हिउँ चितुवा संरक्षण गर्न एक अर्ब भन्दा बढी लाग्ने

काठमाडौँ । हिउँ चितुवा संरक्षणका लागि प्रविधि र वित्तीय सहयोग हस्तान्तरण गर्नुपर्नेमा कुरामा जोड दिइएको छ । पछिल्ला दिनमा जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा परेसँगै हिउँ चितुवा संरक्षणमा थप चुनौती देखिएकाले सहकार्य आवश्यक रहेको बताइएको छ ।


हिउँ चितुवा पाउने देशहरुका वैज्ञानिक, अध्येता, सरकारी प्रतिनिधिहरुको सहभागिता रहेको तीन दिने हिउँ चितुवा संरक्षण अन्तर्राष्ट्रिय गोष्ठीका सहभागीहरुले हिउँ चितुवा पाउने देशहरुबीच सहकार्य, समन्वय आवश्यक रहेको बताएका छन् ।


काठमाडौँमा सुरु भएका गोष्ठीमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवा संरक्षणका लागि नेपाल सरकारले हिउँ चितुवा संरक्षण कार्ययोजना २०२४—२०३० निर्माण गरी कार्यान्वयनमा ल्याएको बताए । उनले भने यो कार्ययोजना कार्यान्वायन गर्न एक अर्ब ७७ करोड लागत लाग्ने अनुमान गरिएको छ ।


कार्यक्रममा वन मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्रले हिउँ चितुवा संरक्षण गर्ने काम अन्तरदेशीय भएकाले सीमाना जोडिएका मुलुकहरुबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए । डा. मिश्रले भने, हालै नेपालले हिउँ चितुवाको संख्या सार्वजनिक गरेको छ । आगामी दिनमा हिउँ चितुवाको संरक्षण र गणनाको विधिलाई अझै वैज्ञानिक र सर्वमान्य बनाउने प्रयासमा नेपाल लाग्नेछ ।


वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका संस्थाको आयोजनामा भएको सो अन्तराष्ट्रिय गोष्ठीमा भारत, चीन,पाकिस्तान, किर्जिकिस्तान, मंगोलिया लगायतका हिउँ चितुवा पाउने १० वटा मुलुकका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।


नेपालले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा हिउँ चितुवाको संख्या ३९७ रहेको अनुमान गरिएको छ । सो संख्या विश्वको हिउँ चितुवाको संख्याको १० प्रतिशत भएको बताइएको छ ।


हिउँ चितुवाको बासस्थानको करिब ४२ प्रतिशत भूभाग संरक्षित क्षेत्रभन्दा बाहिर रहेको अध्ययनले देखाएको छ । त्यसैले पर्ने हिउँचितुवाको बासस्थान संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, अवैध शिकार नियन्त्रण, अनुसन्धान अभिवृद्धि र स्थानीय समुदायको सहभागितामा आधारित संरक्षण कार्यलाई प्राथमिकता त्यस दिनुपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा. नरेश सुवेदीले बताए ।


सो अवसरमा पेकिङ विश्वविद्यालयका प्रा.डा.लु झीले हिउँ चितुवा संरक्षणमा लागि अन्तर्राष्ट्रिय सहयोग, समन्वय र प्रविधिको हस्तान्तरण आवश्यक रहेको बताइन् । उनले भनिन्, यो अभियाना साझा अभियान हो । यसका लागि प्राप्त भएका सबै सफलताका बारेमा एकापसमा जानकारी लिनुदिनु पर्छ । ताकी हिउँ चितुवा संरक्षणमा थप योगदान पुग्नेछ ।


तीन दिनसम्म चल्ने कार्यशालामा बिभिन्न मुलुकले हिउँ चितुवा संरक्षणका लागि लिएका नीतिगत अभ्यास, प्रविधि तथा कार्यक्रम, चुनौती र सम्भावना तथा आपसी समन्वय बारे कार्यपत्र प्रस्तुत गरिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here