जहाँ गैँडा मारिए, त्यही विश्व वन्यजन्तु दिवस

काठमाडौँ । केही दिन अघि चितवनको अमलटारीमा चोरी शिकारीको निशानामा एकै ठाउँमा दुई वटा गैँडा परे । माउ र छोरा एकै घानमा शहादत भएपछि बल्ल चितवन राष्ट्रिय निकुञ्जले थाहा पायो ।

सो घटनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अध्ययन गर्न एउटा समिति नै बनायो । नेपाली सेना र निकुञ्जको पोष्ट नजिकै हुँदाहुँदै भएको घटनामा संलग्न कोहीलाई हालसम्म समात्न सकेको छैन ।

चितवन गैँडाको लागि उर्वरभूमि हो । चितवनमै चोरी शिकारीले गैँडालाई निशाना बनाउने गरेका घटना बढी प्रकाशमा आउने गरेका छन् । प्राकृतिक कारणले पनि चितवनमै गैँडाको मृत्यु हुने गरेको छ ।

संरक्षणमा चितवनले जुन नाम कमाएको छ, पछिल्ला दिनमा बदनाम पनि कमाउन थालेको छ । गिट्टी ढुंगा, बालुवाको कारोवारले निकुञ्ज छेउछाउका यथेष्ट सूचना चोरी शिकारीलाई प्रवाह भइरहँदा निकुञ्ज र नेपाली सेनाका आँखा अगाडि धेरै गैँडा शहिद भइसकेका छन् ।

कोभिड कालमा स्थानीय बासिन्दाले पनि संरक्षणमा खासै जागरुकता देखाउन नसक्दा चोरी शिकारीका घटना बढेको भनाई विभागको छ । कोभिडले गर्दा सरकारका आफ्नै कार्यक्रम पनि साँघुरिएका छन् र संरक्षण साझेदार संस्थाका कार्यक्रम झन खुम्चिएका छन् ।

आज विश्व वन्यजन्तु दिवस । यस वर्ष वन्यजन्तु संरक्षणका लागि सहकार्य नारा तय भएको छ । विभागका महानिर्देशक डा.महेश्वर ढकालले भने, चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी भेग अलि असुरक्षित जस्तै देखियो । एकै ठाउँमा एकै दिन दुई वटा गैँडा मारिए । त्यसैले यो क्षेत्रमा संरक्षण जागरुकता ल्याउनका लागि विश्व वन्यजन्तु दिवसको मनाउने निर्णय गरेका छौँ ।

डा.महेश्वर ढकाल

सन् २०११, २०१५ र २०२१ को गैँडा गणनाले गैँडाको घनत्व पश्चिमी क्षेत्रमा रहेको देखाएको छ । महानिर्देशक ढकालले नेपालकथासँग भने, अब हामीले पश्चिमी क्षेत्रलाई फोकस गर्न सकेनौँ भने ठूलो क्षति व्यहोनु पर्ने स्थिति देखियो । त्यसैले यहाँका युवा, स्थानीय सरकार तथा मध्यवर्ती क्षेत्रका उपभोक्तालाई सक्रिय गराउन आवश्यक भएकाले यो वर्षको विश्व वन्यजन्तु दिवस यहाँ मनाउने निधो गरेका हौँ ।

गैँडाको बासस्थान पश्चिमी क्षेत्रमा हुन थालेपछि मेघौली क्षेत्रमा निजी क्षेत्रको लगानी बढ्न थालेको छ । लगानीकर्ताहरुले आफ्नो भविष्य सुरक्षित ठानेर ठूलठूला होटलहरु यही क्षेत्रमा बन्न थालेका छन् । सौराहा पछि यो क्षेत्र लगानीकर्ताको आकर्षणको केन्द्र बन्दै गएको छ ।

यो क्षेत्रमा द्धन्द्ध र अपराधका घटना कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा विभागले चाँसो देखाउनु जरुरी छ भने अर्काेतिर स्थानीय बासिन्दालाई संरक्षणको दिशामा लगाउने वातावरण सिर्जना गर्नु सक्नुपर्छ । तब मात्र यो क्षेत्र गैँडाको सुरक्षित बासस्थान हुन सक्छ र लगानीकर्ताको लगानीले प्रतिफल दिन सक्छ ।

विभागका महानिर्देशक डा. ढकालका भनाई यही लक्ष्य र उद्धेश्यका साथ यो वर्षको विश्व वन्यजन्तु दिवस गर्न चोरी शिकार नियन्त्रण अभियानमा शुक्लाफाँटा देखि कोशी टप्पुसम्मका तीन सय भन्दा बढी युवालाई भेला पारिने भएको छ । सो भेलामा संरक्षणमा युवाको भूमिका पाठ गराइने छ ।

स्थानीय बासिन्दा, स्थानीय सरकारको प्रत्यक्ष र प्रभावकारी सहभागिता हुने आजको कार्यक्रममा वन्यजन्तु संरक्षणको लागि साझा प्रतिवद्धता समेट्ने कोशिस हुने डा. ढकालले बताएका छन् ।

विभागले यही मौका पारेर स्थानीय सुरक्षा अधिकारी र संरक्षणकर्मीहरुसँग पर्सा र चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकार बढेपछि वन्यजन्तु सुरक्षा रणनीतिका बारेमा बहस गर्ने जनाएको छ ।

Photo credit : World Wildlife Day poster concept.

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here