शुक्लाफाँटामा पनि सुरु भयो गैँडा गणना

महेन्द्रनगर । नेपालको तराईका संरक्षित क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु एकसिँगे गैँडाको राष्ट्रिय गणना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि सुरु भएको छ ।

शुक्लाफाँटामा गणना भएसँगै नेपालमा पाइने सबै संरक्षित क्षेत्रमा गैँडा गणना गर्ने कामको सुरुवात भएको छ । यस अघि सन् २०१५मा गणना भएको थियो ।

नेपालमा एक सिँगे गैँडा पर्सा, चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने गरेका छन् । गैँडाको राष्ट्रिय गणनाको शुभारम्भ यही चैत ९ गते चितवन पर्सा कलष्टरको मनहरी प्रतापपुर फाँटाबाट गरिएको थियो ।

गैँडा गणनाका लागि हात्तीको प्रयोग गरिएको छ भने हात्तीसँगै तालिम प्राप्त जनशक्ति परिचालन गरिएका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल पुनले जानकारी दिए ।

गैँडा पाइने मालुमेला, बेलडाँडी र निकुञ्जको कोर एरियालाई तीन वटा ब्लकमा बिभाजन गरी गैँडा गणनाको काम सुरु गरिएको पुनले बताए । यो निकुञ्जमा एक हप्ताभित्रै गणनाको काम सम्पन्न गर्ने लक्ष्यका साथ योजना निर्माण गरिएको छ ।

यो निकुञ्जमा पहिलो पटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट चार वटा गैँडा स्थानान्तरण गरि शुक्लाफाँटामा गैँडा पाल्ने प्रयास गरिएको हो । तत्पश्चात गैँडाका लागि बासस्थानमा सुधार तथा निर्माण हुँदै गएपछि यहाँ गैँडाको संख्या वृद्धि हुँदै गइरहेको छ ।

गणनामा निकुञ्जलाई संरक्षण साझेदार संस्थाहरु राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल, डब्लुडब्लुएफ लगायतका संस्थाहरुले प्राविधिक तथा आर्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here