वन्यजन्तु सप्ताह: यस पटकको फरक तयारी


काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले केन्द्रीय तहमा वन्यजन्तु सप्ताह मनाउने तयारी गरिरहेको छ । यस पटकको सप्ताहमा वन्यजन्तु संरक्षणसँग सरोकार राख्ने सबै तहका सरोकारवालासँगको समन्वयलाई बढी जोड दिइएको छ ।

२४ औँ वन्यजन्तु सप्ताहको नारा पनि तय गरिएको छ । बदलिँदो परिस्थितिलाई ध्यान दिई वन्यजन्तु संरक्षणका लागि नारा तय गरिएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी एवम् उपसचिव बिष्णुप्रसाद श्रेष्ठका अनुसार ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने नारा तय गरिएको छ ।

आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म बिभिन्न कार्यक्रममा साथ मनाइने सप्ताहमा संरक्षण साझेदार संस्थाहरु विश्व वन्यजन्तु कोष नेपाल, जेडएसएल नेपाल, पंक्षी संरक्षण संघ, आइयुसिएन, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका संस्थाहरुको प्रत्यक्ष सहभागिता रहने भएको छ । विभागका महानिर्देशक मनबहादुर खड्काको अध्यक्षतामा बसेको सप्ताह मूल आयोजक समितिको बैठकले सप्ताह मनाउनका लागि बिभिन्न निर्णय पनि गरेको छ ।

सूचना अधिकारी एवम् उपसचिव बिष्णुप्रसाद श्रेष्ठ

सूचना अधिकारी श्रेष्ठका अनुसार यस पटक संघीय संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समितिका पदाधिकारी तथा सांसदहरुलाई चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रका बासिन्दासँग अन्तक्र्रिया गराउने कार्यक्रम रहेको छ । सो कार्यक्रमले संरक्षित क्षेत्रको संरक्षणमा स्थानीय समुदायले पुर्याएको योगदान तथा संरक्षण गरेवापत स्थानीय समुदायलाई पुगेको फाइदा, जीविकोपार्जनका कार्यक्रम, पर्यापर्यटनका गतिविधि बारे सांसदहरुले प्रत्यक्ष अवलोकन तथा सम्बाद गर्ने मौका पाउने भएका छन् ।

त्यसैगरी वातावरण र विकासलाई समगतिमा लैजानु पर्छ भन्ने मान्यताका साथ यस पटकको सप्ताहका कार्यक्रममा ठूला भौतिक पूर्वाधार निर्माणसँग सरोकार राख्ने निकाय सडक विभाग लगायतका विकासे अड्डाका प्रमुखहरुसँग विभागले अन्तक्र्रिया तथा छलफलको पनि आयोजना गर्ने भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

यस पटक संरक्षणका लागि साहित्यिक साधकको पनि योगदान रहने र साहित्यिक रचनाले पनि संरक्षणका लागि सचेतना जगाउन सक्ने कुरालाई ध्यान दिई वन्यजन्तु संरक्षणका लागि सहकार्य शिर्षकमा कवि गोष्ठी समेत आयोजना गरिने भएको छ ।

विद्यालयमा साना बालबालिकाबीच चित्रकला प्रतियोगिता तथा प्रदर्शनी, र्याली तथा झाँकी प्रदर्शन, विश्वविद्यालयका प्राध्यापक तथा अध्ययन अनुसन्धानदाताको रिसर्च पेपर, चरा अवलोकन, पाटन दरबार सरसफाई, विश्वविद्यालयका विद्यार्थीहरुलाई पनि सहभागी गराई बिभिन्न कार्यक्रम आयोजना गरिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here