स्मरणमा रेञ्जर : बन्दुकसँग भिडन्त, भीरसँग लडिबुडी

रमेश थापा
म स्याङ्गजा जिल्लाको प्रद्युम्न पनेरु माध्यमिक विद्यालयबाट २०३५ सालमा एसएलसी उत्तिर्ण भए पछि २०३५÷२०३७ मा वन बिज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसमा प्रमाणपत्र तह अध्ययन गरेको हुँ । कलेज पढ्न जाँदा पहिलो पटक घर छोडेर यति टाढा पुगेको हुँदा मलाई त्यहाँको सबै चिज बिरानो लागेको थियो । तर कलेजमा स्याङ्गजा ज्याग्दीखोलाका दाइ ज्ञानेन्द्र गिरी भेट हुनुभयो । उहाँले मलाई कलेजमा भर्ना गर्ने, कोठा मिलाउने लगायतको सबै सहयोग र तारतम्य मिलाइदिनु भयो ।
उहाँको पढाई पुरा भएकोले कलेज छोडेर जाने बेला भएको रहेछ । उहाँले त्यहाँ पालना गर्नुपर्ने अनुशासनका नियम र पढाइको बारेमा अर्ति जुक्ति पनि दिनु भयो । अनिवार्य रुपमा होस्टलमा बस्नुपर्ने, बिहानै उठेर परेड खेल्नै पर्ने, खाजा खाएपछि खाकी कपडाको युनिफर्म लगाएर कक्षा कोठामा जानुपर्ने, मध्यान्ह खाना खाएपछि पुनः पढाईका लागि कक्षा कोठामा जानुपर्ने र साँझ खेलकुदमा सहभागि हुनुपर्ने दैनिकी थियो । प्रमाणपत्र तह अध्ययनका लागि मलाई नेपाल अष्ट्रेलिया वन परियोजनाले छात्रवृत्रि उपलब्ध गराएको थियो । छात्रवृत्रि पाउनका लागि अध्ययन समाप्त भएपछि नेपाल अष्ट्रेलिया वन परियोजना सिन्धुपाल्चोकमा काम गर्नु पर्ने शर्त थियो । पढाइ सकेपछि परियोजनासँंग गरेको शर्त बमोजिम म २०३८ सालमा सिन्धुपाल्चोक वन डिभिजन कार्यालय चौतारामा हाजिर हुन गए ।
पढाई सकेर नयाँ जीवन सुरु हुने दिन थियो त्यो, हेटौडाबाट हिडे सिन्धुपाल्चोक तर्फ । शुरुमा पात्लेपानी स्थित नर्सरीमा खटिएर काम गरें । त्यसको लगत्तै साँंगाचोकमा खटिएर साँगाचोक, सानो सिरुबारी, ठूलो सिरुबारी र काभ्रेको चौबासमा समेत वृक्षरोपण सम्बन्धी कामको जिम्मेवारी पूरा गरे । काम गर्दा निकै हौसिएर गरे । थकान होइन, त्यतिबेला काम गर्न पाए मात्र लाग्थ्यो ।
मैले कम्पास चलाउन र नक्सा बनाउन जान्ने भएकोले मलाई हेडक्वार्टरमा बसेर काम गर्न खटाइएको थियो । फिल्डमा काम गर्दा खासै समस्या पनि थिएन, रमाईलोसंँग दिन बिताईएको थियो । तर अफिसमा आएपछि केहि चुनौतिहरुको सामना गर्नु पर्यो । जागिरे जीवनका शुरुवाति दिनमा व्यहोर्नु परेका केहि तिता मिठा अनुभव र भोगाइहरु छोटकरीमा यहाँ बेलिबिस्तार गर्ने कोशिस गरेको छु ।

काजीसाफको बन्दुकले सातो खाँदा
त्यतिबेला सिन्धुपाल्चोकको राजनीतिमा नेत्रविक्रम थापा र पशुपतिशमसेर राणाको दुइ समूह थिए । नेत्रविक्रम थापालाई ‘काजी साफ’ र पशुपति शमशेरलाई ‘राजा साफ’ भनेर सम्बोधन गरिन्थ्यो । यी दुइ पक्ष बीच बेला बेलामा जिल्लास्तरमा शक्ति प्रदर्शन र झडप समेत भइरहन्थे । वन मन्त्री रहेका नेत्र बिक्रम थापा बिरुद्ध भोटसिपाको जंगल फडानी गरेर काठ निकासी गर्यो भन्ने उजुरी परेको रहेछ । त्यो उजुरी उपर छानबिन गर्नका लागि बिरोधी समूहले राजनीतिक दबाब दिएछन् । तर पुराना रेञ्जरहरु कसैले पनि उक्त मुद्धाको अनुसन्धान गर्न नमानेको हुँदा डिएफओ दामोदरप्रसाद पराजुली निकै तबावमा हुनुहुन्थ्यो । उहाँले उक्त मुद्धाको अनुसन्धान गर्न मलाई अनुसन्धान अधिकारी तथा फरेष्टर बसन्त श्रेष्ठ र वनपाले अमरबहादुर थापालाई सहयोगीका रुपमा खटाउनुभयो ।
यसो फिल्ड हेर्नु अनि सर्जमिन गरेर फर्किनु भन्ने आदेश थियो मलाई । मेरो जीवनको पहिलो घटना थियो यो । एउटा मुद्धा अनुसन्धान गरेर प्रतिवेदन हाकिमलाई बुझाउनुपर्ने । तर के कसरी गर्ने भन्ने कुनै भेउ समेत मलाई थाहा थिएन । जिम्मेवारी त पाइयो । आदेशको पालना त गर्नै पर्यो अनि फरेष्टर र वनपालेसंँग सल्लाह गर्दा थोरै साहस आयो । म भन्दा पाको र परिपक्क भएकाले मैले नि विश्वास गरे ।
घटनास्थल सर्जमिनका लागि हामी बिहानै उठेर चौताराबाट हिंडेर नवलपुर पुगि खाना खायौं । त्यहाँबाट सोझै भोटसिपा पुग्यौं । त्यहाँ पुगि गाऊँ पञ्चायतका प्रधानपञ्चसंँग सम्पर्क गर्दा काजीसाफसँगको समन्वयमा काम गर्न सकिने कुरा आयो । त्यहाँबाट उहाँसंँगै भिमटार भन्ने ठाउँमा पुग्यौं । काजीसाफको घरमा पुगेपछि हामी आउनु पर्ने सबै कारण खुलायौँ । हाम्रो कुरा सुन्नासाथ उहाँले नजिकै राखेको बन्दुक हातमा लिएर हाम्रो सातो खानु भयो । बाघ जस्तै गर्जिनुभयो काजीसाफ त । मेरो बिरुद्धमा अनुसन्धान गर्ने आदेश कहाँबाट पाइस् ? कस्को हिम्मत अनुन्धान गर्ने ? घटनास्थल नपुग्दै हायलकायल भइयो ।
बाघको मुखमा पर्दा पनि त्यति डर लाग्दो थिएन होला । बेस्सरी थर्कमान पार्यो हामीलाई त । खल्तिमा भएको कार्यालयले लेखेको चिठी समेत देखाउने आँट आएन तर नदेखाई सुख्खै थिएन ।
मेरो चिठी देखाउने हिम्मतलाई उहाँले तुरुन्त यहाँबाट भागेर जान्छस् कि गोली ठोकौं भन्दै बन्दुक ताकेर तर्साउनु भयो । हे भगवान, के दशा आइलाग्यो ? बढी बोलौँ के हुने हो थाछैन । नबोलौँ जिम्मेवारी लिएर हिडेको मान्छे ।
अनि म फर्किन्छु हजुर भनेर बसेको ठाऊँबाट जुरुक्क उठें । तर मसंँगै गएका वनपाले अमरबहादुर थापाले वहाँलाई सम्झाउँदै भने काजीसाफ हामीलाई फर्केर जाउ भन्नुहुन्छ भने हामी जान्छौं तर हजुरको उजुरी त बाँकी नै रहन्छ । डिएफओ सावले मिलाएर ल्याउनु भनेर भरखरै आएका नयाँ रेञ्जरलाई खटाउनु भएको छ । बरु मिलाएर सर्जमिन गराइदिनुहोस् हामी त्यहि कागज लिएर जान्छौं । बाँकी कुरा हाकिमलाई भेटेर मिलाउनुहोस् भनेर अनुरोध गरेपछि काजीसाफ अलि नरम हुनुभयो । त्यसपछि के सरजमिन गर्ने हो यही गर, मेरा मान्छेले सहि ठोक्छन् भन्नुभयो । तर हामीले घरमा बसेर सर्जमिन मानेनौँ ।
अपरान्ह करीब ४ बजेतिर घटनास्थल पुगियो र सर्जमिनको काम गर्यौँ । एक जना रत्नप्रसाद आचार्य नाम गरेका ब्यक्ति काजिसाफको बिरोधी हुनुहुँदोरहेछ । उहाँले २०÷२२ जना मानिस सहित आफ्नो भनाइ लेख्न लगाउनु भयो । उहाँका मानिसहरुले यहाँको रुख निजले काटेकै हो, यहाँबाट सिपाघाट पुर्याएर गाडीमा लोड गरेर काठमाडौ लगेको हो भन्ने किटानी भाषा बोले । रुख काटेको हो भने ठूटा खै ? भनी सोध्दा ठूटा पनि खनेर लगेको हो हामीले देखेकै हो भन्ने ब्यहोरा लेखाए । त्यसपछि अर्काे समूहका त्यतिनै मानिस आएर रुख काटेको पनि होइन, काठ लगेको पनि होइन, उजुरी झुठो हो भन्ने ब्यहोरा लेखाए ।
सर्जिमनले घण्टौँ समय बिताउने भयो । रात परी सक्दा समेत नसकिने स्थिति भयो । हामीले पानी पनि खान पाएका थिएनौं । जति रात छिप्पिंदै जान्थ्यो उति जाँडले मातेका मान्छेहरु लौ मेरो बयान लेख भनेर झगडा गर्न आउने क्रम बढ्न थाल्यो । अन्तमा वनपाले अमर बहादुरले नयाँ जुक्ति निकालेर गाऊँलेहरुको बुद्धि भुटन सफल भए । उनले आज काम सकिएन अब बाँकी सर्जमिन भोली बिहान गर्ने प्रश्ताव राखे । बाँकी रहेको काम भोलि बिहानै आएर गर्ने कुरामा सहमत गरायौँ गाउँलेहरुलाई ।
त्यहाँबाट अध्यारोमा हिंडेर भोक प्यासले थकित अवस्थामा भोलिपल्ट बिहानपख चौतारा पुग्यौं । सकुशल चौतारा पुगेपछि मलाई बाघको मुखबाट उम्केर बाँचे जस्तो महशुस भयो । लामो सास फेरियो । जीउ सितल भयो । पसिना आउन छाडे शरिरबाट ।
चौतारा पुगेपछि प्रतिबेदन तयार गरी हाकिम साहव समक्ष फायल पेश गरयौँ। हामी घटनास्थलमा पुगेर सर्जमिन समेत सम्पन्न गरेको कुरा धेरैले पत्याउनै सकेका थिएनन । अनि पो बुझियो कि त्यो घटना कति जटिल रहेछ र त्यो घटनासँग सम्बन्धित मानिस कति खतरनाक रहेछन् भन्ने कुरा । हामीले प्रतिवेदन बुझाउने दिनको कुरो हो । हाकिम साहेव पनि दङ्ग परेर हाम्रो प्रतिवदेनको कागज पल्टाउँदै हुनुहुन्थ्यो । यत्तिकैमा नेत्र बिक्रम थापा हाकिम साहृवकै कोठामा आइपुग्नु भयो । फेरी हामी त डरले थुरथुर भइहाल्यौँ । लौ मार्यो अब भन्ने लाग्यो । तर काजीसाफले हामीलाई यस्सो हेर्नु मात्र भयो तर उहाँको ठूलो स्वर हाकिमतर्फ नै सोझिन थाल्यो । हामी डरले बाहिर निस्कियौँ ।

नेत्रबिक्रम थापासँगको दोस्रो भिडन्त
मलाई मेलम्ची रेञ्ज कार्यालयमा रहि सामुदायिक रेञ्जरको रुपमा कामकाज गर्ने गरी खटाइएको थियो । मेलम्चीमा बर्णबहादुर थापा वन डिभिजन कार्यालय तर्फको रेञ्जर हुनुहुन्थ्यो । म सर्टिफिकेट लेभलमा अध्ययन गर्दा बर्णबहादुर थापा, पुरनभक्त श्रेष्ठ, बिजय पौडेल, अखिलेश्वर लालकर्ण लगायतका अग्रजहरु सिनियर सर्टिफिकेट लेभलमा अध्ययन गर्नुहुन्थ्यो । कलेजमा उहाँहरुले हामीलाई अभिभावकको जस्तै ब्यवहार गर्नुहुन्थ्यो । म र मेरा साथीहरु उहाँहरुसंँगको भेटमा सतर्क हुँदै खुट्टा बजारेर सलाम ठोक्थ्यौं । त्यतिबेला वन विज्ञान अध्ययन संस्थानमा सर र सिनियरहरुलाई नमस्कार गर्ने चलन थिएन । खुट्टा बजारेर छाती तन्काएर सलाम ठोक्ने चलन थियो । बर्णबहादुर थापासंँग कलेजको सम्बन्धले गर्दा मलाई मेलम्चीमा काम गर्न सजिलो भयो । तर म त्यहाँ कार्यरत रहेकै बेला उहाँ वन विज्ञानमा स्नातक तह अध्ययनका लागि जानुभयो । त्यसपछि मेलम्चीमा लामो समय सम्म म एक्लै रहें ।

त्यस क्षेत्रबाट जिल्ला पञ्चायत उपसभापति बन्नुभएका नेत्रबहादुर खड्का पशुपति शमसेरको प्रियपात्र हुनुहुन्थ्यो । बर्णबहादुर थापाले मलाई नेत्र बहादुर खड्कासंँग सम्पर्क गराइ दिनुभएको हो । अत्यन्य मिलनसार र सहयोगी खड्कासँग हाम्रो पारिवारिक सम्बन्ध थियो । बेला बेलामा हामी उहाँको घर ज्यामिरेमा पनि आउने, जाने, बस्ने, खाने गर्दथ्यौं । उहाँसँगको व्यक्तिगत सम्बन्धका कारण कतिपय मानिसहरुले हामीलाई पशुपति शमसेरको मान्छे भनेर आरोप पनि लगाउँथे । एकदिन म मेलम्चीबाट काठमाडौका लागि हिंडेको थिएँ, ढाँडखोला भन्ने ठाउँमा काठमाडौबाट आउदै गरेका नेत्रबिक्रम थापाको दलबलसँग जम्काभेट भयो । ढाँडखोलाबाट म सरासर पाँचखालतिर जाँदै थिएँ । अलि परै पुगेपछि एकजना मानिस दौडिंदै आएर काजिसाबले बोलाउनु भएको छ भन्दै मलाई रोके । फेरी के दशा लाग्ने भो भन्ने लाग्यो । डरले शरिर काँप्यो ।
बोलाए पछि जानै पर्यो । म फर्किए । पुग्नासाथ नेत्र बिक्रम थापाले चिनेको छ मलाई, म को हुँ ? भनेर काचै खाउँला जस्तो गर्न थाले । विषय वस्तु केही थाहा थिएन मलाई । मैले किन नचिन्नु हजुर एक पटकको मात्र भेट हो र हजुरसँगको ? मैले भने ।
यति के भन्न पाएको थिएन, तँ रेञ्जर भएर आफ्नो काम गर्ने कि चाहिने नचाहिने काम गरेर हिँडने ? मैले मृग मारें भनेर किन पत्रिकामा फोटो छापिस् तैले फेरी ? भनेर हकार्नु भयो । म अचम्ममा परें । डरले शरिर काँपी रहेको थियो ।
मलाई थाहा भएन हजुर, मैले त यस्तो काम गरेको छैन भनेर जवाफ दिएँ । उहाँले आफ्ना मान्छे तिर फर्केर यो मेलम्चीको थापा भन्ने रेञ्जर होइन र ? भनेर सोध्नु भयो । मेलम्ची बजारकै एकजना मलाई चिनेका मान्छे पनि थिए । उनले रेञ्जर थापा त हो तर उहाँ त भरखर आएको हो काजिसाफ । पुरानो थापा रेञ्जर उहाँ होइन भनेर कुरा राखे । जुन कुराले मलाई थोरै राहत भयो । काजिसाफको बोलि थोरै नरम भयो । त्यसो भए त्यो थापा रेञ्जर अर्कै मान्छे हो ? भनेर फेरी सोधे ।
बल्ल मेरो बारेमा थप कुरा सोधे । मैले उहाँले सोधेको जवाफ दिए । तर बिदा हुँदा बाघ गर्जे झैँ गरेर मान्छे चिनेर काम गर्नु पर्छ है भाई भने । मुन्टो हल्लाएर म आफ्नो बाटो लागें । मैले त्यहाँ केही बोल्ने हिम्मत गर्न सकिने ।
कुरो बुझ्दै जाँदा म जानुभन्दा पहिला नै कुनै पत्रिकामा नेत्र बिक्रम थापाले शिकार गरी मृग मारेको भनी समाचार छापिएको रहेछ । पत्रिकामा छापिएको मृत मृगको फोटो मेलम्चीको थापा रेञ्जरले उपलब्ध गराएको भन्ने आरोप रहेछ । घटनाको वास्तविकता के हो मलाई पनि थाहा भएन । तर बर्णबहादुर थापा फिल्डमा हिंड्दा क्यामेरा भिरेर हिंड्ने भएकोले धेरैले उहाँले नै मरेको मृगको फोटो खिचेर दिएको भन्ने आशंका गरेका रहेछन् ।

निकुञ्जतर्फको यात्रा
म मेलम्चीमा कार्यरत छँदा २०४० सालमा राष्ट्रिय निकुञ्ज विभागमा रेञ्जर पदको विज्ञापन खुलेको रहेछ । ऋषिराम त्रिपाठी चौतारा वन डिभिजनमा एट्याच्ड अफिसर हुनुहुन्थ्यो । अनुगमनका सिलसिलामा उहाँ मेलम्ची आएका बखत लोकसेवा दिउँ कि आयोजनामा बसौं भनेर उहाँसंँग सोधें । उहाँले लोकसेवा दिनु पर्छ, यता अल्मलिनु हुन्न भन्ने सल्लाह दिनुभएको थियो । मेलम्चीबाट कामको सिलसिलामा काठमाडौ आएका बखत श्रद्देय गुरु पिताम्बर शर्मा नेपालीसँग भेट भयो । उहाँले मलाई आँफुसँंगै दयाबिक्रम शाहको घरमा लिएर जानु भयो । त्यो वर्ष तत्कालीन राजा श्री ५ बीरेन्द्रको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सवारी भ्रमण थियो । शायद त्यहि सिलसिलामा होला पिताम्बर गुरुलाई सरकारको सवारी पूर्वनै सुर्खेत जानुपर्ने गरी खटाइएको रहेछ ।

उहाँहरु बीच बिशेष कुराकानी भएपछि दयाबिक्रम शाहले मेरो बारेमा सोध्नु भयो । मैले फरेष्ट्री पढेर प्रोजेक्टमा काम गरिरहेको अवस्था बताए । उहाँले पनि तुरुन्त लोकसेवा दिएर सरकारी जागिर शुरु गर्न सल्लाह दिनुभयो । मैले त्यसै वर्ष लोकसेवा आयोगको फाराम भरें । प्रतिष्पर्धा कम थियो । लिखित परीक्षा हुँदैनथ्यो, अन्तरवार्तामा म उत्तिर्ण भएँ । त्यतिबेला विभागले २५ जना रेञ्जर मागेको थियो । तर हामी थोरै जनामात्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सेवामा आयौं । हामी संँगै आएका मध्ये ओमनाथ चुंडाल, बुध्दिराज पाठक, चन्द्रबहादुर चन्द र म राष्ट्रिय निकुञ्जबाटै सेवा निवृत्त भयौं । रामेश्वर पण्डित पर्सा वन्यजन्तु आरक्षमा कार्यरत छँदा बिस्फोटनमा परेर दुखदः निधन भयो । चित्रप्रसाद सापकोटा, बालकृष्ण पैकरा लगायत केही साथीहरु राष्ट्रिय निकुञ्ज विभाग छोडेर वन विभागतिर जानुभयो ।


इन्ट्रि प्वाइन्ट ढोरपाटन
मेरो सुरु स्थायी नियुक्ति ढोरपाटन शिकार आरक्ष कार्यालयको रेञ्जर पदमा भयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका तत्कालिन महानिर्देशक विश्वनाथ उप्रेतीले मलाई सरकारी सेवामा स्थायी नियुक्ति दिनुभएको हो । पैतीस वर्षसम्म वन, वन्यजन्तु र प्रकृति संरक्षणको क्षेत्रमा सेवा गर्ने अवसर प्रदान गर्ने उप्रेती सर प्रति म सधैं ऋणी छु । जसको एउटा हस्ताक्षरले मेरो जीवन सार्थक बन्यो, म उहाँप्रति सदा सम्मान र श्रद्धा अर्पण गरिरहेको हुन्छु । मेरो घर स्याङ्जा सेतीदोभानबाट हिँडेको सातौं दिनमा म ढोरपाटन पुगेको थिएँ ।

कार्कीनेटा, कुश्मा, बेनी, दरबाङ्ग, ताकम, धारापानी हुँदै लम्सुङ्ग भन्ने ठाउँमा पुगेर बास बसेकै राती हिउँ पर्यो । जलजला, छेन्टुङ्गको बाटो भएर ढोरपाटन पुग्ने सम्भावना नभएकोले त्यहाँबाट फर्केर बाग्लुङ्ग जिल्लाको लामेला तमान, बुंँगादोभान, बुर्तिबाङ्ग, बोबाङ्ग भएर हिउँमा कठ्यांग्रिंदै २०४० साल पौष ३ गते ढोरपाटन पुगेको थिएँ । भरखर स्थापना हुँदै गरेको शिकार आरक्षमा दुर्गाप्रसाद पौड्याल हाकिम हुनुहुन्थ्यो । चित्रप्रसाद सापकोटा र म रेञ्जर थियौं । कृष्णमान श्रेष्ठ लेखा र प्रशासन प्रमुख हुनुहुन्थ्यो । ढोरपाटनमा खान, बस्नको समस्या थियो । स्थानीय कर्मचारी साथीहरुले खाने सामग्रीको जोहो गर्थे । हामीले करिब ४५ दिन हिँडेर ढोरपाटन शिकार आरक्षको सिमाना सर्वेक्षण गरेका थियौं । पुग्न नसकिने ठाउँको चाहीं नक्साको सहारा लिएर सिमाना निर्धारण गर्यौँ ।

कम्पासले बेयरिङ्ग लिने र फिताले नाप्ने गरेर फिल्डबुक तयार गरी ग्राफमा नक्सा बनाई ग्राफका कोठा गनेर आरक्षको क्षेत्रफल १३२५ वर्ग किमि कायम गरिएको थियो । त्यतिबेला हामीले सिमित स्रोत, साधन परम्परागत प्रविधिबाट सर्वेक्षण गरी नक्साङ्कन गरेर निकालेको क्षेत्रफल यकिन छ कि छैन मलाई अहिले पनि शंका लाग्छ । त्यतिबेला ढोरपाटनमा हवाई मैदान थियो । कतिपय बिदेशी शिकारीहरु जहाज चढेर ढोरपाटनमा उत्रेर त्यहाँबाट शिकारको लागि पैदल जान्थे भने कतिपय काठमाडौंबाट सोझै हेलिकप्टरमा जाने गर्थे ।
विदेशीलाई शिकार गराउन नेपाली पेशेवर शिकारी अनिवार्य साथमा हुनुपर्ने व्यवस्था अनुसार नेपालका नेपाल वाईल्डलाईफ एडभेञ्चर र हिमालयन सफारी नामका दुईवटा नेपाली पेशेवर शिकारी कम्पनीले बिदेशी शिकारी लैजाने गर्थे । ढोरपाटनमा विदेशी शिकारीहरु मुख्य गरी नाउरको शिकार गर्न आउने गर्थे । त्यतिबेला आरक्षलाई शिकार खेल्ने प्रयोजनका लागि सुन्दह, दोगडी, सेङ, फागुने, बार्से, धुस्तुङ्ग र सुर्तिबाङ्ग गरी सातवटा ब्लकमा विभाजन गरिएको थियो । ढोरपाटनमा दुर्गाप्रसाद पौड्याल र कृष्णमान श्रेष्ठबाट मैले काम सिक्ने अवसर पाएँ । कृष्णमान श्रेष्ठ प्रशासनको मान्छे भए पनि लेखाको काममा निपूर्ण हुनुहुन्थ्यो । उहाँको संगतमा सिकेका कुराहरु मलाई पछि सम्म पनि उपयोगि बनेका थिए ।


शिकारीले तर्साउँदा रातभर भिरतिर
ढोरपाटनमा बस्दाको एउटा रोचक घटना याद आइरहन्छ । हामी ७÷८ जनाको टोली रुकुम र डोल्पाको सिमाना दुलेसम्म पुगेर फर्किंने क्रममा रुकुमको पेल्मा, यामाखार गाउँ पुग्दा दिन बांँकी नै रहेकोले त्यहाँ बास नबसेर जंगलको बाटो ढोरपाटनतिर लागेका थियौं । हामी जुन ओडारमा बास बस्ने भनेर योजना गरेका थियौं त्यो ओडारमा धुवाँ पुत्ताएको टाढैबाट देख्यौं । त्यहाँ शिकारी छन् भन्ने त निश्चित भयो तर कति जना छन् र कस्ता शिकारी हुन् एकिन गर्न सकिएन । हामी आँट गरेर ओडारतिर लागेपछि त्यहाँ बसेका मानिसहरु अत्तालिन थाले । तिमीहरु को हौ ? किन आएको हो ? भनेर टाढैबाट चिच्याएर सोध्न थाले ।

हामी हातमा लठ्ठी र खुकुरी लिएर नबोलीकन ओडार नजिक पुगेपछि तीन जना मानिसहरु बन्दुक समातेर भिरतिर कुदे । हामी पनि पछिपछि कुदयौं तर उनीहरु भिरालोमा मुढो जस्तो लड्दै गएर अलप भए । हामी फर्केर ओडारमा आउदा वन्यजन्तुको सुकुटी, ओछ्याएर बसेको उनीको कम्बल र मकैको जाँड खाएको जुठा भाँडा समेत छोडेर भागेका रहेछन् ।
हामीले सांँझ र अर्काे दिनको लागि खानाको लागि भुटेको मकै र उसिनेको आलु ल्याएका थियौं । बलिराम भुसाल भन्ने साथी निकै रमाइला र काममा पनि त्यतिकै लगनशील थिए । उनले अब मकै, आलु कसले खाओस, मज्जाले मासु पोलेर रातभरी खाने हो, भोलि बिहान उज्यालो नहुँदै डाँडामा पुग्ने गरी हिँड्ने हो भनेर गफ चुट्दै थिए । एकजना साथी पिसाब फेर्न बाहिर गएको बेला निकै तल धेरै उज्याला राँकाहरु बलेका देखे । हामीले हेर्दाहेर्दै त्यहाँ २५÷३० भन्दा बढी आगो बालेका राँको जम्मा भए ।

साथीहरु कोही भूत भन्दै थिए, कोही अघिका शिकारीले गाउँले उठाएर ल्याए अब भाग्नु पर्छ भन्दै थिए । हामीले हेर्दाहेर्दै केही बेरपछि सबै उज्यालो राँकाहरु हराए । त्यसपछि ओडारमा बसेर निकै बेरसम्म राँके भूतका कथाहरु भन्दै थियौं । बाहिर अलि टाढा धेरै मानिस बोलेको जस्तो आवाज सुनियो । हामी बाहिर निस्केर हेर्दा धेरै मानिसहरु अघि हामी आएकै बाटोमा राँको बालेर उकालो चढ्दै रहेछन् । हाम्रो सातो गयो । अब हामीसँंग भाग्नु बाहेक केही उपाय थिएन ।
हामी हत्तपत्त झोला, सामान बोकेर बाहिर निस्कियौं । बत्ति बालेर हिँडदा उनीहरुले देख्ने भएकोले हामी अँध्यारोमै छामछुम गर्दै हिड्न थाल्यौं । रातीको समय भएकोले बाटोको अन्दाज भएन । जता सजिलो हुन्छ उतै उतै हिड्न थाल्यौं । निकै पर पुगेर एकछिन उभियौं । ती राँकाहरु हामीतिरै आइरहेका थिए । अब आज मार्ने भए भनेर सकी नसकी अगाडि बढ्दै गयौं । लगातार करिब तीन घण्टा हिँडेपछि अगाडि बढ्ने साहस भएन । पहिला पसिनाले भिजेको शरीर एकछिन पछि जाडोले कठ्यांग्रिन थाल्यो । ज्यान नबच्ला भन्ने डरले सबै त्रसित थियौँ ।
जे होला होला अब यहीं बस्ने, राति कोही पनि ननिदाउने, कतै मानिसको आवाज वा राँको देखियो भने मात्र हिँडने निर्णयमा पुग्यौं ।

ननिंदाउने भने पनि थकित भएकोले केही बेरमै सबै जना निदाएछौं । बिहानको ४ बजेतिर बलिराम ब्युझिएर सबैलाई उठाए । केही साथीहरु अब हिंड्नु पर्छ भन्न थाले भने केही साथीहरु राम्ररी उज्यालो भएपछि हिंडौंला भन्न थाले । राम्ररी उज्यालो भइसकेपछि हामी झोला बोकेर करिब पाँच मिनेट जति हिँडेपछि हाम्रो मुटु हल्लियो । हामी यति ठूलो अनकण्टार भिरमा पुगेका रहेछौं कि त्यहाँबाट अगाडि बढ्ने ठाउँ नै थिएन । तल निकै गहिरो छांगो थियो । त्यो धरातल देखेर हात खुट्टा काप्न थाले । हामी त्यहाँबाट फर्कियौं । केही समय कोही कसैसँग बोल्ने आँट पनि आएन । घाम उदाएपछि हामीले अन्दाज लगायौं कि हामी दक्षिण तर्फ उकालो जानु पर्नेमा पूर्व तर्फ ओरालो गएका रहेछौं । करिब एक घण्टा दक्षिणतर्फ उकालो हिँडेपछि राती हामीले छोडेर भागेको ओडार नजिकै पुगेछौं ।

साथीहरु ओडारमा गएर हेर्दा त्यहाँको मासु, भाँडा, सामान सबै लगेर राँकाधारीहरुले ओडारमा सेतै खरानी छरेर गएका रहेछन् । हामीलाई त्यहाँको भूगोल थाहा नभएकोले झण्डै ठूलो दुर्घटनाबाट बाँचियो । भुटेका मकै र उसिनेको बासी आलु खाँदै साँझपख हामी ढोरपाटन पुग्यौँ । अबैध गतिबिधि नियन्त्रणका लागि गस्ति गर्न गएका कर्मचारी चोरीशिकारीसँंग लुक्दै, भाग्दै ज्यान जोगाउनु पर्ने त्यतिबेलाको अवस्था सम्झिंदा अचेल आँफैलाई सपना जस्तो लाग्ने गर्दछ ।

(लेखक थापा सेवानिवृत प्रमुख संरक्षण अधिकृत हुन् । संरक्षणमा लामो अनुभव हासिल गरेका थापाले संरक्षण सम्बन्धी समसामयिक विषयमा कलम चलाउने गरेका छन् । )

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here