संरक्षणमा देखिएका चुनौती चिर्न सञ्चारकर्मीको भूमिकाको खोजी

चितवन । विश्वमा दुर्लभ तथा लोपोन्मुख अबस्थामा रहेका बाघ, हात्ती र एकसिङे गैँडा लगायतका वन्यजन्तुको संरक्षणमा पछिल्ला दिनमा झन चुनौती थपिँदै गएको बताइएको छ ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा जेडएसएल नेपालद्वारा चितवनमा आयोजना गरिएको सञ्चार अन्तक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो कुरा बताएका छन् ।


पर्सा, चितवन, बाँके, बर्दिया तथा राजधानीमा बसेर केन्द्रीय पत्रकारिता गरिरहेका वातावरण पत्रकारहरुका लागि आयोजना गरिएको सो अन्तक्रिया कार्यक्रममा निकुञ्ज विभागका बरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघको संख्या बढेसँगै बासस्थान, मानव वन्यजन्तु द्वन्द्व लगायतका कुरामा चुनौती थपिँदै गएको बताए ।


उनले नेपालमा बाघको संख्या बढे अनुसार नै बासस्थानको व्यवस्थापनमा ध्यान दिन जरुरी भएको बताए । आचार्यले हिजोका दिनमा निकुञ्जको कोर एरियामा मात्र बस्ने बाघ अचेल मध्यवर्ती र राष्ट्रिय वनमा समेत बढी मात्रामा देखिन थालेका घटनाले मावन वन्यजन्तु द्वन्द्व अझै बढ्ने संकेत गरे । उनले बाघ जस्तो दुर्लभ र पर्यटकहरुले मन पराउने वन्यजन्तुलाई आयआर्जनसँग जोड्न सके संरक्षण स्थानीय समुदायको आर्थिक अवस्थामा सुधारमा टेवा पुग्ने बताए ।


कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले एकसिङे गैँडाको बासस्थान सुधार, चोरी शिकार तथा मानव वन्यजन्तु द्वन्द्व, संरक्षणमा चुनौती तथा आगामी कार्यदिशा बारे कार्यपत्र प्रस्तुत गरे । पन्तले नेपालमा एकसिङे गैँडाको संरक्षण प्रभावकारी भएकै कारणले पछिल्ला दिनमा चोरी शिकार शुन्यमा झार्न सकिएको बताए ।


डा. पन्तले चितवनमा गैँडाका कारण द्वन्द्वका घटना हुने गरेको बताए । उनले भने, संरक्षणमा सञ्चारकर्मीको सकारात्मक भूमिका रहँदै आएको भएपनि सञ्चारमाध्यमले बेला बेला चोरी शिकारका सूचना प्रवाह तथा सकारात्मक खवरदारी गर्नु पर्ने आवश्यकता अझै बढीरहेको बताए ।


कार्यक्रममा जेडएसएलका डा. दिनेश न्यौपानेले नेपालमा हात्तीको अवस्था, मानव वन्यजन्तु द्वन्द्वका घटना, चुनौती लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले हात्ती पाउने अन्य मुलुकमा पनि द्वन्द्वका घटना हुने गरेको बताए । हात्तीको विचरण क्षेत्र ठूलो हुने भएकाले वस्ती विकाससँगै द्वन्द्वका घटना बढ्दै जाने गरेको बताए ।


कार्यक्रममा मानव वन्यजन्तु द्वन्द्वका घटना न्यूनीकरण र यथार्थ समाचार बाहिर ल्याउन सञ्चारकर्मीहरुको अहम् भूमिका रहने कुरामा जोड दिइयो । सो कार्यक्रममा संरक्षणमा देखिएका चुनौती, संरक्षित क्षेत्र र वन्यजन्तुका विषयमा पछिल्ला दिनमा उठिरहेका समस्या तथा वहसहरु र ती विषयमा स्थानीय तह देखि राष्ट्रियस्तरसम्म सञ्चारकर्मीहरुले खेल्नु पर्ने भूमिकाका बारेमा जेडएसएलका विष्णु थपलियाले प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here