हराए दुर्लभ पंक्षी त्रियुगा क्षेत्रबाट



काठमाडौँ । सिमसार क्षेत्र अतिक्रमणमा पर्दै जाँदा जलपंक्षीहरु घट्दै गएको थुप्रै घटना त यस अघि पनि सुनिएकै हुन तर मानवीय क्रियाकलापको चरमता नाघेपछि पंक्षीको जातै नरहने सिमसार क्षेत्र खाली भएको घटना नौलो हुन सक्छ । केही वर्ष पहिलेसम्म बिभिन्न प्रजातिका पंक्षी पाइने उदयपुरको तीस किलोमिटर लामो त्रियुगा नदी किनार क्षेत्र हाल पंक्षीविहीन हुन थालेको छ ।
केही वर्षदेखि त्रियुगा नगरपालिकाको उक्त नदी किनारको सिमसार क्षेत्र तीव्र रुपमा अतिक्रमण भएपछि यहाँ पाइने दुर्लभ पंक्षी अलिहे पूर्ण रुपमा विस्थापित भएका छन् । स्थानीय चुहाडे गाईघाट, जोगीदह क्षेत्रदेखि चौदण्डीको हँडिया, सिवाइ र सुन्दरपुरको नदी किनारका बासिन्दाले अतिक्रमण गरी खेतीपाती गर्दै आएकाले दुर्लभ मानिएका चरा अहिले बस्ने र खाने आहाराको अभावमा विस्थापित भएको हँडिया उत्तराई टोलका बृद्ध घुरनदास चौधरी बताउनुभयो । उहाँका अनुभवमा केही वर्षसम्म आकाशमा हुलका हुल चराहरु उडेको देखिने यो क्षेत्रमा अहिले काग उडेको पनि नदेखिने भएको छ ।
केहीवर्ष अघिसम्म नदी किनारको सिमसारमा थुप्रै पाइने सेतो बकुल्ला, सारस, पानीहाँस, सिमकुखुरा, हुटिट्याउँ सिमसार क्षेत्र मासिएपछि पाइन छाडेको उक्त नगरपालिका– १ जोगिदहका अर्का बृद्ध अमेन्द्रबहादुर खड्काको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “केही वर्ष अघिसम्म सिमसार क्षेत्र हुँदा यसक्षेत्रमा धेरै दुर्लभ पक्षी सप्तकोशी नदी हुँदै त्रियुगा क्षेत्रमा आएर बासोवास गर्ने गर्दथे, अहिले स्थानीयवासीले सिमसार मिचेर गाउँबस्ती बसाउने र खेती गर्ने गरेपछि त्रियुगा क्षेत्र सुनसान छ, एउटा चरा पनि देख्न पाइन्न ।”
नगरपालिकाको चुहाडेदेखि त्रियुगा नदीको दायाँबायाँ क्षेत्र हुँदै चौदण्डीको सिवाइ र सुन्दरपुरसम्मका झण्डै पाँचसय हेक्टर भन्दा बढी सिमसार मिचेर स्थानीयवासीले खेती गर्नाका साथै बसोवाससमेत गर्न थालेपछि अहिले यसक्षेत्रमा पाइने दुर्लभ पक्षी विस्थापित भएको गाईघाट दुर्गाटोलका रत्न पोखरेल बताउनुहुन्छ ।
चराको मुख्य आहार भनेको माछा तथा भ्यागुता हो र सिमसारक्षेत्र मासिदा माछा तथा भ्यागुता पाउन छाडेकाले खानाको अभावमा यस्ता दुर्लभ पक्षी विस्थापित भएको जनतामावि जोगिदहका शिक्षक राजराम राईको धारणा छ ।
अहिले प्रदेश १ मा कोशीटप्पु सबैभन्दा धेरै चरा पाइने गरेकाले मासिँदै गएको सिसारको संरक्षणमा स्थानीय सरकारले जोड दिने नगरप्रमुख बलदेव चौधरी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “त्रियुगा क्षेत्रमा अहिले पनि झण्डै पचास प्रजातीका चरा पाइने गरेकाले अब अन्य छिमेकी स्थानीय तहसँग मिलेर त्रियुगादेखि सप्तकोशीको तपेश्वरी क्षेत्रसम्मको तीस किलोमिटर नदी किनार क्षेत्रलाई चराको आवासको रुपमा विकास गर्न पहल गर्दै आएका छौं, अहिले अध्ययन पनि शुरु भइसकेको छ ।”
सिमसार क्षेत्र बचाउन र दुर्लभ चराको संरक्षण गर्न यसको क्षेत्रको अतिक्रमणमा प्रतिबन्ध लगाएर विगतको जस्तै चराको बसोवास क्षेत्र बनाइ पर्यटन विकास गर्न सकिने हुँदा यो अभियान अब यसक्षेत्रका स्थानीयवासी र सरकारले शुरु गर्न आवश्यक भइसकेको चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राई बताउनुहुन्छ ।
रुसको साइबेरिया र युरोपबाट सप्तकोशी नदीमा आउने पक्षीसमेत त्रियुगा नदीक्षेत्रमा आहारा खोज्दै आउने गरेको यसक्षेत्रका चरासम्बन्धी जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here