दार्चुला । भारतसँग जोड्ने महाकाली नदीमा बनेको पुलमा भारतका डिष्ट्रिक मजिष्ट्रेड (डिएम) ले ताला लगाएपछि दार्चुलाबासीले महाकाली तर्न पाएका छैनन् ।
महाकाली नदी वारपार गर्न ट्युबको सहायता लिदै आएका दार्चुलाबासीले पुल निर्माण भएको पाँच महिना बितिसक्दा पनि सो पुलबाट हिँडडुल गर्न पाएका छैनन् । भारतीय जिल्ला अधिकारीले अनुमति नदिँदा पुलमा लागेको भोटे ताल्चा अझै खुल्न सकेको छैन ।
पुल बनेपनि पुलमा आवात जावत गर्न नपाएपछि जिल्लाको लेकम गाउँपलिका वडा नम्बर ३ लाली गाउँका स्थानीयले ट्युबको सहायताले नदी वारपार गर्न बाध्य भएका छन् । बडो गजबको कुरा के छ भने महाकाली नदीमा जोखिमपूर्ण यात्रा गरेर दार्चुलबासी भारत पुग्दा भारतीय सुरक्षामा केही असर नपर्ने तर पक्की झुलुङ्गे पुलमा सुरक्षित साथ वारपार गर्दा भारतलाई सुरक्षा थ्रेट हुने भन्दै पुलमा ताला लगाइएको छ ।
स्थानीय कृष्ण बहुमुखी क्याम्पस लालीका क्याम्पस प्रमुख केशबराज जोशीका अनुसार बाउ बाजेका पालादेखि महाकाली नदी तर्न ट्युबको यात्रा अझै पनि रोकिएको छैन । पुलमा तर्दा भारतीयले सुरक्षा चुनौती हुने तर नदीमा ट्युवको सहायताले वारपार गर्दा कुनै असर नपर्ने भन्ने तर्क विहिन कुरा गरेर हामीलाई भारतले दुख्ख दिइरहेको छ, जोशीले भने ।
जोशीले भने, पुल त बन्यो तर हाम्रो सरकार भन्दा ठूलो उता पट्टीको जिल्ला अधिकारी रहेछ । उसले लगाएको ताला नेपालका सिडिओ, सांसद, मन्त्री र समग्र सरकारले नै खोलाउन सकेको छैन ।
लेकम गाउँपालिका वा न ३ लालीका वडाअध्यक्ष राजेन्द्रप्रसाद जोशीले भने, दुवै देशका सुरक्षा अधिकारीले पुलको निरीक्षण गरेपछि दुवैतर्फ लेकम गाउँपालिकाले सुरक्षा पोष्ट, बाटो र शौचालय बनाइसक्दा समेत पुल सञ्चालन भएको छैन् । यो सरासर भारतीय सरकारको दादागिरी हो ।
स्थानीय भरत धामीले गुनाशो पोख्दै भने, भारत र नेपालतिर सुरक्षा निकाय बस्ने पोष्ट तथा अन्य भवन बनेपनि भारतीय जिल्ला अधिकारीको दादागिरीले यहाँका सयौँ नेपालीले दैनिक महाकाली नदीमा ज्यानको बाजी थापेर वारपार गर्नु परिरहेको छ, यो पीडा कुन सरकारले बुझिदिने होला ।
पहिले त सिँहदरबार टाढा थियो, अहिले त स्थानीय सरकार र प्रदेश सरकार घर नजिकै भएपनि सरकार सुतेको जस्तै भएको छ । भारतीय डिएमले लगाएको ताला खोलाउन नसक्ने हाम्रा जनप्रतिनिधि अनि सरकार छ भने अब हाम्रो पीडा सुन्ने को होला ?