झुके वन मन्त्री, डा. केशीको मन्त्रालय प्रवेश

काठमाडौँ । वन तथा भूसंरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केशीको सरुवा प्रकरणमा वन तथा वातावरण मन्त्री प्रदीप यादव आफ्नो पूर्ववत निर्णय फिर्ता लिन बाध्य भएका छन् ।

विभागको महानिर्देशक पदमा कार्यरत केशीलाई जिम्मेवारी घटुवा गरेर उपमहानिर्देशक पदमा सरुवा गरेका मन्त्री यादव आफ्नो निर्णयमा दुई दिन पनि टिक्न सकेनन् ।

जलवायु परिवर्तन सम्बन्धी एक कार्यक्रममा सेनेगल उडान हुनु अघि हतार हतारमा सरुवा गरेर हिडेका मन्त्रीलाई देश र विदेशमा रहेका वन तथा संरक्षणसँग सरोकार राख्ने सबैले सामाजिक सञ्जालमा खेदो खनेपछि अन्ततः मन्त्री कर्मचारी सामु झुक्न बाध्य भएका हुन् ।

एक जना सहसचिवको सरुवा प्रकरणमा बिबादमा आएका मन्त्रीलाई प्रधानमन्त्री तथा मुख्य सचिवले समेत चाँसो देखाएपछि यसपटकको मन्त्रीको विदेश भ्रमण पनि खासै उपलब्धीमूलक रहन सकेन ।

मन्त्री पदको दुरुपयोग गर्दै श्रीमति सहित केही दिनपछि अमेरिका भ्रमणमा निस्कन थालेका यादवले यस पटक सेनेगलमा खासै रमाइलो महसुस गर्न सकेनन् । श्रीमतिलाई अमेरिका लैजाने रकमको जोहो गर्न मन्त्री यादवले सबै संरक्षण साझेदार संस्थालाई हारगुहार गरिरहेका छन् ।

मन्त्री यादवले डा. केशीको सरुवामा गल्ती भएको स्वीकार गरेका छन् । प्रधानमन्त्रीले समेत सरुवामा तारतम्य मिलाउन नसकेको भन्दै झपारेपछि उनले गल्ती भएको स्वीकार गरेको बालुवाटार स्रोतले बताएको छ । यता मुख्य सचिवले समेत गर्न नहुने काममा मन्त्रीले हात हाल्न नहुने भन्दै सरुवा सच्याउन आग्रह गरेका थिए ।

पछिल्लो सच्याइएको सरुवामा डा. केशीले मन्त्रालय प्रवेश पाएका छन् । इमान्दार छवि भएका केशीलाई गलत काम गर्न लगाएका मन्त्री यादवले आफ्नो स्वार्थमा काम गर्न नसकेको रिस साद्न केशीको जिम्मेवारी घटुवा गरेर मानमर्दन खोजेपनि अन्ततः मन्त्रीले हारेका छन्, वन कर्मचारीको जीत भएको छ ।

डा.केशीलाई मन्त्रालयमा दरबन्दी राखेर चुरे उत्थानशिल परियोजनाको प्रमुख बनाउने योजना मन्त्रालयले बनाएको छ । यस अघि सो परियोजनामा उद्धबबहादुर घिमिरेले काम गर्दै आएका थिए । सो परियोजनामा अब डा. केशी प्रमुख हुनेछन् भने परियोजना उपप्रमुखमा अर्का सहसचिव गणेश पौडेल रहनेछन् ।

सचिव पनि दबाबमा

केही महिनापछि अनिवार्य अवकाश पाउन थालेका मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले पछिल्ला दिनमा निकै दबाबमा काम गरिरहेका छन् । आगामी मंसिर ४ गतेसम्मका मन्त्री यादवले नियमले मिल्ने ÷नमिल्ने काम गर्न मन्त्रालय र मातहतका विभागमा चर्काे दबाब दिन थालेपछि सचिव डा. कँडेल आफै सरुवा माग्न थालेका छन् ।

मन्त्रीले आफ्नो स्वार्थका फायल फत्ते नगरेको झोकमा जानी जानी डा. केशीलाई उपमहानिर्देशकका जिम्मेवारीमा घटुवा सहित सरुवा गर्न थालेपछि नियम संगत सरुवा भएन भनेर अडानमा बसेका सचिव कँडेल अन्तिम अवस्थामा थाकेका थिए । आखिर मन्त्रालय भनेको मन्त्री हो र सचिव भनेको उसको सहयोगी हो । डा. केशीको उपमहानिर्देशक पदमा सरुवाको फायल मन्त्रीलाई तीन दिनसम्म रोकाउन सफल भएका सचिव डा. कँडेलको अन्तिममा केही शिप लागेन र केशी उपमहानिर्देशकमा पदमा सरुवा भएका थिए ।

सो सरुवाको चौतर्फि बिरोध भएपश्चात विदेशबाट फर्केर आएका मन्त्रीलाई सचिव कँडेलले आफूले पहिलेको भने जस्तै निर्णयमा पुग्न आग्रह गरेका थिए । विभागमा बसेर असहयोग गर्ने डा. केशीलाई फेरी मन्त्रालयमा ल्याएर काममा असहयोग गर्न सक्ने तर्क मन्त्री यादवको थियो । डा. केशीलाई मन्त्रालय तान्नु भन्दा प्रदेशमा सरुवा गर्न तयार भएका मन्त्रीलाई सचिव कँडेलले केशीलाई मन्त्रालयमा सरुवा गर्दा राम्रो हुने कुरामा कन्भिन्स गर्ने काममा सफलता पाए । इमान्दार छविका कर्मचारी डा.केशीले केही दिन मन्त्री यादवको सरुवा काण्डले तनाव भोगेपनि अन्ततः मन्त्रालयका प्रवेश पाएका छन् ।

न काम न दाम, बदनामै बदनाम

कर्मचारीका लागि सरुवा भनेको न्याय दिने समय र प्रक्रिया पनि हो । विगतमा अन्यायमा परेका र मर्कामा रहेका कर्मचारीलाई सुगम र काम गर्ने उपयुक्त ठाउँ दिने समय नै सरुवा हो । कतिपय नेतृत्व यही काममा सफल हुँदा नाम र दाम दुबै कमाएका इतिहास छन् ।

वर्तमान मन्त्रीले भने सरुवाको समयमा मन्त्रालय र मन्त्रालय मातहतका सबै कर्मचारीको एकमुष्ट सरुवा गर्नुको साटो छानी छानी तर्साई तर्साई एक एक व्यक्तिको सरुवा गर्दै चुनावी सरकारको मन्त्री भएको भाषण ठोक्दै अन्तिममा न सरुवामा कर्मचारीलाई न्याय दिएर नाम कमाउन सके न त दाम कमाउन सके ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here