै मन्त्रालयको भूईतलाको हलमा छिरे । मन्त्रीलाई सम्बोधन गर्न लगाइयो । सय दिनसम्म सचिवसँग तितो र टर्राे बोलेको मन्त्री महतोले आफ्नो सम्बोधनको क्रममा सोमबार ‘श्रीमान सचिव ज्यू’ भनेर बोले । मन्त्रीले आफू मातहतको सचिवलाई ‘श्रीमान सचिव ज्यू’ भनेर बोलेको सुनिएको बिरलै होला ।
लिखित टिपोटबाट बोलेको मन्त्रीका भनाई एकआपसमा बिरोधाभासपूर्ण थिए । पत्रकार सम्मेलनमा खासै खुसी नदेखिएका सचिव पौडेलले अन्तिममा बोल्दा मन्त्रीको बचाउ गरेर हिँडे । एनटीएनसीका एक जना पदाधिकारीलाई छेऊमा राखेर संरक्षण साझेदार संस्थालाई गाली गरेका मन्त्री महतोले राष्ट्रिय निकुञ्जका कर्मचारीले काम गर्न गाह्रो मान्ने गरेको आरोप लगाए । आफूले यसो भन्दा निकुञ्जका कर्मचारीले नराम्रो सोच्ने गरेको समेत मन्त्री महतोले भन्न भ्याए ।
संरक्षणको अभियानलाई तहसनहस पार्न खोजेको हो कि भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा मन्त्रीले आफ्नो बचाउ गर्न नसकेपछि सचिव पौडलले मन्त्रीको चाहाना संरक्षण र विकासलाई एकसाथ लैजाने रहेको आफूले पाएको धारणा सार्वजनिक गर्दै मन्त्री महतोको बचाउ गरे ।
दुबै सचिवलाई पदवहाल गर्न हतार थियो सोमवार । पत्रकार सम्मेलन सकिने बित्तिकै मन्त्रालयका निवर्तमान सचिव हुन लागेका रेवतीरमण पौडेलको बिदाई गरियो उनको बिदाई पछि दिपककुमार खरालको स्वागत गरियो ।