काठमाडौँ । अघिल्लो पटक आफु प्रधानमन्त्री हुँदा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेका केपी शर्मा ओलीले झण्डै पाँच वर्ष पछि वैज्ञानिक वन व्यवस्थापन पद्धती ठिक भएको बताएका छन् । उनले यति सम्म पनि भनेकी वन व्यवस्थापन मुलुकका लागि अपरिहार्य हो, सुखी नेपाली, समृद्ध नेपालका लागि यो चाहिने रहेछ ।
शनिबारबाट काठमाडौँको बुढानिलकण्ठमा सुरु भएको दोस्रो राष्ट्रिय वन सम्बर्धन गोष्ठीको उद्घाटनका अवसरमा उनले भने, वैज्ञानिक वन व्यवस्थापन पद्धती गलत होइन, वैज्ञानिक वन व्यवस्थापनका नाउँमा गरिएको सर्पट कटान गलत हो । वैज्ञानिक वन व्यवस्थापन त वैज्ञानिक नै हो । यसलाई कसैले पनि नकार्न सक्दैनन् । सालघारीको रुखहरुको उपयोग गर्न त आवश्यक छ । यो गर्नै पर्छ ।
प्रधानमन्त्री ओलीले आफ्नो ५५ मिनेटको भाषणमा पटक पटक भने, सालघारीबाट रुख निकाल्ने नै हो । धोत्रा रुख वनजंगलमा राख्ने होइन । रुखलाई वर्षाैँ सम्म राखेर काम छैन । तर निकाल्न हतार पनि गर्नुहुन्न र ढिला पनि गर्नुहुन्न । ठेकेदारले नाफा लिन खोज्ला, अनुचित ढंगको नाफा दिनुहुदैन ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका जिल्लामा सालको जंगलमा सर्पट कटान थियो वा ५० वा ८० वर्षीय चक्रिय प्रणाली अनुसार निश्चित वन क्षेत्रलाई वैज्ञानिक पद्धतीबाट व्यवस्थापन गर्ने काम भइरहेको थियो भन्ने कुरा अघिल्लो पटक प्रधानमन्त्री भएका प्रधानमन्त्री ओलीले फिल्डमा गएर आफैले देखेका त थिएनन् । तर वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी अध्ययन गर्न बनेको संसदीय समितिको प्रतिवेदनले ‘फिल्डमा गलत भएको’ कुरा सार्वजनिक गरेको थियो ।
तत्कालिन अवस्थामा संसदको प्राकृतिक स्रोत साधन समितिका सदस्य प्रदीप यादवको संयोजकत्वमा प्रेम आले सहितको तीन सदस्यीय टोलीले दिएको प्रतिवदेनमा वैज्ञानिक वन व्यवस्थापनका नाउँमा तराईका बाह्रवन जंगलहरु सर्पट कटान भएको प्रतिवेदन उल्लेख थियो, सोही प्रतिवेदनका आधारमा केपी ओलीको अघिल्लो सरकारले सो कार्यविधि खारेज गर्नसम्मको निर्णय लिएको थियो ।
शनिबारको कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले प्रदीप यादव प्रतिवेदनको सारांशको चौथो अनुच्छेदमा उल्लेख भएको बाक्यांश उच्चारण गरे । प्रधानमन्त्री ओलीले भने, वैज्ञानिक वन व्यवस्थापन प्रणाली आफैमा गलत त होइन तर सर्पट कटान त गलत थियो । यो गलत गर्न हुदैन । यसलाई रोक्नुपर्छ भन्ने भएर नै त्यतिबेला रोकिएको हो ।
प्रदिप यादव उपसमितिको प्रतिवेदनका प्रायःजसो सबै अनुच्छेदमा वैज्ञानिक वन व्यवस्थापनका नाउँमा फिल्ड तहमा पैसा उठाइएको, जथाभावी जंगल फाँडेको, कटान भएको ठाउँमा बिरुवा नउम्रिएको, जंगल काटिएको स्थानमा सुुकुम्बासी लगायतकाले अतिक्रमण गरेर बस्न सक्ने वातावरण सिर्जना भएकोले यो पद्धती कुनै पनि हालतमा ठिक नभएको कुरा उल्लेख गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका प्रधानमन्त्री ओलीले कार्यक्रमको अन्तिम चरणमा रोष्टममा मुसुक्कै हाँस्दै भने, ‘‘राज्यमन्त्रीजीले विज्ञान सबैका लागि समान भन्ने कुरा राख्नुभयो । यहाँ उपस्थित सबैको ताली बज्यो तर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षजीले वैज्ञानिक वन व्यवस्थापन खारेज गरेको ठिक हो भन्दा वनमा काम नगर्ने तीन जनाले मात्र ताली बजाए । हलमा भएका यतिका कसैले ताली बजाएनन् ।’’
प्रधानमन्त्री ओली भन्दा अगाडि वन तथा वातारण राज्य मन्त्री रुपा विक र सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले बोलेका थिए । राज्यमन्त्री बिकले घुमाउरो पारामा वैज्ञानिक वन व्यवस्थापन ठिक भएको बताएकी थिइन । राज्यमन्त्री विकको भाषणमा सहभागी सबैले ताली बजाएका थिए । तर महासंघका अध्यक्ष भण्डारीले चर्काे स्वरमा वैज्ञानिक वन व्यवस्थापन खारेज गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो सरकारलाई धन्यबाद भन्दै भाषण गर्दा फलोरमा बसेका दुई,तीन जनाले मात्र ताली बजाएका थिए ।
ओलीको देब्रेपट्टीबाट अध्यक्ष भण्डारीले भाषण गरिरहेका थिए, देब्रेपट्टी नै राज्यमन्त्री रुपा विकको सिट थियो । प्रधानमन्त्री ओलीले ठाकुर भण्डारीको भाषणमा ताली नै नआएपछि पहिले राज्यमन्त्री विकलाई हेर अनि दाहिनेपट्टी बसेका मन्त्री ऐनबहादुर शाही ठकुरीको अनुहार हेरे । भण्डारीको भाषणमा कार्यक्रममा सहभागीहरु प्रतिक्रिया विहिन थिए, सबै मौन बसे । तालीविहिन भाषण गरेका भण्डारीले तीन मिनेटमा आफनो भनाई टुङ्ग्याएका थिए ।
वैज्ञानिक वन व्यवस्थापन खारेज गर्नका लागि सामुदायिक वन उपभोक्ता महासंघले लामो समयदेखि लबिङ गरेको कुरा शनिवार अध्यक्ष ठाकुर भण्डारीले स्पष्ट पारे । उनले शनिवार पनि भने, वैज्ञानिक वन व्यवस्थापन खारेज गर्ने तत्कालिन सरकारलाई धन्यबाद दिनुपर्छ ।
सालघारीबाट लडापडा निकाल्ने होइन, अनेस्टली काम गर्नुपर्छ, उमेर पुगेको साल काट्नु पर्छ । अनि मात्रै सालबाट लाभ लिन सक्दछौँ । उपयुक्त उमेरमा साल काट्नुपर्छ । धोत्रा रुख राखी राखौँ भन्नुहुदैन । आफै ढल्ने रुख राख्ने पनि वन संरक्षण हुन्छ ?
प्रधानमन्त्री ओली भन्दा अघि बोलेकी वन राज्यमन्त्री रुपा विकले वैज्ञानिक व्यवस्थापन भनेको कुरा सबै कुराको वैज्ञानिक व्यवस्थापन हुने भएकाले वन व्यवस्थापन पनि वैज्ञानिक व्यवस्थापन हुँदा राम्रै हुने बताएपछि फलोरबाट गडगहाट ताली बजेको थियो । राज्य मन्त्री विकले अरु सबै कुरामा वैज्ञानिक विषय स्वीकार गर्नेहरुले किन वैज्ञानिक वन व्यवस्थापन स्वीकार गर्न सकेनन् भन्ने आशयको मन्तव्य व्यक्त गरेकी थिइन् ।
अघिल्लो पटक प्रधानमन्त्रीमा केपी ओली हुँदा वन मन्त्री प्रेम आले थिए, वन मन्त्रालयमा सचिव डा. विश्वनाथ ओली थिए । तत्कालिन वन सचिव डा. ओलीले धेरै पटक यो कार्यविधि खारेज नगर्न अनुरोध गर्दा पनि वनमन्त्री आलेको जोडबलमा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेजको प्रश्ताव क्याबिनेट पुगेको थियो ।
ओलीले ओलीलाई सम्झिए
भाषण गर्न उभिएका प्रधानमन्त्री ओलीले दर्जनौँ क्यामरा म्यानले पछाडी पट्टी बसेका सहभागीहरुलाई छेकेको देखेर क्यामरा म्यानहरुलाई बस्न आग्रह गरे । क्यामरा म्यानहरु नबसुन्जेल उनी बोलेनन् । कार्यक्रम हलमा निमन्त्रणा गरेका सबै वर्ग, क्षेत्रको सिट निर्धारण गरिएको थियो । कार्यक्रमका अघिल्लो दिर्घामा पूर्व सचिव डा.केशी पौडेल, डा. विएन ओली र राष्ट्रपति चुरे संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेल एकसाथ बसेका थिए । बोल्दै जाने क्रममा प्रधानमन्त्री ओलीले सहभागीको पहिलो दिर्घामा बसेका पूर्व सचिव डा. विएन ओलीलाई देखाउँदै भने, वैज्ञानिक वन व्यवस्थापन पद्धती ठिक छ । तर सर्पट कटान ठिक भएन भनेर मैले उति बेला पनि भनेको हुँ । त्यतिबेलाका सचिव यही हुनुहुन्छ । उहाँलाई राम्रोरी थाहा छ ।
उद्घाटन समारोह सकेर निस्किनै लाग्दा समेत प्रधानमन्त्री ओलीले पूर्व सचिव डा. ओलीलाई के छ हालखबर भनेर सोधे ।
कुम्भ मेलामा ओलीले पाठ पढाए
शनिवारको समारोह नेपालको वन क्षेत्रका लागि कुम्भ मेला जस्तै थियो । कार्यक्रममा उद्घोषक बिशाल घिमिरेले झण्डै ११ जना पूर्व वन सचिवको नाम उच्चारण गरेका थिए । पूर्व सचिव डा. केसी पौडेल, डा. विएन ओली, डा. केपी आचार्य, डा. अन्नपूर्णनन्दा दास त कार्यक्रममा दिनभरी बसे । प्रधानमन्त्री ओलीले वन विज्ञहरुको यति ठूलो जमघट भएको कुम्भ मेलामा सालघारीको पाठ पढाउँदै भने, ‘‘साल कति वर्षमा बुढो हुन्छ, कति वर्षमा धोत्रो हुन्छ भन्ने कुरा मलाई थाहा छ भने तपाईहरुलाई थाहा हुन्न ? बाराका भिम सखुवा सबै हुदैनन् । कोही साना हुन्छन् त कोही ठूला पनि हुन्छन् । कति उमेरमा काट्ने कति उमेरसम्म राख्ने भन्ने कुरा थाहा हुनुपर्छ ।’’
प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम ठिक भएको पटक पटक स्वीकार गर्दै भने, सालघारीबाट लडापडा निकाल्ने होइन, अनेस्टली काम गर्नुपर्छ, उमेर पुगेको साल काट्नु पर्छ । अनि मात्रै सालबाट लाभ लिन सक्दछौँ । उपयुक्त उमेरमा साल काट्नुपर्छ । धोत्रा रुख राखी राखौँ भन्नुहुदैन । आफै ढल्ने रुख राख्ने पनि वन संरक्षण हुन्छ ?
सालघारी नेपालका लागि मात्र नभई विश्व समुदायका लागि अनुपम उपहार भएको प्रधानमन्त्री ओलीले बताए । उनले भने, सालघारी जसरी पनि बचाउनुपर्छ । सालघारी बचाउनुको राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै दायित्व छ । सालघारीको जथाभावी कटान कुनै पनि हालतमा सह्य हुँदैन । प्रधानमन्त्री ओलीले आफ्नो ५५ मिनेटको भाषणमा पटक पटक भने, सालघारीबाट रुख निकाल्ने नै हो । धोत्रा रुख वनजंगलमा राख्ने होइन । रुखलाई वर्षाैँ सम्म राखेर काम छैन । तर निकाल्न हतार पनि गर्नुहुन्न र ढिला पनि गर्नुहुन्न । ठेकेदारले नाफा लिन खोज्ला, अनुचित ढंगको नाफा दिनुहुदैन ।
प्रधानमन्त्री ओलीले भने, ‘‘४६ प्रतिशत वन क्षेत्र भयो, नेपालको सन्दर्भमा अब पुग्यो । यो भन्दा बढी चाहिदैन । अब वन विस्तार गर्ने कुरा गर्न पनि हुदैन । यसमा सरकार क्लियर छ ।’’
कार्यक्रममा उपस्थित धेरै जसो सहभागीहरुको प्रतिक्रिया थियो, वैज्ञानिक वन व्यवस्थापनका बारेमा प्रधानमन्त्रीलाई यो हदसम्मको सकारात्मक हुन कसले पढायो ? वन व्यवस्थापन प्रति सकारात्मक र व्यालेन्सका कुरा गर्लान जस्तो लागेको थिएन । यो पटक वैज्ञानिक वन व्यवस्थापनका लागि प्रधानमन्त्रीको स्पष्ट कुरा आयो ।