वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली नेपालको वन प्रशासनमा कम उमेरमा धेरै महत्वपूर्ण जिम्मेवारी सम्हाल्न पाउने व्यक्तिको रुपमा चिनिनु हुन्छ । यस अघिको जनसंख्या तथा वातारण मन्त्रालय र पशु विकास मन्त्रालयको सचिव समेत जिम्मेवारी लिई सक्नुभएका डा. ओली वन प्रशासनलाई बिवादरहित बनाउनु पर्छ भन्ने कुराका पक्षपाती मानिनु हुन्छ । वन प्रशासनमा सुशासनको सूचक देखिने गरी स्थापित गराउने काममा लाग्नुभएका डा. ओली जलवायु परिवर्तन तथा सामुदायिक वन सुशासनका अध्येता पनि हुनुहुन्छ । सधैँ झैँ यस वर्षको विश्व सिमसार दिवस पनि नेपालले बिभिन्न कार्यक्रमका साथ मनाउन लागि रहेको छ । यसै अवसर पारेर सचिव डा.ओलीसँग नेपालकथाले नेपालको सिमसारको अवस्था तथा सिमसार र जलवायु परिवर्तनको असरसँग सम्बन्धित रहेर कुराकानी गरेको छ ।
नेपालका सिमसारहरुको अवस्था कस्तो छ ?
नेपालमा भएका सिमसारको समग्र अवस्थाको कुरा गर्ने हो भने संरक्षित क्षेत्रमा रहेका सिमसार, सार्वजनिक क्षेत्रमा रहेका सिमसार, वन क्षेत्र भित्र रहेका सिमसार र केही निजी क्षेत्रका रहेका सिमसार रहेका छन् । ती मध्य अन्तराष्ट्रिय महत्वका बिभिन्न नौ वटा सिमसारहरु रामसार सूचीमा सूचीकृत भइसकेका छन् । कतिपय अवस्थामा सिमसार क्षेत्रहरु उचित संरक्षणको अभावमा र बुद्धिमतापूर्ण उपयोग नगरेका कारणले क्षयीकरण भएको अवस्था पनि हामी कहाँ छ । त्यसैले पनि हामीले मन्त्रालयको स्वीकृत बार्षिक कार्यक्रममा सिमसार क्षेत्रको व्यवस्थापन र पोखरी निर्माणको कामलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दैछौँ । समग्रमा सिमसार क्षेत्रहरु जैविक विविधताको हिसावले, वन्यजन्तुको बासस्थानको हिसावले, सिँचाई सुविधाका हिसाबले र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने दृष्टिले निकै महत्वपूर्ण छन् । सिमसार क्षेत्रको बुुद्धिमतापूर्ण उपयोग र संरक्षणको दिशामा मन्त्रालय र मातहतका निकायहरु क्रियाशिल छन् ।
यति महत्व बोक्ने सिमसार क्षेत्र नै बढी मानवीय क्रियाकलापको आक्रमणको चपेटामा पर्ने गरेका छन् नि ?
खास गरेर संरक्षित क्षेत्र र वन क्षेत्रभित्र रहेको सिमसारहरुको सन्दर्भमा त्यति अतिक्रमण हुने सम्भावना कम रहेको छ । तर सार्वजनिक क्षेत्रमा रहेका सिमसार क्षेत्रहरुमाथि चौतर्फि आक्रमण भइरहेको यथार्थ हो । यसको पछाडीको कारण खोतल्दै जाँदा समाजमा चेतनाको कमीले पनि भएको हुन सक्छ । यसबाट सिमसार जस्तो बहुउपयोगी तथा बहुमूल्य चिजको महत्व हामीले थाहा पाउन नसकेका हौँ कि भन्ने पनि हो जस्तो लाग्छ । ती सार्वजनिक क्षेत्रमा रहेका सिमसारको पनि उचित संरक्षण र तिनको दीगो उपयोग र व्यवस्थापन गर्न तर्फ पनि लाग्नु पर्ने आवश्यकता रहेको छ ।
मुलुक संघीयतामा गइसकेको र तीन तहको सरकार निर्माण भएका बेला सिमसारको संरक्षणको कार्यसूची संघीय सरकारको देखिन्छ तर सिमसार तल्ला तह र निकायसँग पनि उत्तिकै सम्बन्धित छन । यस्तो अवस्थामा फेरी संरक्षणमा अन्यौल त हुने होइन ?
त्यस्तो होइन, सिमसारको संरक्षण गर्ने कार्यसूची संघीय सरकारमा भएको भएतापनि अरु दुई तहका सरकारले पनि उत्तिकै महत्व दिइरहेका छन् । जस्तो जगदिशपुर तालको कुरा गर्दा प्रदेश ५ ले पनि महत्वका साथ त्यसका संरक्षण गर्न यथेष्ट बजेट विनियोजन गरेको छ । त्यस्तै स्थानीय स्तरमा भएको सानातिना सिमसार क्षेत्रको लागि स्थानीय तहले पनि आआफ्नै ढंगले कार्यक्रम सञ्चालन गरिरहेका छन् । सामुदायिक वन भित्रका सिमसारहरुको संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित सामुदायिक वनहरुले चाँसो दिइरहेका छन् । पूर्वको बेलबारी, बेतनादेखि लिएर पश्चिमको घोडाघोडी तालसम्मको अवस्था हेर्दा पछिल्लो चरणमा व्यवस्थापनमा सबै सामुदायिक वनहरु सक्रिय रुपमा लागि रहेका छन् । जसले गर्दा त्यो तहको पर्यापर्यटनको विकास पनि भइरहेको छ । जसले गर्दा रोजगारी र आम्दानी सिर्जना गरेको देखिन्छ । केही वर्ष पहिलेको अवस्था भन्दा अहिले फरक अवस्थामा हामी आइपुगेका छौँ । सिमसारको संरक्षण गरेर स्थानीय स्तरमा पर्यापर्यटनको विकास गर्न सकिन्छ भन्ने चेतना पछिल्लो समयमा बढी देखा परेको छ । हामीले वन क्षेत्रमा पर्यापर्यटनको कुरा गरिरहँदा प्रमुख कुरा नै सिमसार क्षेत्र हुन् । पिकनिक स्पटको रुपमा विकास गर्न सकिने क्षेत्र पनि सिमसार क्षेत्र वरीपरीका क्षेत्र भएकाले स्थानीय तहहरुले सिमसारको संरक्षण अनि पर्यापर्यटनका कार्यक्रम सञ्चालन गर्ने जमर्काे देखाइरहेका छन् । वन तथा वातावरण मन्त्रालयले पनि पोखरी निर्माणमा बढी जोड दिइरहेको छ । त्यसैगरी राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट पनि तालतलैया, पोखरी संरक्षणका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।
त्यहाँ भएको जैविक विविधताको ख्याल नगरिकनै सिमसारको एकोहोरो दोहन हुँदा सिमसार क्षेत्रको जैविक विविधता नष्ट भइरहेको पनि यदाकदा सुन्न पाइन्छ नि ?
स्थानीय तहमा रहेका सिमसार क्षेत्रको व्यवस्थापनका सन्दर्भमा सम्बन्धित निकाय स्थानीय तह, सामुदायिक वन अथवा समुदायमा आधारित वन व्यवस्थापन समुह जस्तै साझेदारी वन व्यवस्थापन समुहहरुले संलग्नतामा व्यवस्थापन योजना निर्माण गरेरै नै अघि बढ्नु पर्ने हुन्छ । व्यवहारमा कतिपय ठाउँमा त्यो अनुरुप काम नभएको हुन सक्छन् । त्यसलाई हामीले सच्याउँदै र सुधार्दै लैजानु पर्ने हुन्छ । सिमसारक्षेत्रको महत्व, त्यहाँ पाइने जैविक विविधता विषयमा केन्द्रित रहेर त्यसको संरक्षण र बुद्धिमतापूर्ण उपयोगका लागि के कस्ता योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाएर अघि बढ्नु पर्ने हुन्छ । अलि ठूला र अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको सन्दर्भमा केन्द्रीय सरकारले बढी भूमिका र प्रदेश सरकारले पनि आफ्नो प्रदेश क्षेत्र भित्र रहेका सिमसारको संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ ।
यति महत्वपूर्ण विषयलाई हामीले एक दिन दिवस मात्र मनाएर पुग्ला त ?
जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र अनुकुलन गर्नका लागि सिमसार क्षेत्रहरुको संरक्षण र उचित व्यवस्थापन गर्न जरुरी छ । जलवायु परिवर्तन र सिमसारको मुद्धा नेपालका लागि त झन सान्दर्भिक छ । सिमसारको संरक्षण र उचित व्यवस्थापन गर्न सके कृषिक्षेत्रलाई टेवा पुर्याउने देखि लिएर पर्यापर्यटनलाई समेत प्रवद्र्धन गर्ने विषयसम्मलाई योगदा पुर्याउन्छ । जुनसुकै दिवस, समारोहको मूख्य उद्धेश्य भनेको त्यो विषयलाई मानिसका मगजमा पुर्नताजगी गराउनु हुन्छ । दिवसले सम्बन्धित विषयको महत्वलाई उजागर गर्ने हो । थोरै भएपनि चेतनाका कार्यक्रम फैलाउने प्रयास गर्ने हो । त्यसैले सिमसार क्षेत्र र जलवायु परिवर्तनको विषय कसरी अन्तरसम्बन्धित छ भन्ने कुरालाई हामीले आम मानिसलाई बुझाउन जरुरी छ । एक दिनले हुन त केही हुने होइन तर पनि एक दिनको सन्देशले समाजको चेतनाको स्तर अभिवृद्धि गर्नमा ठूलो भूमिका खेलिरहेको हुन्छ । यो विषयमा यस अघि थाहा नभएको नपाएको व्यक्ति तथा वर्गलाई जानकारी दिने उद्धेश्य पनि हो । ताकी उसले पनि यसका विषयमा थोरै भएपनि थाहा पाओस् भन्नका लागि विशेष दिनका रुपमा दिवस मनाउने गरिन्छ ।
सिमसार क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा हालसम्म भए, गरेको उपलब्धीहरु के के हुन ?
नेपालका भएका सबै सिमसार क्षेत्रको अध्ययन गरेर संख्या एकिन गर्ने काम सम्पन्न भएको छ । नौ वटा अन्तर्राष्ट्रिय महत्वका सिमसारलाई रामसार सूचीमा सूचीकृत गर्ने काम पनि भएको छ । केही सम्वेदनशिल सिमसारको पहिचान गरी व्यवस्थापन योजना निर्माण गरेर कामहरु पनि अघि बढी सकेका छन् । सामुदायिक वन भित्र भएका सिमसार क्षेत्रलाई सम्बन्धित सामुदायिक वन उपभोक्ता समुहलाई दिएर व्यवस्थापन गर्ने जिम्मेवारी पनि दिइएको छ । उच्च हिमाली क्षेत्रमा भएका हिमतालहरुको विष्फोटन हुने जोखिमलाई न्यूनीकरण गर्ने कार्यमा पनि नेपालले सफलता हासिल गरेको छ । च्छो रोल्पा र इम्जा हिमतालको विष्फोटन हुने जोखिमलाई न्यूनीकरण गर्ने हाम्रो सफलता विश्वकै लागि नयाँ र एउटा सफल उदाहरणीय कार्य पनि हो । यो सिकाईको उदाहरण पनि हो ।
मुलुकले संघीयताका अभ्यास गरिरहेका बेला सिमसारसँग सम्बन्धित के कस्ता कानून तथा नीतिको तर्जुमा गरिँने काम भइरहेको छ ?
नेपाल सरकारले वन तथा वातावरण मन्त्रालयलाई दिइएको जिम्मेवारी वा कार्य क्षेत्रका आधारमा हामीले मूख्यतया तीन वटा नीतिमा केन्द्रित भइरहेका छौँ । पहिलो राष्ट्रिय वन नीति, अर्काे राष्ट्रिय वातावरण नीति र तेस्रो जलवायु परिवर्तन नीतिमा काम गरिरहेका छौँ । यी तीन वटा नीतिको आधारमा बिभिन्न रणनीति बनाएर अघि बढ्नु पर्ने हुन्छ । राष्ट्रिय वन नीति अन्तर्गत रहेर सिमसारको संरक्षण र बुद्धिमतापूर्ण ढंगले उपयोग गरिनुपर्छ भन्ने कुरा राखेका छौँ । त्यही अनुरुप रणनीति तयार गरी उपर्युक्त कार्यक्रम तर्जुमा गरेर काम गर्नु पर्ने हुन्छ ।
सिमसार अवसर वा चुनौती के हो ?
तपाईले उठाएको कुरो दुबै हो । सिमसार धेरै अवसर, उत्ति नै यसको संरक्षण र व्यवस्थापन चुनौती पनि हो । जैविक विविधताको दृष्टिले निकै धनी मानिने सिमसार क्षेत्र पर्यापर्यटनलाई प्रवद्र्धन गर्नका लागि निकै उपयोगी क्षेत्र हुन् । यसको बुद्धिमतापूर्ण तरिकाले उपयोग गर्ने हो भने मानिसको दैनिक आवश्यकता पूरा गर्नका लागि महत्वपूर्ण भूमिका खेल्छ । अर्काे कुरा भनेको त्यहाँबाट प्राप्त हुने पानीको उचित उपयोग गर्न सक्यौँ भने सिँचाई मार्फत कृषि उत्पादन बढाउन सकिन्छ । पानीको मूल भनेको जलविद्युत् आयोजना आधार कुरो हो । अर्काे विषय वातारणीय सन्तुलनका लागि पनि सिमसार क्षेत्रहरु महत्वपूर्ण छन भने वन्यजन्तुका लागि अस्तित्वका लागि सिमसार क्षेत्र निकै उपयोगी क्षेत्र मानिन्छन् । त्यसैले यी विविध कारणले सिमसार क्षेत्रहरु मानव जीवनका लागि अवसरै अवसर हुन भने चुनौती पनि त्यति नै छन् । जसलाई बिस्तारै चिर्दै जानुपर्छ ।
सिमसारको संरक्षण र व्यवस्थापनका लागि आगामी कार्ययोजना के के रहेका छन् ?
पछिल्लो दिनमा वन्यजन्तुहरु निर्धारित बासस्थान भन्दा बाहिर आउन थालेका घटना धेरै हुन थालेपछि खासगरी संरक्षित क्षेत्रभित्र रहेका सिमसारहरुको उचित व्यवस्थापनका लागि हामीले गम्भीर हुनु पर्ने स्थिति आएको छ । यसले के देखाउन्छ भने वन्यजन्तुको बासस्थान र उनीहरुलाई चाहिने आहार तथा सिमसार व्यवस्थापनमा हामी कतै चुक्यौँ कि ? भन्ने हिसाबले हाम्रा कार्यक्रम त्यतातिर केन्द्रित हुनुपर्ने देखिएको छ । अर्काे कुरा पानीको स्रोत नभएको सुख्खा क्षेत्र जस्तै पर्सा राष्ट्रिय निकुञ्जभित्रमा पानीको पोखरी निर्माण गर्ने र वन क्षेत्रभित्र पर्यापर्यटन अभिवृद्धि भन्ने कार्यक्रमलाई पनि बढी जोड दिइरहेका छौँ । खास गरेर सामुदायिक वनभित्र पर्यापर्यटनका गतिविधि बढाउन पोखरीहरु निर्माण गर्ने, तालतलैया निर्माण गर्नका लागि पनि कार्यक्रम अगाडि बढाउन योजना बनाइरहेका छौँ ।