पोखरा । वन तथा भू संरक्षण मन्त्री शक्तिबहादुर बस्नेतले विश्व सिमसार दिवसका अवसरमा शनिवार फेवातालको फोहोर सफा गर्नुभएको छ ।
पोखरा स्थित गण्डकी प्रदेशका मूख्यमन्त्रीको निवास पछाडी पट्टी जम्मा भएको फोहोरलाई डुंँगामा गएर टिप्ने काम गर्नुभएका मन्त्री बस्नेतले फेवाताल सफाई गर्ने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।


उहाँले भन्नुभयो, जुन सुकै स्थानबाट सुरु गरिएका सरसफाई अभियानलाई सरकारले सक्दो सहयोग गर्छ । पोखराबासीले जुन आँट गर्नुभएको छ । त्यसका लागि म सलाम गर्छु । फेवा हाम्रो सम्पत्ती हो । त्यसैले यसलाई बिग्रन, भत्किन र फोहोर हुन दिनु हुदैन ।
संघीय सरकारका मन्त्रीलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री विकास लम्सालले साथ दिनुभएको थियो ।

फेवा ताल सफाई अभियानद्धारा आयोजित कार्यक्रममा संघीय वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का, प्रदेश मन्त्रालयका सचिव बिष्णुप्रसाद भण्डारी, दातृ निकाय तथा संस्था विश्व वन्यजन्तु कोष, केयर नेपाल, नेपाल प्रकृति संरक्षण कोष लगायतका निकायका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

फेवातालको सरसफाई अभियानले पोखराका मात्र नभएर देशभरीका तालको सरसफाई गर्नका लागि सन्देश प्रवाह गरेको मन्त्रालयका सचिव डा. ओलीले बताउनुभयो ।
फेवा ताल सफाई अभियानले ४० औँ हप्ता पार गरि सकेको छ भने यो कार्यलाई निरन्तरता दिइने यहाँका सरसफाई अभियन्ताले प्रतिवद्धता व्यक्त गरेका छन् । फोहोरका कारणले ताल पुरिँदै जाने खतरा बढेको भन्दै टापुमा परिणत भएको तालको भागको माटो डोजरले निकाल्ने काम पनि भइरहेको छ ।




