राप्तीमा छोडिए १५ गोही


काठमाडौँ । घडियाल प्रजनन केन्द्र कसरामा हुर्काइएका १५ गोहीलाई राप्ती नदीमा छाडिएको छ ।
नेपालका लागि बेलायती राजदूत रिचर्ड मेरिस, जेडएसएल लण्डनका महानिर्देशक डोमिन जर्मसी, राष्ट्रिय प्रतिनिधि डा. हेमसागर बराल, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्का, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक सरिता ज्ञवाली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका सहायक रथी होमनाथ दवाडी लगायतको उपस्थितिमा ती गोही राप्ती नदीमा छाडिएके हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार यस वर्ष १०० को हाराहारीमा गोही छाड्ने कार्यक्रम रहेको छ । चितवनको कसरामा हुर्काएर हालसम्म देशका विभिन्न नदीमा एक हजार ३८० गोही छाडिएको उहाँले बताउनुभयो । पाँच वर्ष उमेरका गोहीलाई नदीमा छाड्ने गरिन्छ । प्रजनन केन्द्रमा हाल ५०० भन्दा बढी गोही रहेका छन् ।
प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार हाल छाडिएका गोहीमध्ये एउटा भाले र १४ वटा पोथी हुन् । नदीबाट अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्काउने गरिन्छ । कसरामा नेपालकै पहिलो र व्यवस्थित गोही प्रजनन केन्द्र रहेको छ ।

पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।
राप्तीमा प्रजनन केन्द्रमा हुर्काएर हालसम्म यो १५ गोहीको संख्या सहित ७०० गोही छाडि सकिएका छन् भने नारायणीमा ३९९ गोही छाडिएका छन् । हालसम्म कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छोडिसकिएका छन् । नेपालका नदीमा छाडिएका गोही पानीसँगै भारत पुग्ने गरेका छन् । गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन् । नेपालमा हुर्काएर नदीमा छाडेका गोही भारत पुग्ने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here