काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निकुञ्जलाई कुनै पनि हालतमा चलाउन नहुने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित दोस्रो राष्ट्रिय वन सम्वर्धन गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘‘राष्ट्रिय निकुञ्ज भित्र जे छ, ठिक छ, त्यसलाई चलाउनु हुन्न, जस्ताको त्यस्तै छोड्नुपर्छ ।’’
प्रधानमन्त्री ओलीले भने, ‘यहाँ वन सम्वर्धन गोष्ठी चलिरहेको छ । वन व्यवस्थापन गर्ने योजना बनाउँदै छौँ । छलफल गर्दैछौँ । वनबाट लाभ लिनुपर्छ तर त्यसो भन्दैमा सबै वनमा बन्चरो र आरा लगाइहाल्ने भन्ने होइन । निकुञ्जलाई प्राकृतिक रुपमा सुरक्षित पनि राख्नुपर्छ ।’ उनले अगाडि भने, यो पृथ्वीमा धमिरा, किरालाई पनि बाँच्ने अधिकार छ । ती जीव, जनावरका लागि निकुञ्ज जस्ता क्षेत्रलाई चलाउनुहुँदैन । वनमा जे जस्ता रुख ढल्यो, त्यस्तै छाडिदिनुपर्छ । जीवजन्तुको लागि उचित बासस्थान बनाउन दिनुपर्छ ।’’
बाघले कानूनको किताब पढेको हुँदैन । बाघलाई २० वर्ष जन्मकैदको बारेमा थाहा हुदैन । बाघसँग नङग्रा छन्, भोको पेट छ, दाह्रा छन् । अनि जे भेट्यो त्यही खान्छ । बाघ कुनै खेलाची गर्ने चिज होइन ।
प्रधानमन्त्री ओलीले कार्यक्रममा भने, ‘‘केही केही ठाउँ प्राकृतिक रुपमा वनजंगल छोड्नुपर्छ । जहाँ सालका हुन कि जेसुकै हुन् । त्यहाँ केही पनि चलाउने होइन, वनस्पति र जीवजन्तुका लागि वनजंगल छुन पनि हुदैन । केही पनि चलाउने होइन, रियल वन, साचो वन छाड्नुपर्छ ।’’
तीन महिना अघि जलवायु परिवर्तन सम्बन्धी कोपको समिक्षा कार्यक्रममा मान्छे खुवाएर बाघ पाल्न सकिदैन, नेपालमा १५० भन्दा बढी बाघ पाल्न हुदैन भन्ने अभिव्यक्ति दिएर बिबादमा आएका प्रधानमन्त्री ओलीले शनिबारको कार्यक्रममा फेरी भने, ‘‘मैले बाघको बारेमा बोल्दा केही बुझ्दै नबुझिकन केटाकेटीहरुले के के टिकाटिप्पणी गरे, के के लेखि दिए ।’’
प्रधानमन्त्री ओलीले कार्यक्रममा भने, मैले अस्ति एउटा कुरा बोले, बाघको संख्या अझ पनि बढाउँदै जाने हो भने मान्छे भागे हुन्छ । अब बाघको संख्या बढाउन सकिदैन, बाघ बढाउन मिल्दैन भन्या के थिए, कुरा नबुझेर के के लेखिदिए ।
प्रधानमन्त्री ओलीले यो पटक पनि दोहोर्याएर भने, ‘‘फोटोमा त बाघ निकै सुन्दर देखिन्छ तर बाघको सामु पर्यो भने बस…..। आफ्नो सामु आउँदा कस्तो हुन्छ ? बाघको फोटामा मात्र हेरेर हुँदैन । बाघ भनेको क्षत्रपति जात हो । जब उसलाई आफ्नो क्षेत्र पुग्दैन, खान नपुगेपछि बाहिर निस्किन्छ । बाघले कानूनको किताब पढेको हुँदैन । बाघलाई २० वर्ष जन्मकैदको बारेमा थाहा हुदैन । बाघसँग नङग्रा छन्, भोको पेट छ, दाह्रा छन् । अनि जे भेट्यो त्यही खान्छ । बाघ कुनै खेलाची गर्ने चिज होइन ।’’
मैले बाघको बारेमा बोल्दा केही बुझ्दै नबुझिकन केटाकेटीहरुले के के टिकाटिप्पणी गरे, के के लेखि दिए ।
तत्कालिन प्रधानमन्त्री माधव नेपाललाई छिर्के हान्दै ओलीले भने, ‘‘कोपनहेगन कि के हेगनमा ९ कि १० तिरको सम्मेलनमा हो । १० वर्षमा बाघको संख्या डबल गर्ने भनेका थिए, हामीले त डबल गर्यौँ अरुले कहाँ डबल गरे । अहिले ३५५ भइसके । जंगलमा होइन, गाउँमा हिड्दा बाघ भेटिएला भन्ने डर भइसक्यो ।’’
तत्कालिन प्रधानमन्त्री माधव नेपालले रुसको सेन्टपिटर्सवर्गमा बाघ पाइने मुलुकको सम्मेलनमा बाघको संख्या दोब्बर गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले संरक्षण सम्बन्धी हरेक कार्यक्रममा माधव नेपाललाई इङ्गित गर्दै सधैँ बाघ र मानवबीचको द्वन्द्वको सन्दर्भ प्रस्तुत गर्ने गरेका छन् । बाघ पालनप्रति ओलीले माधव नेपालसँग जोडेर सधैँ नकारात्मक कुरा मात्र गर्दा बाघ संरक्षणमा काम गर्ने अध्येता, साझेदार संस्था तथा संरक्षणकर्मीहरु झसंग हुने गरेका छन् ।