कञ्चनपुर । कञ्चनपुरमा सञ्चालित वैज्ञानिक वन व्यवस्थापनले आम्दानी बृद्धि भएको छ ।
कञ्चनपुरका विभिन्न सात सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन गर्न शुरु गरिएको छ । आर्थिक बर्ष २०७३/०७४ देखि जिल्लामा दुई सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन शुरु गरिएको थियो ।
सिंहपुर सामुदायिक वन र रामनगर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन यस अघि नै गरिएको थियो । वैज्ञानिक वन व्यवस्थापन भएका सामुदायिक वनको आम्दानीमा ह्वातै बृद्धि भएको देखिएको छ । १०देखि १५ लाख मात्रै आम्दानी हुने सिंहपाल र रामनगर सामुदायिक वनको आम्दानी डेढ करोड रुपियाँ बराबर भएको छ ।
चालु आर्थिक बर्ष २०७५/०७६ मा फेरी कञ्चनपुरका पाँच सामुदायिक वनमा वन व्यवस्थापन कार्यक्रम संचालन गरिएको छ । जगदम्बामयुर, हरियाली, ग्वाँसी, सिता र महाकाली सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनका लागि कार्य योजना स्वीकृत भईसकेको छ ।
सिंहपुर र रामनगर सामुदायिक वनमा दुई दुई सय हेक्टर गरि चार सय, सिता, महाकाली जगदम्बामयुर दुई सय गरि ६ सय र हरियाली र ग्याँसी, समैजी सामुदायिक वनमा पाँच/पाँच सय गरि एक हजार हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन हुने छ ।
रामनगर सामुदायिक वन बाहेक पाँचै सामुदायिक वन कृष्णपुर नगरपालिका क्षेत्रमा हुन् । रामनगर सामुदायिक बन बेलौरी नगरपालिकाको हो । सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएपछि आर्थिकोर्पाजनका साथै रोजगारीमा बृद्धि भएको सामुदायिक वन उपभोक्ता समितिले जनाउनुभएका छन् । कार्यक्रम अन्तर्गत ८० बर्ष पुगेका सालका रुख काटेर नयाँ बिरुवा रोप्ने र पुरानो पुस्ता हटाउदै नयाँ पुस्ता पुर्नरुत्पादन गर्ने हो । दुवै सामुदायिक वनले डेढ÷डेढ करोडको आम्दानी गरेका छन् । स्थानीय स्तरमा रोजगारीका साथै सामाजिक रुपमा समेत काम गरेको पाईन्छ ।
सिंहपुर सामुदायिक वनका कोषाध्यक्ष बाबुराम चौधरीले कार्यक्रम लागु गर्न निकै चुनौती भएपनि सामुदायिक वनलाई आर्थिक लाभ भएको बताउनुभयो । १०/१५ लाख रुपियाँको आयव्यय हुने सामुदायिक वनमा करोडौँको आम्दानी भएको बताउनुभयो ।
सव–डिभिजन वन कार्यालय वाणीका प्रमुख विश्वराज पण्डितले कञ्चनपुरमा वैज्ञानिक वन व्यवस्थापन भएसंगै यहाँका आर्थिक, सामाजिक र वातावरणीय पक्षमा सुधार भएको बताउनुभयो । उहाँका अनुसार अत्यन्तै बुढो बालीचक्रमा रहेका सालका रुख कटान गर्दै सो क्षेत्रमा बृक्षारोपण गरिएको छ । काठ बिक्रि बाफत २५ प्रतिशत वन व्यवस्थापन, ३५ सो क्षेत्रमा गरिब, विपन्न समुदायको जिविकोपार्जन र ४० प्रतिशत सामाजिक कार्यका लागि खर्च गरिने बताउनुभयो ।
कार्यक्रम अन्तर्गत जटिबुडी प्रशोधन केन्द्र, कृषकका लागि खेतबाली प्रशोधन केन्द्र, किसानलाई शीपमुलक तालिम समेत प्रदान गरिएको बताउनुभयो । चोरी शिकारी नियन्त्रण हुने उहाँको भनाई छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख मोहनराज काफ्लेले कार्यक्रम प्रभावकारी ढङ्गबाट सञ्चालन भएको बताउनुभयो । उहाँका अनुसार हैसियत बिग्रेका रुख कटान गरेर सो स्थानमा नयाँ बिरुवा रोपिनेछन् ।