ताचै होम स्टे नेपालकै नमूना बन्ने सम्भावना

मनाङ । गाउँमा स्वदेशी वा विदेशी पाहुना आउनुअघि नै यस गाउँका आमा समूहका महिलाहरू परम्परागत गुरुङ वेशभूषामा सजिएर स्वागतार्थ लस्करै उभिएका भेटिन्छन् ।

उनीहरुका हातहातमा माला र सगुन कलश सजिएको हुन्छ । यी महिलाको मुस्कान र आतिथ्यको विधिले एक घण्टाको उकालोको थकाइ तत्काल मेटिन्छ । सगुन चाखेका हात पुछ्दै पाहुनाहरू महिलाका पछिपछि लाग्छन् । परम्परागत ढङ्गले सजाइएका भान्सा कोठाका गलैंँचे चकटीहरुमा बसेर परिचयको आदानप्रदान हुन्छ ।

अनि सेच्या (नूनचिया) र सेलरोटी, उत्तम जातको जङ्गली च्याउको तरकारी र अरू थुप्रै स्थानीय परिकारको स्वाद लिन शुरु हुन्छ । मनाङे चिसोलाई आफ्नो बनाउन सगुनकै रुपमा झ्वाइँखट्टे पनि पाउन सकिन्छ । बसुञ्जेल र सुतुञ्जेलको हार्दिकतायुक्त न्यानोपनले तपाईंलाई नासों गाउँपालिकाको वडा नम्बर ८ मा पर्ने ताचै गाउँलाई छाडेर गइहाल्न मन लाग्दैन ।

बिहान उठेर हेर्दा हिमालको ठाडो काखमा बसेको यस गाउँलाई तपाईंले मनाङकै सुरक्षित गन्तव्यका रूपमा हेर्न थाल्नुहुन्छ । यस्तो लाग्छ, न यहाँ कहिल्यै हिउँपहिरो आउँछ, न सुख्खा वा हिले पहिरो जान्छ । त्यसैले होला, विदेश गइरहेका उमेरका स्थानीय समाजसेवी युवक याद घले करीब ४०० भेडाबाख्राको गोठ हेर्दै पदमार्गलाई सजिलो बनाउन लागिपरेका भेटिनुहुन्छ

घरबासका अध्यक्ष याद घलेका अनुसार ताचै गाउँका ७० घरमध्ये २६ घरमा घरबासको सुविधा छ । यिनका घरधनी आमाछोरी बुहारी आमा समूहमा आबद्ध त छन् नै, घरबासका माध्यमबाट यिनीहरू बाँकी दुनियाँसँंग पनि जोडिन थालेका छन् ।

‘मनाङे’ भन्नेबित्तिकै झिटीगुण्टा व्यापारी भनेर चिन्ने बाँकी नेपालीका लागि यस्ता घरबासले मनाङको नयाँ पहिचान र परिचय बनाइदिएका छन् । यसमा नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले आफूलाई पूरै होमिदिनुभएको छ । उहाँ पनि ताचै निवासी हुनुहुन्छ ।

ग्रामीण पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकारले घरबास वा होमस्टे सञ्चालनमा जोड दिएको छ । अहिले नेपालका प्रत्येक जिल्लाका गाउँगाउँमा घरबास सञ्चालनमा आएका छन् । संसारकै सबभन्दा बढी उचाइमा अवस्थित तिलिचो तालसमेत रहेको मनाङ जिल्ला पर्यटकको रोजाइका जिल्लामध्येको एक प्रमुख जिल्लाका रुपमा चिनिन्छ ।

उपयुक्त याममा मनाङका सबै ठाउँमा पर्यटकका आन्तरिक तथा बाह्य पर्यटककोे भिडभाड देखिन्छ । लमजुङको सदरमुकाम बेंसीशहर नगरपालिकादेखि खुदी र ङादी हुँदै हिँडेका पर्यटकले यहाँका गाउँबस्ती, बाटोघाटो सबै भरिएका हुन्छन् । अन्नपूर्ण संंरक्षण क्षेत्र मनाङको पर्यटन शाखाको तथ्याङ्कानुसार प्रत्येक वर्ष २५ हजारदेखि २८ हजार विदेशी पर्यटकले यस जिल्लाको भ्रमण गर्ने गरेका छन् ।

पर्यटन क्षेत्रमा बढ्दो चापलाई व्यवस्थित गर्ने र ग्रामीण पर्यटनलाई जोड दिने उद्देश्यले यहाँ गत वर्षदेखि घरबास सञ्चालन गरिएको हो । मनाङ जिल्लाको तल्लो भेगमा रहेको नासों गाउँपालिकाका दुई वटा वडामा घरबास सञ्चालनमा आएका छन् । जिल्लाकै पहिलो होमस्टे नासों गाउँपालिका वडा नं ४ ओडारगाउँ हो भने गत वर्ष मात्रै स्थापना भएको वडा नं ८ मा ताचै होमस्टे छ ।

नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घले पर्यटनको क्षेत्रमा फेसन जस्तो लागे पनि घरबास स्थापनाले पर्यटकीय क्षेत्रमा छुट्टै महत्व राख्ने अनुभव गर्नुहुन्छ । उहाँका अनुसार मनाङ आउने पर्यटक केवल हिमाल हेर्न र घुम्न मात्र आउँदैनन्, उनीहरु यहाँ अध्ययन गर्न पनि आउने गर्छन्, मनाङका गाउँगाउँमा बसेर यहाँका चाडपर्व, वेशभूषा, रीतिरिवाज, चालचलनको अध्ययन गर्न आउँछन् । त्यस्तै आधुनिकताले छोएको अहिलेको परिवेशमा पुरातात्विक र ऐतिहासिक वस्तुको संरक्षण गर्न र ग्रामीण क्षेत्रका बासिन्दाको आयस्तर उकास्न पनि घरबासको स्थापनामा जोड दिइएको घलेको भनाइ छ ।

नासों गाउँपालिकाको ताचै गाउँ ऐतिहासिक र पुरातात्विक महत्वको ठाउँ हो । यो घले राज्यको उद्गमस्थलका रुपमा चिनिन्छ । ‘ता’ को अर्थ आफ्नै भूमि र ‘चै’ को अर्थ फर्कनु हो । पहिले यहाँका मानिसहरू गाउँ छाडेर अन्त बसाइँ सरेका थिए । सरी गएको वातावरणमा रमाउन नसकेपछि पुनः गाउँ फर्किएर आफ्नै जन्मस्थानमा बसोबास गर्दै आएको हुनाले ताचै नाम रहन गएको बारे स्थानीयवासी कमल गुरुङले बताउनुभयो । उहाँका अनुसार अहिले गाउँ छाडेर कोही पनि अन्यत्र बसाइँ सर्ने चलन छैन ।

भौगोलिक हिसाबले गुरुङ र घलेको बसोबास रहेको यस गाउँलाई सुगम नै मानिन्छ । बेंसीसहर –चामे सडकखण्डबाट करीब ४५ मिनेटको पैदल यात्रामा यहाँ पुग्न सकिन्छ । त्यस्तै धारापानी थोचे हुँदै मोटरबाटोले पनि यस गाउँलाई सडक सञ्जालमा जोडिदिएको छ । गाउँमुनिको सुन्दर फाँट, गुराँसका घना जङ्गल, गाउँबाट देखिने मनास्लु, अन्नपूर्णा, लमजुङजस्ता हिमशृङ्खलाका मनमोहक दृश्यले जो कसैलाई पनि मन्त्रमुग्ध बनाउँछ । सानो तर चिटिक्क मिलेको बस्ती, वरिपरि छङछङ सुसेल्दै झरेका छहरा, गाउँ पछाडिको सल्लोघारी, सातकन्यादेवीको थानबाट झरेको तातोपानी, नीलो पटुकी र घलेक लगाएका किसान आमा दिदीबहिनीको काममा व्यस्तता, यिनैले ताचैको पहिचान बोकेका छन् ।

यहाँको जनजीवनको मुख्य आधार खेतीपाती र पशुपालन नै हो । भेडाबाख्रा, च्याङ्ग्रा र चाँैरीजस्ता पशु यहाँ पालिन्छ भने आलु, फापर गहुँ ,उवा र मकै प्रमुख खेती हुन् । यार्सागुम्बा, वनलसुन, गुच्चीच्याउ, सतुवा, कुट्की, जटामसी, निरामसी आदि बहुमूल्य जडिबुटी यहाँका प्रमुख वनजन्य उत्पादन हुन् । यहाँका निवासीहरु यिनै जडिबुटिको व्यापार व्यवसायबाट आयआर्जन गर्छन् । सामान्य शिक्षित जनताको यो सानो गाउँ लोककला र परम्परागत संस्कृतिले समृद्ध देखिन्छ ।

ताचैको घरबासमा अहिले एकै पटक करीब १५० जना पाहुना राख्न सक्ने क्षमता छ । गाउँमा पाहुना आएदेखि नै गाउँका आमा समूह, युवकयुवती सबै भेला भएर गाउँको समूह घरमा बसाल्ने काम हुन्छ । सांस्कृतिक कार्यक्रमका माध्यमबाट पाहुनालाई मनोरञ्जन दिइन्छ भने जैविक खानाका साथै पारिवारिक वातावरण प्रदान गर्नु सो घरबासको उल्लेख्य पक्ष हो ।

चांैरी र भेडाच्याङ्ग्राका ऊन कातेर हातबाट निर्माण गरिएका सामग्री फेर्पा, दोचा, राडीपाखी, बख्खु, डोरीलगायत सामग्री यहाँको पहिचान हो भने छहराको पानीबाट चलाइने पानीघट्टको प्रयोग मानिसको स्वास्थ्यसँग जोडिएको छ । आमा समूहका अध्यक्ष चन्द्रकाशी घलेका अनुसार पानी घट्टमा कुटानीपिसानी गरिएका खाद्यवस्तुमा पौष्टिक तत्व कायमै रहने र जैविक स्वाद हुने हुनाले यसलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here