गुलरिया । बर्दिया जिल्लाका सामुदायिक वनहरुमा विगतमा लगाइएको काँडेतार हटाएर वन्यजन्तुमैत्री तारवार लगाउन सुरु गरिएको छ ।
काँडेतारवारले वन्यजन्तुमा चोटपटक लाग्ने, घाइते हुने जस्ता घटना देखिएपछि जिल्लाभरीमा सामुदायिक वनमा यस अघि लगाइएको काँडेतारबार हटाउन थालिएको छ ।
काँडेतार लगाए मात्र वन्यजन्तु बाहिर आउँदैनन् भन्ने पुरानो मान्यता रहेछ । आखिर बँदेल, निलगाई, चित्तल लगायतका वन्यजन्तु सादाजाली भएको तार प्रयोग गर्दा पनि नआउँदो रहेछन् भने किन वन्यजन्तुलाई घाइते बनाउने काँडेतार लगाउने भन्ने छलफल गरेर नै निर्णय गरेका हौँ ।

डिभिजन वन कार्यालय बर्दियाका अनुसार वन्यजन्तुका उद्धार गरेका अधिकांश घटनाहरुमा काँडेतारले घाइते भएको देखिएपछि यस्तो अभियान सुरु गरिएको हो । वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन प्रणाली लागु भएका सबै सामुदायिक वनहरुमा संरक्षणका लागि गरिने खर्चबाट यस्तो काम गर्न थालिएको छ ।

डिभिजनल वन अधिकृत विजयराज सुवेदीका भनाईमा अहिले बर्दिया जिल्लामा काँडेतारको ठाउँमा वन्यजन्तुमैत्री तारजाली लगाउने अभियान चलाइएको छ । वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापनको काम भइरहेका सबै ११० वटै सामुदायिक वनमा वन संरक्षणको गतिविधि अन्तर्गत यो काम भइरहेको छ । आगामी दिनमा यो काम जिल्लाभरीका सबै सामुदायिक वनमा विस्तार गरिने छ ।
सुवेदीले भने, “हाम्रा कामहरु वन्यजन्तुमैत्री, संरक्षणमैत्री नै हुनुपर्छ । त्यसका लागि हामीले विगतको अनुभवलाई हेरेर नयाँ नयाँ प्रविधि प्रयोग गर्नुपर्छ । हिजोका दिनमा काँडेतार ठिकै थियो भन्ने लाग्यो, त्यही प्रयोग गरियो तर वन्यजन्तु घाइते भएका घटना हामीले प्रत्यक्ष देख्यौँ र त्यसमा सुधार गर्न खोजिएको हो ।”

जनचेनता सामुदायिक वन बर्दियाका अध्यक्ष बुधराम थारुका अनुसार अहिले सामुदायिक वन वरीपरी धेरै जसो ठाउँमा पुरानो काँडेतार हटाएर नयाँ सामान्य तारजालीको घेरबार गरिएको छ । यो तारजाली लगाएपछि वन्यजन्तु वस्तीमा आउन रोकिएको छ भने तारवारका कारण घाइते हुने डर पनि कम भएको छ ।

वन्यजन्तु छिर्न सक्ने ठाउँमा तारजाली लगाइएको छ भने खम्बाको माथिल्लो भागमा काठ, दाउरा घाँसपातको चोरी नहोस भनेर दुई लाइन काँडे तार लगाइएको छ ।
अध्यक्ष थारुले भने, पुरानो काँडेतार खिया लागेर फेर्नुपर्ने स्थिति भइसकेको थियो । हामीले पनि कतिपय वन्यजन्तुको उद्धार गर्दा काँडे तारले घाइते भएका पनि भेट्यौँ । ससाना बच्चाहरुको शरिर कोतारिएर रगत बगेको पनि देखियो । त्यसले यस्तो काँडेतार वन्यजन्तुमैत्री भएन भनेर डिभिजन वन कार्यालयका सरहरुले पनि भनेपछि हामीले सामान्य मेसजाली प्रयोग गरेका छौँ ।
त्यसैगरी कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तुलारानी थारुका अनुसार पहिलेका समितिहरुले काँडेतार लगाएका थिए तर पछिल्ला समितिले जालीतार लगाएका छन् । यसले वन्यजन्तुलाई घाइते बनाउने, चोटपटक लाग्ने जस्ता काम कम हुने अपेक्षा गरिएको छ ।
थारुले भनिन्, काँडेतार लगाए मात्र वन्यजन्तु बाहिर आउँदैनन् भन्ने पुरानो मान्यता रहेछ । आखिर बँदेल, निलगाई, चित्तल लगायतका वन्यजन्तु सादाजाली भएको तार प्रयोग गर्दा पनि नआउँदो रहेछन् भने किन वन्यजन्तुलाई घाइते बनाउने काँडेतार लगाउने भन्ने छलफल गरेर नै निर्णय गरेका हौँ ।

जलजला सामुदायिक वनका अध्यक्ष राममिलन थारुका भनाईमा विगतमा काँडेतार प्रयोग गर्दा र अहिले सामान्य जाली तार प्रयोग गर्दाको फरक भनेको वन्यजन्तुलाई चोटपटक नलाग्नु नै हो । जंगली जनावर वनजंगलभित्रबाट दगुरेर बस्तीतिर पस्न खोज्दा सामान्य तारजालीले चोटपटक नलाग्ने रहेछ ।
उनले भने, काँडेतार लगाउँदा पनि वन्यजन्तु बस्तीमा आउन रोकिएकै थिए, अहिले पनि रोकिएकै छन् । तर काँडेतारले वन्यजन्तु घाइते हुन्थे भने अहिले त्यस्तो भएको देखिदैन ।
चौधरीका अनुसार एक किलोमिटर नयाँ ठाउँमा तारजाली लगाइएको छ । पाँच फिट अग्लो तारजाली लगाउँदा बाघ, चितुवा, बँदेल, निलगाई, चित्तल जस्ता जनावर बस्तीमा आउन बन्द भएको छ ।

































