डा. खरालको सन्तुलित र उत्कृष्ट भाषण

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले नेपालका बहुमूल्य वनस्पतिलाई मुलुकको अर्थतन्त्रसँग जोड्न सक्नुपर्ने कुरा बताएका छन् ।


वनस्पति विभागको ६५औँ वार्षिकोत्सव तथा २६ औँ वनस्पति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमले उनले बहुमूल्य वनस्पतिलाई आर्थिक उपार्जनसँग जोड्न सकेमात्र वनस्पतिको आर्थिक योगदान हुने बताए ।


डा. खरालले सो कार्यक्रममा भने, जलवायु परिवर्तनको असरले नेपालमा पाइने कुन रैथाने वनस्पतिलाई कस्तो असर परिरहेको छ ? भन्ने विषयमा वनस्पति विभागले अध्ययन गरेर अन्तराष्ट्रिय संघ, संस्थाबाट आउने सहयोगका लागि आयोजना विकास गर्न जरुरी देखिएको छ ।


डा. खरालले विभागलाई निर्देशन दिँदै भने, वन मन्त्रालयका मातहतका अरु निकायले जसरी दातृ निकाय तथा संघ, संस्थाबाट बिभिन्न आयोजनाका लागि सहयोग प्राप्त गरिरहेको छ । वनस्पति विभाग यो दौडमा पछाडी देखिएको छ, आगामी दिनमा विभागले अन्तराष्ट्रिय सहयोग लिने पहल गरोस् । त्यसका लागि मन्त्रालय सहजीकरण गर्न सधैँ तयार छ ।
मुलुक संघीयतामा गइसकेपछि वनस्पतिको संरक्षण, सदुपयोग र विकासमा प्रदेश र स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहेको उनले बताए ।

उनले भने, विभागले मन्त्रालयको बजेटको मुख ताक्नु भन्दा पनि प्रदेश र स्थानीय तहसँग पनि सहकार्य र समन्वय गरी जडीबुटीको व्यावसायिक खेती, संरक्षण र सदुपयोगका काममा हातेमालो गर्न सक्छ । त्यतातिर पनि विभागको नेतृत्वले ध्यान दिनुपर्छ ।


मन्त्रालयका सचिव डा. खरालले भने, नेपालभित्रै पनि वनस्पतिसँग काम गर्ने अन्य निकायसँग वनस्पति विभागको जुन सम्बन्ध र सहकार्य हुनुपर्ने हो, त्यो स्तरमा देखिएको छैन । यो ग्यापलाई कम गर्न विभाग भोलीदेखि नै लागोस्, त्यसका लागि मन्त्रालय सहजीकरण र सहयोग गर्न तयार छ ।


वन, वनस्पतिको अध्ययन, अनुसन्धान गर्न बिभिन्न विश्व विद्यालयस्तरबाट पनि थुप्रै कामहरु भइरहेको उल्लेख गर्दै डा. खरालले भने, अध्ययन, अनुसन्धानका कामहरु विश्वविद्यालयले गरिरहेका छन् । त्यस्ता कामहरु फेरी विभागले गर्न आवश्यक छैन । कामको डुब्लिकेशन हुँदा स्रोतको फजुल खर्च हुने तर्फ पनि सचेत हुन आग्रह गर्दछु ।

उनले भने, वन, वन्यजन्तुको प्रमुख आधार वनस्पति नै हुन् । त्यसैले जैविक विविधिताको महत्वपूर्ण पाटो वनस्पतिको संरक्षण, अध्ययन, अनुसन्धान प्राथमिक र अनिवार्य कुरा हो । यसमा मन्त्रालय सचेत र सजग छ ।


कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालका उपलब्ध वनस्पतिको विकास र सदुपयोग गर्न सके राम्रो हुने बताए । यार्सागुम्बा, पाँचऔले जस्ता दर्जनौ बहुमूल्य जडीबुटीको खानी रहेको कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने वन मन्त्री ठकुरीबाट जडीबुटीको सदुपयोग र विभागको आगामी कार्यदिशा बारे नयाँ योजना सार्वजनिक हुने अपेक्षा गरिएको थियो । सोही अवसरमा राज्यमन्त्री रुपा विकले वनस्पतिको औषधीजन्य गुणका कारण विश्वभरी जडीबुटीको माग बढीरहेको बताइन् ।


विसं १९९४ सालमा वनस्पति स्रोतको संरक्षण र सदुपयोग गर्ने उद्देश्यका साथ वनस्पति फाँट स्थापना भएबाट सुरु भएको वनस्पतिको संरक्षण र विकासको कामले हाल वनस्पति विभागको स्वरुप लिएको छ ।


विभागको स्थापना दिवसका अवसरमा मन्त्री तथा राज्यमन्त्रीबाट नेपालको वनस्पतिबाट लाभ लिने आगामी योजना सार्वजनिक हुने अपेक्षा राखिएको थियो तर मन्त्री ठकुरी समयअभाव भन्दै कार्यक्रमको सुरुवाती चरणमा बोलेर निस्किए । लिखित मन्तव्य बोकेर आएको मन्त्री ठकुरीले छोटो मौखिक मन्तव्य राखेर बाहिरिए भने राज्यमन्त्री विकले आगामी कार्यक्रम, योजना तथा नयाँ कार्यदिशा सुनाउनुको सट्टा वनस्पति विभागको इतिहास सुनाएर मन्तब्य टुङ्ग्याइन् ।


कार्यक्रममा राष्ट्रिय वनस्पति पुरस्कारबाट प्रा.डा.मोहन शिवाकोटीलाई प्रदान गरियो । सो कार्यक्रममा दीर्घसेवा सम्मान पत्रबाट बिभिन्न कर्मचारीलाई सम्मान गरियो । जडीबुटीका उत्पादन तथा वनस्पति सम्बन्धी हुलाक टिकटको समेत प्रदर्शनी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here