गैँडा संरक्षण गर्न एकजुट भए पाँच देश

काठमाडौँ । एसियन गैँडा पाउने पाँच वटा राष्ट्रहरुले गैँडा संरक्षणका लागि एक्येवद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेका छन् ।

एसियन गैँडाको विशेषज्ञ समुह (एसियन राइनो स्पेसिलिष्ट ग्रुप ) को भारतको नयाँ दिल्लीमा भएका दुई दिने बैठकपछि गैँडा संरक्षणका लागि साझा सहमतिमा हस्ताक्षर भएको हो ।

नेपाल, भारत, भूटान, इण्डोनेशिया र मलेसियाका सरकारी उच्च अधिकारी, गैँडा विज्ञहरुको सहभागिता रहेको विज्ञ बैठकले १२ बुँदे सहमति गरेको छ ।

सो बैठकमा नेपाली प्रतिनिनिधि मण्डलको नेतृत्व गर्नुभएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा.रामचन्द्र कँडेलका अनुसार गैँडाको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण गर्न सीमा जोडिएका मुलुकका बीच अझ प्रगाढ सम्बन्ध बिस्तार गर्ने र विद्यमान संरचनालाई प्रभावकारी बनाउँदै लैजाने, सीमा जोडिएका देशमा गैँडाको बासस्थान सुधार, सुरक्षा तथा गैँडा संरक्षणका लागि प्रचार प्रसारलाई गर्ने कार्यलाई प्राथमिकतामा राख्ने कुरामा सहमति भएको छ ।

उपमहानिर्देशक डा.रामचन्द्र कँडेल

त्यसैगरी गैँडा संरक्षणका लागि आ आफ्ना राष्ट्रमा भए, गरेका सफल प्रयोग, अभ्यास तथा अध्ययन अनुसन्धान, सिँकाईलाई सबै राष्ट्रबीच आदान प्रदान गर्ने, सीमा क्षेत्र जोडिएका राष्ट्रबीच गैँडाको बासस्थान क्षेत्र बिस्तारका लागि सहकार्य गर्ने कुरामा पनि पाँच वटा राष्ट्रले सहमति जनाएका छन् ।

जसले गर्दा नेपाल र भारत, भारत र भूटान, इण्डोनेसिया र मलेसियाबीच र सबै राष्ट्रबीच गैँडा संरक्षणका लागि प्रयोगमा ल्याइएको परम्परागत तथा आधुनिक ज्ञान, शीप, प्रविधि, अनुसन्धान, सफल सिँकाई, संरचनागत रणनीति, कार्यनीति तथा शैलीका बारेमा सबै राष्ट्रबीच आदान प्रदान गर्न बाटो खुलेको विभागका उपमहानिर्देशक डा. कँडेलले बताउनुभयो ।

हरेक तीन वर्षमा आयोजना हुने यो उच्चस्तरीय विज्ञ बैठक आगामी सन् २०२२ मा नेपालले आयोजना गर्ने भएको छ । यस अघि इण्डोनेसियामा बैठक आयोजना गरिएको थियो ।

सो बैठकमा नेपालले गैँडा संरक्षणका लागि ‘जिरो पोचिङ’ वर्ष सफल रुपमा मनाइरहेको, गैँडाको अवैध व्यापार शून्यमा झारिएको, बासस्थान सुधारमा उल्लेख्य प्रगति भएको, संरक्षण साझेदार संस्थाको सक्रिय सहभागिता रहँदै आएको, चोरी शिकार नियन्त्रण गर्न प्रहरी, अनुसन्धानका निकाय, नेपाली सेना तथा भन्सार, स्थानीय समुदायको प्रभावकारी तथा सचेत रुपमा सहभागिता रहँदै आएको कुरालाई उठाएको डा. कँडेलले जानकारी दिनुभयो ।

नेपालका तर्फबाट उपमहानिर्देशक डा. कँडेल, विश्व वन्यजन्तु कोष हरियो वनका डा. शान्तराज ज्ञवाली, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्याल, राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. नरेश सुबेदी लगायतका विज्ञहरुको सहभागिता रहेको थियो ।

भारतको केन्द्रीय वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले आयोजना गरेको बैठकमा हरेक चार/चार वर्षमा आ आफ्नो देशमा रहेको गैँडाको संख्या गणना गर्ने पनि सहमति भएको छ ।

एकसिँगे गैँडा नेपाल, भारत र भूटानमा पाइने गरेका छन् भने गैँडाको अर्काे प्रजाति सोमात्रान र जाभान इण्डोनेशिया र मलेसियामा पाउने गरेका छन् । अघिल्लो गणना अनुसार नेपालमा ६४५, भारतमा ३००० भन्दा बढी र भूटानमा ३ वटा एक सिँगे गैडा रेकर्ड गरिएका छन् । उता इण्डोनेसियामा सोमात्रान प्रजातिको गैँडा ५०, जाभान प्रजातिको ८० वटा रेकर्ड गरिएका छन् । सोमात्रान प्रजातिको गैँडा पाइने मलेसियामा हाल देखिन छाडेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here