काठमाडौँ । वन्यजन्तु संरक्षणका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले नेपाल बौद्ध संघसँग सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।
मानव र प्रकृतिको कल्याणका लागि वातावरण संरक्षण गर्नुपर्ने कुरामा सहमत हुँदै पछिल्ला दिनमा संरक्षणका क्षेत्रमा देखिएका नयाँ चुनौतीहरुलाई चिर्न यस्तो सहमति भएको हो ।
विशेष गरी संरक्षणमा देखिएका चुनौतीहरु जलवायु परिवर्तन, जैविक विविधतामा हुने गरेको हानी नोक्सानी तथा प्रदूषणलाई सम्बोधन गर्ने कुरामा सँगसँगै काम गर्न सहमति भएको डब्लुडब्लुएफका प्रमुख डा. घनश्याम गुरूङले बताए ।
नेपाल बौद्ध संघले केही समयअघि वातावरण संरक्षणका गतिविधिलाई प्रवद्र्धन गर्न वातावरण तथा वन्यजन्तु संरक्षण समिति पनि गठन गरेको जनाएको छ । धार्मिक व्यक्ति, संस्थाहरुसँगको सहकार्यमा संरक्षणको कामलाई थप योगदान पु¥याउने उद्धेश्यका साथ यो काम गरिएको डा. गुरूङले बताए ।
नेपालका बौद्ध धर्मका अनुयायीहरू संरक्षण प्रति प्रतिवद्ध हुँदै आएकाले थप प्रतिफल निकाल्न यस्तो सहमति भएको बताइएको छ । कोष र संघका पदाधिकारीबीच धर्म र संरक्षणका सम्बन्धका बारेमा छलफल पनि भएको छ । सो छलफलले संरक्षणको दीर्घकालिन लक्ष्य प्राप्त गर्न सम्प्रदाय स्तरीय बैठक, जिल्लास्तरीय बैठक तथा गुम्बासम्म प्रत्यक्ष पहुँच पु¥याउने कार्य गर्ने कुरामा सहमति जनाएको छ ।

बौद्ध धर्मभित्रका चार वटा सम्प्रदाय न्इङ्मा, काग्यु, शाक्य र गेलुगका वरिष्ठ प्रतिनिधिहरुले संरक्षण प्रति प्रतिवद्धता सहितको प्रस्तुती दिएका थिए ।
छलफल कार्यक्रममा संघका अध्यक्ष आचार्य नोर्बु शेर्पाले भने, ‘‘आज हाम्रो संसारले वातावरणको सन्दर्भमा ठूलो चुनौतीहरूको सामना गरिरहेको छ, र तिनीहरूलाई सम्बोधन गर्नु सम्पूर्ण मानवताको लागि प्रमुख प्राथमिकता हो । अन्तरनिर्भरता र अहिंसाका आधारभूत सिद्धान्तहरू सहितको बौद्ध धर्मले यी चुनौतीहरूको जवाफ दिन र सम्बोधन गर्न मद्दत गर्दछ ।’’
कार्यक्रममा संघको वातावरण तथा वन्यजन्तु संरक्षण समितिका संयोजक खेन्पो ग्युर्मेले वातावरण र वन्यजन्तुको संरक्षण विना मानव जीवन पुरा नहुने बताए । कोषका नेपाल प्रमुख डा. घनश्याम गुरुङले डब्लुडब्लुएफले नेपालमा संरक्षणसँग सरोकार राख्ने सबै निकाय, समुदाय तथा व्यक्तिसँग सहकार्य गर्ने गरेको बताए ।
छलफलमा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अध्यक्ष गेशे थुप्तेन जिक्डोल र दक्षिण भारतको नामद्रोलिङ्ग मठका वरिष्ठ धार्मिक गुरू खेन्त्रुल ग्याङ्खाङ रिन्पोछेले पनि धर्म, संस्कृतिले संरक्षणको विषयलाई आत्मसात गरेको बताए ।