हेलम्बुमा पर्यटन मार्ग निर्माण शुरु

हेलम्बु । पर्यटकीय दृष्टिले सदाबहार चर्चामा रहँदै आएको हेलम्बुमा पर्यटन मार्ग निर्माण शुरु गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हेलम्बु गाउँपालिकाले उक्त पैदलमार्ग निर्माण शुरु गरेको हो ।

हेलम्बु हिमालयन ग्रेड ट्रेल नामाकरण गरिएको उक्त मार्ग हेलम्बु–१ बुद्घपार्कबाट शुरु भई सेर्माथाङ, ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलङ्सा, दुवाङगुफा, सेमिसिदाङ, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर अन्त्य हुनेछ ।

झण्डै ६० किलोमिटर लम्बाइ रहेको पैदलमार्ग निर्माणको कूल लागत रु ९६ करोड अनुमान गरिएको छ । धेरै लागत लाग्ने भएकाले स्थानीय सरकारको बजेटले मात्र निर्माणकार्य सम्भव नभएकाले यस आर्थिक वर्षमा गाउँपालिकाले १० किलोमिटरको मात्र विस्तृत परियोजना प्रतिवेदन बनाएर काम शुरु गरेको हो ।

गाउँपालिकाले डिपिआरको काम सकेपछि प्रदेश सरकारले काम अगाडि बढाउन रु ५० लाख विनियोजन गरेको छ । पर्यटन प्रवर्द्धनमार्फत गाउँपालिकालाई आर्थिक रुपमा सवल बनाउने उद्देश्यले पर्यटन मार्ग निर्माण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

जङ्गली जीव–जनावरलाई आवतजावतमा अफ्ठ्यारो नपरोस् भन्ने उद्देश्यले पर्यटन मार्ग निर्माण गर्ने क्रममा विशेष ध्यान दिइने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतबहादुर कार्कीले जानकारी दिनुभयो । पर्यटकलाई मोहित बनाउन ठाउँठाउँमा दृश्यावलोकन स्तम्भ निर्माण गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here