जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरू

काठमाडौँ । वनस्पति विभागले आयोजना गरेको जैविक विविधता तथा जैविक पुर्वावलोकन सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको बुधबारबाट राजधानीमा सुरु भएको छ ।

जैविक विविधताको अस्तित्व र वंशलाई हानी नोक्सानी नहुने गरी प्राकृतिक स्रोतका सदुपयोग कसरी गर्ने र प्राकृतिक स्रोतको योगदान राष्ट्रिय अर्थतन्त्रमा कसरी बढाउन सकिन्छ भन्ने विषयमा बाह्य मुलुकको अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

वनस्पति विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलका अनुसार सम्मेलनमा भारत, पाकिस्तान, भूटान र अमेरिकाका वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापकहरुको सहभागिता रहेको छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा झण्डै १०० वटा कार्यपत्र प्रस्तुत गरिने भएका छन् । नेपालका तर्फबाट प्रा.डा.रामप्रसाद चौधरी र प्रा.डा. प्रमोदकुमार झा प्रमुख वक्ताको रुपमा रहेका छन् ।

सम्मेलनको उद्घाटन वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले गरे । मन्त्री यादवले संरक्षण गरेर मात्र मुलुकको आर्थिक विकास हुन नसक्ने भएकाले सदुपयोग तर्फ पनि ध्यान दिनुपर्ने बताए ।

सम्मेलन मन्तव्य व्यक्त गर्दै वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले नेपालमा प्रशस्त औषधीय गुण भएका जडिबुटी भएपनि तिनको सदुपयोग गर्न नसकेको बताए । उनले आगामी दिनमा जडीबुटीको सदुपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो पार्नुपर्नेमा जोड दिए ।

सचिव कँडेलले भने, जलवायु परिवर्तनले महत्वपूर्ण जडिबुटीमा पनि नोक्सानी भइरहेको छ । यस तर्फ पनि ध्यान दिनु जरुरी छ ।

विश्वमा कतिपय मुलुकहरुले प्राकृतिक सम्पदामा आधारित औषधी, अत्तर, उपहार तथा सजावटका सामग्री, बास्तुकला, हस्तकला जस्ता महंगा सामानहरु उत्पादन गरी कुल ग्राहस्थ उत्पादनमा ठूलो प्रतिफल लिने गरेका छन् ।

नेपालमा औषधीय गुण भएका प्रशस्त जडीबुटी भएपनि हालसम्म यसको खासै सदुपयोग हुन सकिरहेको छैन । वनस्पति विभागले यस अघि जडीबुटीमा आधारित परफयूम, टुथ पेष्ट, साबुन, सेम्फु लगायतका नमूना उत्पादन गरिसकेको छ तर व्यावसासियक उत्पादन भने हालसम्म हुने सकेको छैन ।

जडीबुटी उत्पादन कम्पनीले सञ्चो लगायतका केही औषधी जडीबुटीमा आधारित भएर उत्पादन गर्दै आइरहेको छ ।
मुलुकमा उपलब्ध जडीबुटीमा आधारित उत्पादन बढाई मुलुकको राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउन सकिने तर्फ विभागले पछिल्ला दिनमा जडीबुटीमा आधारित थप अध्ययन अनुसन्धान गर्दै आइरहेको छ ।

विश्वका अरु मुलुकहरुले विकास गरेका प्रविधिसँग साक्षात्कार हुन यो सम्मेलन आयोजना गरिएको महानिर्देशक डा. पौडेलले जानकारी दिए । सम्मेलनमा जडीबुटीजन्य बिभिन्न उत्पादनका स्टलहरु पनि राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here