काठमाडौँ । इटा बनाउने समयमा लगातार पानी परेपछि एक हप्ताको अवधिमा ५० करोड मूल्य बराबरका ईटा नोक्सानी भएको छ ।
कात्तिकबाट उद्योग चलेर जेठ महिनासम्म सञ्चालन हुने ईट्टा उद्योग यस वर्ष पटकपटक भारी वर्षाका कारण प्रभावित भएका छन् ।

नेपाल ईटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारका अनुसार गत शुक्रवारसम्मको देशभरीमा क्षति हेर्दा ५० करोड मूल्य बराबरको ईट्टा नोक्सानी भइसकेको छ । शनिवार र (आज)आइतवारको पानीले के कति क्षति पुर्यायो भन्ने तथ्याङ्क संकलन भइरहेको छ ।
यस पटक छिटै पानी पर्न सुरु भएपछि कतिपय उद्योगहरु बन्द भएका छन् । विगतका वर्षहरुमा जेठसम्म चलाउने गरेका थियौ अहिले त्यो अवस्था रहेन ईटा उद्योग संघ चितवनका अध्यक्ष नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘पानी पर्न थालेपछि १५ दिन अगाडिबाट उद्योगहरु बन्द भएका छन् ’ उहाले भन्नु भयो ‘केही त यस वर्ष नखोल्ने गरी बन्द भएका छन् केही अझै समय कुरेका छन् ।’
अध्यक्ष चित्रकारले भन्नुभयो, पोल्नको लागि बनाएको काचो इटा उठाउन नमिल्ने गरी पग्लेको छ । अब पग्लिएका ईट्टा पोल्न सकिदैन । यस पटक धेरै नोक्सानी व्यहोर्नु पर्यो ।
गएको माघ १३ गतेपनि वर्षा भएको थियो । त्यो समयमा पनि देशभरमा गरेर ४० करोड बराबरको नोक्सानी ईट्टा व्यवसायीले व्यहोरेका थिए ।
बर्षाले बिग्रेको काचो ईटा पुनः प्रशोधन गर्न तत्काल नमिल्ने, ज्याला, माटो खरिदमा भएको खर्चका कारणले पानीले गरेको नोक्सानीले उद्योगीलाई आर्थिक हिसाबले निकै पीडित बनाएको अध्यक्ष चित्रकारले बताउनुभयो ।