वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकाल मिहिनेती, स्पष्ट वक्ता र युवा सहसचिवको रुपमा चिनिनुहुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको इकोलोजिष्ट हुँदै मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखाको प्रमुख पनि भइसक्नुभएका डा. ढकालसँग जलवायु परिवर्तन र सिमसार क्षेत्रको विषयमा केन्द्रित रहेर नेपाल कथाले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ । सं
यस वर्षको जलवायु परिवर्तको नारा किन जलवायु परिवर्तनसँग जोडिएर निर्माण गरियो ?
रामसार महासन्धी सन् १९७१ मा सुरु भएपनि सन् १९९७ देखि सिमसार दिवस मनाउन सुरु गरिएको हो । यो अवधिमा हामीले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिवेश र सिमसारको देखिएको ज्वलन्त मुद्धाहरुलाई सम्वोधन गर्ने गरी बिभिन्न वर्षमा बिभिन्न नाराको निर्माण गरिन्छ । यो वर्ष सिमसार क्षेत्र र जलवायु परिवर्तन भन्ने तय गरिएको छ । यसका पछाडीका केही कारणहरु छन् । एउटा त सिमसार क्षेत्रहरु आफैमा जैविक विविधताको हट स्पट भएका र यसले पृथ्वीमा भएको जतिपनि फोहोरमैलालाई थिग्रयाउने देखि लिएर पानी जमिन सतह मुनि रिचार्ज गर्ने माध्याम अर्थात पृथ्वीको मृर्गौला भनेर पनि भन्ने गरिन्छ । मिर्गौला जस्तै काम गर्ने अत्यन्तै महत्वपूर्ण सिमसार क्षेत्रमा जलवायु परिवर्तन प्रत्यक्ष असर पर्न थाल्यो । जलवायु परिवर्तनका जोखिमहरु बढद्ै जाँदा सिमसार क्षेत्रको संरक्षण र उचित व्यवस्थापन गर्न बढी जरुरी देखिएर आयो । यही परिपेक्ष्यमा एकातिर सिमसारको संरक्षण गर्दा पृथ्वीको तापक्रम पेरिस सम्झौता अनुसार १.५ डिग्री सेल्सियसमा सीमित राख्नका लागि पनि मद्धत पुग्ने भयो भने अर्काेतिर सिमसार क्षेत्रले अनुकुलनका पाटोलाई पनि टेवा पुर्याउने देखियो । मानव जाति मात्र नभएर पृथ्वीका सबै प्राणीलाई चाहिने अत्यावश्यक कुराहरु पनि सिमसारबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्राप्त हुने भएकाले यसको महत्व झन बढ्दै गएको छ । सिमसार क्षेत्रबाट उत्पादन हुने पानीले सिँचाई, जलविद्युत्, खानेपानी तथा अन्य प्रयोजनका लागि काम लाग्ने भयो । हाम्रा धार्मिक तथा सांस्कृतिक क्षेत्रहरु पनि सिमसारक्षेत्र वरीपरी रहेका छन् । पूर्वको चताराधाम अनि पशुपतिनाथदेखि लिएर फेवातालको मन्दिरसम्म हामीले यस्तै कुराहरु देख्न सक्छौँ । समग्रमा भन्नुपर्दा यस पृथ्वीका चराचरसँग सिमसारको सम्बन्ध अन्यौन्याश्रित देखिन्छ । तर पछिल्लो समयमा जलवायु परिवर्तनको असर सिमसार क्षेत्रमा बढी परिरहेकाले सिमसार क्षेत्रमा जोखिम बढ्दै जाँदा त्यसको असर पृथ्वीका चराचरमा पनि परिरहेको असाध्य गम्भिर, सम्वेदनशिल विषय हाम्रा सामु आएकोले यो विषयलाई नाराका रुपमा छनौट गरिएको हो । दिवस र नारा सांकेतिक हुन्छन् । यिनको सन्देश निकै दूरगामी महत्वको हुन्छ । दिवस एक दिन मनाइने होला तर एक दिनको पनि निकै ठूलो महत्व हुन्छ । नारा छोटो होला । मन्त्र पनि छोटो हुन्छन् । तर मन्त्रको भावार्थ कति दूरगामी र महत्वका हुन्छन् ? त्यसैले यसको सान्र्दभिकता भएरै यो नारा चयन गरिएको हो ।
यो दिवस मनाउन पोखरा नै किन छान्यौ ?
जलवायु परिवर्तन र सिमसारको नारासँग बढी तादाम्य मिल्ने क्षेत्रको खोजी गर्दै जाँदा पोखराको तालक्षेत्रहरु रामसार सूचीमा सूचीकृत भइसकेका र त्यहाँका तालहरु जलवायु परिवर्तनको जोखिमबाट बढी आक्रान्त भएकाले सो क्षेत्रमा सरोकारवालाहरुसँग अन्तक्र्रिया, छलफल तथा बहस गरेर जोखिममा परेका तालतलैयामा मानवीय क्रियाकलापबाट हुने गरेको जोखिमको न्यूनीकरण गर्न सकिन्छ कि भन्ने उद्धेश्यका साथ पोखरा छनौट गरिएको हो । पर्यटकीय आकर्षणको केन्द्र भागमा रहेको पोखराका तालहरु दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गइरहेकोले संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा पोखराको पर्यटन व्यवसायसँग सरोकार राख्ने सबै नागरिक समाज, सञ्चारजगत, बुद्धिजिबी सहितको सचेतना जगाउने कार्यक्रम आयोजना गर्न लागिएको हो । सम्मानित सर्वोच्च अदालतले पनि पोखराको तालको अतिक्रमण हटाउन निर्देशन दिइसकेको अवस्थामा प्रदेश सरकार तथा स्थानीय तह त्यो कामका लागि लागि परेका बेला हामीले होस्टेमा हैँसे गर्न पोखरा छनौट गरेका हौँ । तिनै वटै तहका सरकार प्राकृतिक स्रोतको संरक्षणका लागि एउटै टीममा छौँ र एकसाथ लागेर संरक्षण गर्न सक्छौँ भन्ने सन्देश दिन पनि हामी त्यहाँ जान थालेका हौँ ।
पोखराको सन्देश के आउन्छ ?
जलवायु परिवर्तनको असर तल्लो तहमा परिरहेको छ । तल्लो तहमा स्थानीय समुदाय छ, स्थानीय तह छ र प्रदेश सरकार छ । हामीले हिजोको दिनमा केन्द्रिकृत राज्य व्यवस्थामा बसेर बिभिन्न नीति तथा कार्यक्रम त बनायौँ तर जो प्रभावित समुदाय तथा वर्ग हो, त्यहाँसम्म जलवायु परिवर्तनको असर तथा सिमसारको संरक्षणका विषयमा उजागर हुन नसकेको अवस्थामा पोखरामा मनाइने कार्यक्रमले स्थानीय समुदाय, स्थानीय तह र प्रदेश सरकारलाई पनि यसका विषयमा बुझाउन सहज हुने छ । पोखरामा मनाइने दिवसले जलवायु परिवर्तनको असरसँग लड्न तीनै तहका सरकार, स्थानीय समुदाय, नीजि क्षेत्रका बीच साझा अवधारणा, साझा कार्यक्रम चाहिन्छन् र सहयात्रा आवश्यक छ भन्ने सन्देश दिन्छ ।