मन्त्रीको कुर्सि हल्लाउने ध्रुबेको १० किलो दाँत काटियो

काठमाडौँ । जंगलको राजा को भन्दा ‘सिंह’ । कसैले ‘बाघ’ पनि भन्छन् । नेपालमा न सिंह न बाघ । केही वर्ष पहिले ‘ध्रुबे’ नाम दिइएको एउटा ‘टयापे हात्ती’ थियो, त्यो नै चितवन आसपासको जंगल र बस्तीको राजा भएको थियो । ऊ यति आक्रामक थियो कि अहिलेको कोरोना भाइरस जस्तै । जता जान्थ्यो पूरा सखाप पारेर जान्थ्यो । ऊ हिडेको बाटोमा जो आउन्थ्यो, कुल्चेर हिड्थ्यो । त्यही राजा हात्तीको दाँत हिजो मात्र भाचिएका छन् । दाँत मात्र भाँचिएका छैनन् । उसको घाँटीमा एउटा मेसिन समेत झुण्डयाइएको छ । जस मार्फत उसका बानी व्यवहारलाई अनुगमन गर्न सकिने भएको छ ।

चितवनको पूर्वी सेक्टर सौराहाका प्रमुख गोपालबहादुर घिमिरेका अनुसार अब रेडियोकलर गरेपछि आतंक फैलाउने ध्रुबेका सबै गतिविधिमा निगरानी राख्न सजिलो भएको छ । बिहीवार साँझ रेडियो कलर गरेपछि शुक्रवार बिहाना १२ बजेतिर ध्रुबे हात्ती प्रजनन केन्द्र खोरसोरदेखि १५० मिटरको दुरीमा बिचरण गरिरहेको छ ।

डार्ट गरेर दाँत काट्नु अघिको ध्रुबे हात्ती

ध्रुबेसँग कहिल्यै ग्रह नमिल्ने अर्काे रोनाल्डो हात्तीसँग यसको जहिल्यै पनि झकडा भइराख्थ्यो । भेट भएपछि यस अघि घण्टौँ झकडा गर्ने गरेका भएपनि यस पटक भने रोनाल्डो खोरसोर क्षेत्रबाट भागेको छ । गत पुस २५ गते रोनाल्डाको पनि दाह्रा काटेर रेडियोकलर गरेपछि ऊ ध्रुबे भन्दा कमजोर भएको छ । ध्रुबे हात्ती चितवन राष्ट्रिय निकुञ्जमा देखिन थालेको झण्डै एक दशक भइसकेको छ । यसले चितवनदेखि पूर्वतिरको बारा, पर्सा, रौतहट र भारतसम्म पनि आउने जाने गरेको छ ।

ध्रुबे हात्तीले हालसम्म १५ जनाको ज्यान लिइसकेको छ । जति बेला यो हात्ती देखिन्छ अनि बस्तीमा पस्छ । मान्छे धपाउन खोज्दा झन बिच्किने स्वभावको यो हात्तीले २०६६ सालमा मात्र १० जनाको ज्यान लिएको हो ।

मन्त्रीको कुर्शी हल्लाउने ध्रुबे

जति बेला ध्रुबेले चितवनमा आफ्नो राज देखाउँदै थियो । त्यतिबेला देशमा खिलराज रेग्मीको सरकार थियो । वन मन्त्री थिए, कृषि सचिव भइसकेका टेकबहादुर थापामगर । मन्त्रालयका सचिव डा.केशी पौडेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका डिजी थिए मेघबहादुर पाण्डे । चितवन राष्ट्रिय निकुञ्जका चिफ वार्डेन थिए, बाघका विषयमा विद्याबारिधि गरेका डा. झमक कार्की ।

डा. झमक कार्की

मौसम यस्तै थियो, ध्रुबे पर्सा राष्ट्रिय निकुञ्जको जंगल भएर टाइगर टप्सका पोथी हात्तीको आइरहन्थ्यो । यो बेला हात्ती मात्तिने बेला हो । मात्तिने भनेको पोथी खोज्ने बेला हो । प्राय जसो ध्रुबे आइरहँदा राती त होटललाई समस्या थिएन । तर बिहानाको समयमा पर्यटकलाई हात्ती जंगल सफारीमा लिन खोज्दा ध्रुबेले होटलमा बिध्वंश मच्चाउन थाल्यो । अर्काेतिर पर्साबाट आउँदा जाँदा बाटोमा पर्ने माडी बस्तीमा घर भत्काउने, मान्छे मार्ने र अन्नबाली खाने हर्कत देखाउन थालेपछि यो समस्याका रुपमा देखापरेको हो । त्यही वर्ष १० जना मानिसको ज्यान लियो यसले ।

त्यति बेला यो हात्ती राष्ट्रिय समस्याका रुपमा देखा परेपछि मन्त्री टेकबहादुर थापा मगर नै चितवन आएका थिए । अनि विभागका उपसचिव बर्णबहादुर थापाको संयोकत्वमा एउटा टोली समेत बनाएर चितवनको प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई समेत परिचालन गरेको थियो । नेपाली सेना त निकुञ्जभित्र ध्रुबेको पछि दौडिरहेको थियो । चिफ वार्डेन डा. कार्की स्टाफ कलेजको प्रशिक्षणमा रहेको बेला ध्रुबेको आतंकसँग सहायक वार्डेन हरेराम दासले काम गर्न नसक्ने भएपछि तत्कालिन अवस्थामा विभागका उपसचिव डा. महेश्वर ढकाललाई काम गर्न पठाइएको थियो । उनी पनि धेरै दिन टिक्न सकेनन् । दुई हप्तापछि बिभाग फर्के । त्यसपछि कलमजंग कुँवरलाई जिम्मेवारी दिइएको थियो ।

दाँतको तौल १० किलो

गोपालबहादुर घिमिरे

हुन त २०६७ सालमा पनि ध्रुबेको पहिलो पटक दाँत काटेर रेडियो कलर गरिएको हो । वनकट्टा पोष्टमा रहेको सरकारी पोथी हात्तीमा मात्तिएका बेला यसलाई डार्ट गरेर दाँत काटिएका हुन् । अहिले पछिल्लो पटक हिजो (बिहीवार) दिउँसो २ बजे लठ्याउने जाइजाजिन औषधि दिइयो । सुरक्षित स्थानमा लठ्ठीएको ध्रुबेलाई त्यसको झण्डै डेढ घण्टा पछि ३ः४० मा पहिलो पटक ढाल्ने औषधि एम ९९ दिइयो । पहिलो पटकले औषधिले ढलेन, बलियो ध्रुबे । फेरी दोस्रो पटक ४ः५० मा औषधि दिइयो । बल्ल सुरक्षित स्थानमा ढल्यो ध्रुबे । सहायक वार्डेन घिमिरेले नेपालकथासँग भने, निकै गाह्रो भो ध्रुबेको दाह्रा काट्न ।

उनले भने, हामीले यसलाई एक हप्ता अघि देखि नै पछयाइरहेका थियौँ । अस्तिको दिन रोनाल्डोले खोरसोरलाई कमाण्डमा लिएको थियो तर यो आएपछि उ भाग्यो । यो दाह्रा भएको रोनाल्डो भन्दा बलियो पनि थियो । हामीले डार्ट गर्ने मौका छोपिरहेको थियौँ । हिजो साइत जुर्यो, हाम्रो योजना सफल भयो ।

डार्ट गर्नमा एनटीएनको प्राविधिक टीम, हामी र नेपाली सेनाको संयुक्त प्रयास रह्यो । अहिले ध्रुबे थकान अवस्थामा जंगलमा देखिन्छ । औषधिको प्रभाव पनि होला, दाँत काटि सकेपछिको झोक पनि होला ।

(तस्विर: चितवन राष्ट्रिय निकुञ्ज/एनटीएनसी)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here