लमजुङ । लमजुङ र गोरखाको सीमाना चेपे खोलामा पहिलो जलविद्युत् आयोजना निर्माणको लागि तयारी भइरहेको छ । दूधपोखरी गाउँपालिका १ दूधपोखरीमा निर्माण हुने गरी ८ दशमलव ६३ मेगावाटको चेपे खोला साना जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको हो ।
आशुतोष इनर्जी प्रा.लि.ले स्वदेशी लगानीमा उक्त आयोजना निर्माण गर्न लागेको हो । आयोजनाको निर्माण कार्य २०७६ बैशाखबाट थालिने प्रवद्र्धक आसुतोष इनर्जी कम्पनीले जनाएको छ । संस्थाका निर्देशक किरण चिलुवालका अनुसार २०७६ को जेठ÷असारसम्म सबै जग्गा खरीदको काम सक्ने र निर्माण कम्पनीका लागि टेन्डर हुनेछ । आयोजनाको इन्टेक (बाँध) दूधपोखरी गाउँपालिका १ माझीगाउँ बेंसीमा रहनेछ । पावरहाउस (विद्युत्गृह) कुनाघाटमा रहनेछ । आयोजनाको तीन हजार १४० मिटर पेनस्टक पाइप रहनेछ । विद्युत् गृहमा दुई वटा पेल्टन टबाइन रहनेछ । आयोजनाको ग्रसहेड २२९ मिटर छ ।
आयोजनाको विद्युत् खरीद विक्री सम्झौता (पीपीए) २०७४ जेठ १५ गते भएको थियो । आयोजनाले निर्माण सुरु गरेको साँढे दुई बर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । प्राधिकरणसँग व्यवसायिक विद्युत् उत्पादन भने २०७८ फागुन ९ मा तोकिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् हिउँदको समय ६ महिना प्रतियुनिट आठ रुपियाँ ४० पैसा र वर्षाको ६ महिना प्रतियुनिट चार रुपियाँ ८० पैसामा खरीद गर्ने गरी पीपीए भएको हो ।
आयोजना निर्माणका लागि एक अर्ब ६४ करोड रुपियाँ खर्च हुने अनुमान छ । आयोजनामा ७० प्रतिशत विभिन्न बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहनेछ । ३० प्रतिशत स्वपुँजी रहनेछ । वित्तिय व्यवस्थापनको काम भइरहेको निर्देशक चिलुवालले बताउनुभयो ।
आयोजनाबाट बार्षिक ५१ दशमलव ५७ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । सुक्खायाममा ३० दशमलव ९५ गिगावाट र बर्षायाममा ६९ प्रतिशत ०५ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादन हुने विद्युत् १६ किलोमिटर टाढा दोर्दी करिडोरमा निर्माण हुने १३२ केभीको राष्ट्रिय प्रशारण लाइनको कीर्तिपुरबेंसीमा निर्माणाधीन सबस्टेसनमा जोडिनेछ । विद्युत् गृहबाट कीर्तिपुर बेंसीसम्म आयोजना आफैंले प्रसारण लाइन निर्माण गर्ने चिलुवालले बताउनुभयो ।