नेपालमा जेडएसएलले “एग्रेसिभ्ली” काम गर्दैछ

जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) २०० वर्ष पुरानो अन्तराष्ट्रिय गैर सरकारी संस्था हो । यसको मूख्य कार्यालय वेलायतको लण्दनमा रहेको छ । यसले मुख्यतया तीन वटा थिममा काम गर्छ । एउटा संरक्षण र नीति दोस्रो विज्ञान र अनुसन्धान र तेस्रो भेटेनरी साइन्स तथा चिडियाखानाको विषयमा काम गर्छ । संस्थाको वेलायतमा आफ्नै दुईवटा चिडियाखाना छन् । एउटा लण्डन जु र अर्काे विप्सनेड जु रहेका छन् । यो संस्थाको भेटनरी सेवालाई संसारकै उत्कृष्ट मानिन्छ । यो सेवामा संसारका ठूलठूला वैज्ञानिक तथा अनुसन्धानदाताको सहभागिता रहने गरेको छ । दुई दशक अघि देखिन नै नेपालमा यो संस्थाले काम गर्दै आएको छ । प्रकृति संरक्षण कोषसँग सहकार्य गरेर काम गर्दै आएको यो संस्थाले सन् २०१४ जनवरीबाट नेपालमै कार्यालय खोलेर काम सुरु गरेको छ । विशेष गरेर नेपालमा वन्यजन्तु संरक्षणमा बढी केन्द्रित देखिएको यो संस्थाले तीन वटै थिममा काम गर्छ । नेपाल स्थित कार्यालयका राष्ट्रिय प्रतिनिधि डा. हेमसागर बरालसँग नेपालको संरक्षणमा जेडएसएलले गरेको कार्य लगायतका विषयमा नेपालकथाले गरेको कुराकानी:

१. जेडएसएलले नेपालमा मुख्यतया कुन क्षेत्रमा र कसरी काम गरिरहेको छ ?

नेपालमा जेडएसएलले विगत दुई दशकदेखि लण्डन कार्यालयबाट काम गर्दै आएको हो । तर सन् २०१४ मा नेपालमा संरक्षणका कार्यमा बढी केन्द्रित भएर काम गर्ने उद्धेश्यका साथ नेपालमै कार्यालय स्थापना गरेर काम गरिरहेको छ । मुख्यतया नेपालमा पाइने दुर्लभ वन्यजन्तुको संरक्षणमा काम गरिरहेको छ । यो संस्थाले आफैले समुदायस्तरमा गएर काम गर्दैन । संस्थाका सबै कामहरु नेपाल सरकारसँग मिलेर काम गर्ने नीति अनुरुप काम गरिरहेका छौँ । संरक्षित क्षेत्रभित्रको प्रजाति संरक्षण, बासस्थान सुधार तथा व्यवस्थापन, संरक्षणक्षेत्रमा लागेका जनशक्तिको क्षमता अभिवृद्धि, संरक्षणका लागि नयाँ प्रविधिको प्रयोग बारे सहयोग गर्ने कार्य गरिरहेका छौँ । वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा वन विभाग अन्तर्गतका डिभिजन वन कार्यालयसँग प्रत्यक्ष सहकार्य गरिरहेका छौँ । सालक प्रजाति तथा पंक्षी संरक्षणमा डिभिजनल वन कार्यालय र स्थानीय समुदायसँग समन्वय गरेर काम भइरहेका छन् ।

२. पछिल्लो चरणमा संसारमा लोप हुन थालेका तर नेपालमा अझै सुरक्षित हुँदै गएका वन्यजन्तुको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको सन्दर्भमा मानव वन्यजन्तुबीचको द्धन्द्ध निकै बढी रहेको छ नि ?

नेपालमा वन्यजन्तुको संख्या बढाउने लक्ष्य लिएर हिँडेको संस्थालाई वन्यजन्तुको संख्या बढेको देख्दा खुसी लाग्नु स्वभाविक हो । साथसाथै मानव वन्यजन्तुको द्धन्द्धका घटना पनि त्यत्तिकै बढ्दा चिन्ता पनि लागेर आउँछ । वन्यजन्तुको संख्या वृद्धि भएपनि बासस्थान सीमित छ । बासस्थान बढाउन सक्ने धेरै सम्भावना नेपालमा देखिदैन । अर्काेतिर मानिसको अतिक्रमण बढ्दै छ । संरक्षित क्षेत्र भित्र होस वा राष्ट्रिय वन भित्र बासस्थानको स्तर खस्किदै गइरहेको छ । त्यसले गर्दा मानव वन्यजन्तु बीच द्धन्द्धका घटना स्वभाविक घटना जस्तै हुन पुगेका छन् । यस कुरा प्रति नेपाल सरकारका सम्बन्धित निकाय गम्भिर र चिन्तित भएको हामीले पाएका छौँ । त्यसैले हामीले सरकारी निकायलाई सक्दो सहयोग गर्नुपर्छ भन्ने उद्धेश्यका साथ सहयोग र समन्वयमा काम गरिरहेका छौँ । द्धन्द्ध न्यूनीकरणका लागि पर्सा, चितवनमा हामीले उलेख्य कामहरु गरेका छौँ । पछिल्लो पटक बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि हामीले आफुसँग भएको स्रोत परिचालन गर्ने काम गरिरहेका छौँ । त्यहाँका मध्यवर्ती क्षेत्रमा समुदायलाई तारवार लगाउन सहयोग गरेका छौँ । चितुवा आएर बस्तीमा गोठमा राखिएका पशुवस्तु, पाठा बाख्रा खाइदिने समस्यालाई समाधानका लागि सुधारिएको गोठ निर्माण गर्न हामीले सहयोग गरेका छौँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा २ वटा भेटनरी सेन्टरको निर्माण र त्यसलाई व्यवस्थित गर्न हाम्रो सहयोग रहेको छ । त्यसले गर्दा उन्नत जातको गाईभैँसी पालन गर्न मध्यवर्ती क्षेत्रका बासिन्दालाई सहज भएको छ । जीविकोपार्जनका लागि होमस्टे सञ्चालन गर्न बाँके, बर्दिया र शुक्लाफाँटामा सहयोग गरेका छौँ । सालक संरक्षण गर्नमा सबैभन्दा ठूलो भूगोलमा काम गर्ने संस्था पनि हामी हौँ ।

३. दिनप्रतिदिन मानिस घाइते बनाउने, मार्ने, गाईवस्तु खाने जस्ता समस्या वन्यजन्तुका कारणले आइरहेका छन् भने यिनको संख्या किन बढाउँदै लैजानु पर्यो र ? किन यतिको लगानी गर्न आवश्यक छ र ?

हेर्नुहोस् मानव जातिको बस्ती बस्नुभन्दा पहिले त तिनै वन्यजन्तुको बासस्थान हो यो पृथ्वी । हामी पछि आयौँ । खेतीपाति गर्यौँ, वनजंगल मासेर भोग्यौँ, चर्चियौँ । हामीले उन्नती प्रगति त गर्यौँ वन्यजन्तुलाई तर्साएर, भगाएर । ती बोल्न नसक्ने भाषा नभएका निर्दाेष वन्यजन्तुको बासस्थान यसरी मास्यौँ कि हजारौँ वन्यजन्तुको अस्तित्व मानव जातिका कारणले पनि लोप भएर गयो । उनीहरु बोल्न सक्दैन भन्दैमा उनीहरुको अस्तित्व मास्न सक्ने अधिकार त हामीले दिएको छैन । हामी सचेत प्राणी भएकाले उनीहरुको संरक्षण गर्ने जिम्मा पनि हाम्रै हो । वन्यजन्तुको कुनै एक प्रजाति लोप भएर एक पटक गइसकेपछि पुनः अस्तित्वमा आउन सक्दैन । वन्यजन्तु मानव जातिको सभ्यताको विकासका अभिन्न अंगले भएकाले पनि यिनको जगेर्ना र संरक्षण गर्न आवश्यक हुन्छ । बरु वन्यजन्तुको संख्या वृद्धिसँगै बढेको मानव वन्यजन्तु द्धन्द्धका घटनालाई कसरी कम गर्न सकिन्छ ? कम भन्दा कम क्षति हुने गरी संरक्षण गर्न सकिन्छ भन्ने उपाय र प्रविधिको विकास गर्न सक्नु पर्छ ।

४. यहाँले सालक संरक्षणको कुरा गर्नुभयो, जताततै पाउने सालकको किन संरक्षण गर्नु पर्यो ?

सालक साइटिसको अनुसूची १ मा परेको र नेपालको संरक्षित स्तनधारी वन्यजन्तु हो । सालकका बिभिन्न अंगहरुको जुन रुपमा अवैध व्यापार भइरहेको छ, यो स्थिति हेर्दा सालक केही वर्षमा नेपालबाट लोप नहोला भन्न सकिदैन । यसको अंगहरुको जुन प्रकारले अवैध व्यापार गरिन्छ, त्यसको वैज्ञानिक आधार छैन । यसका अंगहरुको व्यापार गर्नु गलत हो भन्ने कुराको सचेतना फैलाउनु जरुरी भएकाले हामीले सहयोग गरिरहेका छौँ । यो सालक संरक्षणमा लागेको स्थानीय समुदायलाई जीविकोपार्जनमा सहयोग गर्ने गरेका छौँ । अर्काेतिर कानूनको कार्यान्वायन गराउने निकायहरु वकिल, न्यायधीश, सुरक्षा निकाय लगायतका अन्य पक्षकोे क्षमता अभिवृद्धि गराउने काम पनि काम गरिरहेका छौँ ।

सालकको उपस्थिति संरक्षित क्षेत्र भन्दा बाहिर बढी भएकाले हामीले समुदायलाई नै सालक संरक्षणका लागि परिचालन गर्न सहयोग गर्ने गरेका छौँ । सालक तामे र कालो सालक नेपालमा पाइने प्रजाति हुन् । यो तराई र पहाडी क्षेत्रमा पाइने गरेको छ । सालक पाउने क्षेत्र बढी भएपनि सालकको जुन प्रकारले अवैध व्यापार भइरहेको छ, त्यसलाई नियन्त्रण गर्न जरुरी छ । यसका लागि सबै सरोकारवाला निकायले सक्रिय हुनु आजको आवश्यकता हो ।

५. पर्सा राष्ट्रिय निकुञ्जमा त जेडएसएलले हात हालेपछि प्रतिफल निकै राम्रो आयो नि ?

यहाँले भने जस्तो होइन । त्यहाँ वन्यजन्तु आरक्ष घोषणा गरेर नेपाल सरकारले लामो समयदेखि लगानी गर्दै आइरहेको छ । पछिल्लो पटक क्षेत्र बिस्तार र निकुञ्ज बनाउने कार्य पनि सरकारले गरिसकेको छ । एउटा सत्यता के हो भने पर्सा राजधानी नजिक भएरपनि बत्ती मुनीको अँध्यारो जस्तै थियो, यो सबैले देखे, भोगेकै कुरा हो । चितवनको आझेलमा पर्दै आएको थियो । मानिसहरुले पर्सालाई दृष्टि पुर्याउन नसकेको हो कि भन्ने सबैले महसुस गरिरहेका बेला जेडएसएलले सानो स्केलमा भए पनि स्रोत लिएर गएको हो । पर्सालाई केही गर्नुपर्छ भनेरै हामी त्यहाँ पुगेका हौँ । तर यसमा हामीले धेरै गरेको हौँ भनेर भन्दैनौँ । त्यहाँ सरकारको उपस्थिति छ । सरकारलाई थोरै भएपनि सहयोग हामीले गरेका हौँ ।

साच्चै भन्नुपर्दा पर्सा राष्ट्रिय निकुञ्जमा सोचेको भन्दा राम्रो प्रतिफल आइरहेको छ । पर्साको प्रतिफल हेरेर जेडएसएलले बाँकेका पनि त्यही रुपमा सहयोगको भोलुमलाई बढाएको छ । बाँके भर्खरको राष्ट्रिय निकुञ्ज, बर्दियाको ओझेलमा पर्ने सक्ने सम्भावना रहेको र अनि धेरै टाढाको शुक्लाफाँटा । सुदूरलाई थोरै भएपनि दृष्टि दिनुपर्छ भनेर हामीले सरकारले अवलम्वन गरेका कार्यहरुमा थोरै भएपनि सहयोग गर्ने प्रयास गरेका छौँ । यी दुबै स्थानमा केही ठोस प्रतिफल आउने गरी काम गर्नुपर्छ भनेर हामी त्यतातिर बढी केन्द्रित भएका छौँ पछिल्लो चरणमा । जसरी पर्सामा देखिने गरी प्रतिफल निस्केको छ, जेडएसएल बाँके र शुक्लामा पनि देखिने प्रतिफलमा लागि सरकारलाई सहयोग गर्न प्रतिवद्ध छ ।

६. जति पनि सहयोगी संस्थाहरु छन् तिनले जहिले पनि सरकारी अधिकारीलाई मात्र हेर्ने, उनीहरुको क्षमता अभिवृद्धि तथा वृति विकासका लागि मात्र काम गर्ने तर लक्षित वर्ग तल्लो तहको समुदायमा सहयोग नजाने गरेको आरोप लाग्दै आएको छ नि ?

यो कुराको सन्दर्भलाई लिएर अरु संरक्षण साझेदार संस्थाको हकमा मैले बोल्न सक्ने कुरा भएन । तर जेडएलएलको सन्दर्भमा भन्दा हामीले जहाँ पनि काम गरेका छौँ, संरक्षणमा स्थानीय समुदायलाई नै बढी केन्द्रमा राखेर काम गरेका छौँ । कुनै पनि गैर सरकारी संस्थाको काम सरकारसँग मिलेर गरेको छ वा आफु खुसीले गरेको छ भन्ने कुरामा भर पर्ने कुरा हो । हामीले काम गर्ने सरकारी निकायको काम गर्ने तौर तरिका तथा सरकारी नीतिमा हाम्रो स्रोतको सदुपयोग कसरी भयो भन्ने कुरा निर्भर हुने हो । एउटा सकारात्मक कुरा के छ भने हामीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग मिलेर जुन काम गरिरहेका छौँ ।

विभागको काम गर्ने प्रकृति नै स्थानीय समुदायसँग अन्योन्याश्रित सम्बन्ध राखेर संरक्षणको काम गर्ने भएकाले हाम्रो सहयोग पनि स्थानीय समुदायसम्म पुगेको हामीले देखेका छौँ । संरक्षित क्षेत्रभित्र काम गर्दा निकुञ्ज विभाग र संरक्षण क्षेत्र बाहिर काम गर्दा वन विभागका तल्ला निकाय र स्थानीय समुदायसँग मिलेर रुपमा काम गर्ने भएकाले हामीकहाँ त्यस्तो समस्या छैन । हामीले जे जति अहिलेसम्म काम गरेका छौँ त्यसको सबै अंशको प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदा संरक्षणमा लागेका समुदायले लिन पाएका छन् । समुदायस्तरमा सहयोग पुगेकोले हामी खुसी समेत छौँ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here